• १६ चैत २०८०, शुक्रबार

सामुदायिक विद्यालयमा विद्यार्थीको चाप धान्न नसक्ने भएपछि भर्ना बन्द

blog

भानुजन माविमा गएको शुक्रवार प्रवेश परीक्षा दिन लाइनमा बसेका विद्यार्थी । तस्बिर: चन्द्र पन्दाक

ताप्लेजुङ, वैशाख १९ गते । ताप्लेजुङको एक सामुदायिक विद्यालयले चाप धान्न (थेग्न) नसक्ने भएपछि विद्यार्थी भर्ना बन्द गरेको छ । सदरमुकाम फुङ्लिङस्थित भानुजन माध्यमिक विद्यालयले अत्यधिक चाप बढेपछि विद्यार्थी भर्ना बन्द गरेको हो । 

सरकारले गत साताको आइतबारदेखि ‘समयमै भर्ना, समयमै ज्ञान, गुणस्तरीय शिक्षा सबैको अभियान’ भन्ने नाराका साथ देशभर विद्यार्थी भर्ना अभियान सञ्चालन गरेको छ । सरकारले विद्यार्थी भर्ना वैशाख १५ गते शुक्रवारसम्म सञ्चालन हुने उल्लेख गरेकै दिनदेखि भानुजन माविले भर्ना  बन्द गरेको जनाएको छ ।

शुक्रवार सम्ममा दुई पटक प्रवेश परीक्षा (इन्ट्रान्स) लिएर विद्यार्थी भर्ना गरिएको र यसपछि भर्ना कार्य बन्द गरिएको विद्यालयका प्रधानाध्यापक किशोरकुमार राईले जानकारी दिनुभयो । अघिल्लो साताको सोमबार र गत सातको शुक्रवार गरी दुई पटकको प्रवेश परीक्षामा चार सय विद्यार्थी सहभागी भएका थिए । प्रवेश परीक्षामा सहभागीमध्ये उत्तीर्ण भएका करिब तीन सय विद्यार्थीलाई भर्ना गरिएसँगै बाँकी समयका लागि भर्ना बन्द गरिएको प्रधानाध्यापक राईले बताउनुभयो । 

विद्यालय संरचना भए पनि शिक्षक जनशक्ति अभावका कारण भर्ना हुन इच्छुक सबै विद्यार्थी भर्ना गर्न नसकिएको राईको भनाइ छ । उहाँले हाल रहेका स्थानीय, प्रदेश र सङ्घीयसमेत तीन तहको सरकारले शिक्षक तथा आवश्यक भौतिक संरचनाको व्यवस्थापनमा सहयोग भएमा मात्र धेरै विद्यार्थी भर्ना लिन सकिने बताउनुभयो । अन्यथा विद्यार्थीले भानुजन माविमै अध्ययन गर्न चाहे पनि सम्भव नभएको उहाँ बताउनुहुन्छ । 

कक्षा १२ सम्म पठनपाठन हुने भानुजन माध्यमिक विद्यालयमा सिभिल इन्जिनियरिङ, कम्प्युटर साइन्स, विज्ञान, पर्यटन तथा पर्वतारोहण, शिक्षा, सङ्गीत र व्यवस्थापन लगायतका विषय पढाइ हुने गरेको छ । यस्तै यस विद्यालयमा कक्षा १० सम्म नै अङ्ग्रेजी तथा नेपाली माध्यममा पठनपाठन हुने गरेको छ ।

नयाँ शैक्षिक सत्र सुरु भएपछि यति बेला अधिकांश सामुदायिक तथा निजी विद्यालयले स्थानीय रेडियो लगायतका सञ्चारमाध्यममा विज्ञान प्रसारण गर्दै तथा घरघरमा गएर आफ्ना बालबालिका विद्यालय पठाउन र भर्ना गर्न आह्वान गरिरहेका छन् । अन्य विद्यालयहरूमा विद्यार्थी भर्ना अभियानको क्रम जारी रहँदा भानुजन माविमा भने विद्यार्थीको अत्यधिक चापकै कारण भर्ना बन्द गरिएको छ ।

यता भानुजन माविमा विद्यार्थीको आकर्षण बढ्नु अस्वाभाविक भने नभएको फुङ्लिङ नगरपालिका–५ बुद्धचौकका अभिभावक विक्रम माबोहाङ लिम्बू बताउनुहुन्छ । पछिल्लो समय अधिकांश परिवारले आफ्ना छोराछोरीलाई राम्रो विद्यालयमा पढाउने मनसाय लिने गरेका र त्यस्तो विद्यालयको खोजीमा सहर केन्द्रित हुने गरेकाले सदरमुकाममा रहेको विद्यालयमा चाप बढेको लिम्बूले बताउनुभयो । तुलनात्मक रूपमा सामुदायिक विद्यालयमध्ये भानुजन माविमा गुणस्तरीय तथा प्रभावकारी पढाइ हुने गरेकाले पनि विद्यार्थीको आकर्षण बढेको उहाँको भनाइ छ 

त्यस्तै भानुजन माविमा बहु विषयको पठनपाठन हुने भएकाले पनि विद्यार्थी आकर्षित हुने गरेका पाइएको छ । अभिभावकको चाहना छोराछोरीलाई सकेसम्म राम्रो शिक्षा पढाउने र जागिर वा रोजगारीमा लगाइहाल्ने सोच रहने गरेकाले पनि प्राविधिक शिक्षाअन्तर्गत विभिन्न विधाका विषय पढाइ हुने विद्यालयमा विद्यार्थी केन्द्रित हुने गरेका छन् । 

हाल भानुजन माविमा शिशु (नर्सरी) कक्षादेखि १२ सम्ममा दुई हजार ५०० बढी विद्यार्थी अध्ययनरत छन् । भर्खरै एसइई परीक्षामा सामेल भएर कक्षा १० मा अध्ययनरत १५० र कक्षा १२ का २०० जना विद्यार्थीले विद्यालय छोडे पनि विद्यार्थी नघटेका विद्यालयका शिक्षक राजमणि प्याकुरेलले बताउनुभयो । शिक्षक प्याकुरेलका अनुसार अब कक्षा ११ मा करिब ५०० विद्यार्थी पुनः थपिने विद्यालयको अनुमान छ ।

Author
चन्द्र पन्दाक

उहाँ ताप्लेजुङबाट गोरखापत्रमा रिपोर्टिङ गर्नुहुन्छ ।