चिनिया प्रतिनिधिमण्डल नेपाल आउने


भउचप्रसाद यादव

काठमाडौँ, मङ्सिर २० गते । निर्माणको अन्तिम चरणमा पुगेको चक्रपथको निरीक्षणका लागि उच्च चिनियाँ प्रतिनिधिमण्डल आउने भएको छ । चीन सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भइरहेको चक्रपथको निरीक्षणका लागि चिनियाँ प्रतिनिधिमण्डल यही मङ्सिर २२ गते आउन लागेको चक्रपथ सुधार परियोजनाले जनाएको छ ।
परियोजनाका प्रमुख सुजन खनालले चक्रपथको अन्तिम निरीक्षण तथा अवलोकनका लागि चिनियाँ सरकारका वाणिज्यमन्त्रीको नेतृत्वमा प्राविधिकसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल शनिवार काठमाडौँ आउन लागेको जानकारी दिनुभयो । प्रतिनिधिमण्डल आउनेबारे औपचारिक जानकारी चक्रपथ सुधार परियोजनालाई प्राप्त भइसकेको उहाँले बताउनुभयो ।
“चक्रपथ निरीक्षणको क्रममा प्रतिनिधिमण्डलले निर्माणबारे सुझाव दिनुका साथै कमीकमजोरीलाई समेत औँल्याउन सक्छ” आयोजना प्रमुख खनालले प्रतिनिधिमण्डलले कमीकमजोरी देखाएको अवस्थामा प्रतिनिधिमण्डलको सुझावअनुसार चक्रपथमा फेरि सुधार गरिने जानकारी दिनुभयो ।
कमीकमजोरी नदेखाएको अवस्थामा अहिलेकै निर्माण कार्य तथा डिजाइनलाई सदर गरी नेपाल सरकारलाई चक्रपथ हस्तान्तरणको मिति तय गरिने जानकारी परियोजना प्रमुख खनालले दिनुभयो । एक भव्य कार्यक्रमको आयोजना गरी उक्त चक्रपथ चीनले नेपाल सरकारलाई हस्तान्तरण गरिने जानकारी समेत उहाँले दिनुभयो । कोटेश्वरदेखि कलङ्कीसम्म निर्माण गरिएको उक्त चक्रपथको डिजाइनसमेत चिनिया प्राविधिकले नै गरेको छ ।
सम्झौता अनुसारको निर्माण कार्य चिनिया निर्माण कम्पनीको तर्फबाट सम्पन्न भइसकेको जानकारी दिंदै परियोजना प्रमुख खनालले नेपाल सरकारको तर्फबाट सर्भिस ट्रयाक, आकाशे पुल लगायतका निर्माण कार्य जारी रहेको बताउनुभयो । कलङ्कीको अन्डरपासको निर्माण कार्य समेत सम्पन्न भइसकेको जानकारी उहाँले दिनुभयो ।
तत्कालिन चिनिया राष्ट्रपति हु जिन्ताओको नेपाल भ्रमणका बेला चक्रपथ बिस्तारका लागि नेपाल सरकारले औपचारिक प्रस्ताव गरेको थियो । सोही प्रस्ताव अनुरुप चीन सरकारबाट प्राप्त ३१ करोड २० लाख युआन (करीब तीन अर्ब ७५ करोड नेपाली रुपियाँ) को अनुदान सहयोगमा चक्रपथ बिस्तार भएको हो । निर्माणका लागि १८ डिसेम्बर २०१२ मा तत्कालिन भौतिक योजना तथा निर्माण मन्त्रालय र चीनको सङ्घाई कन्सट्रक्सन ग्रुप कम्पनी लिमिटेडबीच सम्झौता भएको थियो ।
यो ‘अन्डरपास’ को सञ्चालनपछि नागढुङ्गातर्फबाट कालिमाटीतिर आउने र कालिमाटीबाट नागढुङ्गातर्फ जाने सवारी साधानहरु अहिलेकै सडकको लेवलबाट आउने जाने गर्नेछन् । त्यसैगरी, चक्रपथ घुम्ने सवारी साधनहरु जक्सनमा अवरोध नहुने गरी ‘अन्डरपास’ भएर जानेछन् ।
त्यसैगरी, खसी बजारबाट आउने नागढुङ्गा र कालिमाटीतिर तथा स्वयम्भूबाट नागढुङगा र कालिमाटीतिर जानका लागि दुई÷दुई लेनको ‘सर्भिस ट्रयाक’ निर्माण गरिएको छ । कलङ्कीको सम्पूर्ण संरचना तयार भइसकेपछि त्यहाँ आकाशे पुलको आवश्यकता नपर्नुका साथै सो क्षेत्रमा सवारी साधन जाम नहुने विश्वास गरिएको छ ।
थप छ स्थानमा आकाशे पुल
निर्माणाधिन कोटेश्वर–कङ्लकी सडकखण्ड अन्तर्गत थप छ स्थानमा आकाशे पुल निर्माण हुने भएको छ । सो सडकखण्डको मात्र तीन स्थानमा आकाशे पुल निर्माण गर्ने सम्झौता चिनियाँ कम्पनीसँग भएको थियो । सम्झौताअनुसार बागडोल, कोटेश्वर, ग्वार्कोमा आकाशे पुल निर्माण भइसकेको छ ।
द्रुत गतिमा सवारी साधनको आवागमन हुने उक्त सडकमा पैदल यात्रुलाई बाटो काट्न प्रर्याप्त मात्रामा आकाशे पुल नभएकाले थप स्थानमा आकाशे पुल निर्माण गरिने जानकारी परियोजना प्रमुख खनालले दिनुभयो । प्रस्तावित थप आकाशे पुलहरु नेपाल सरकारले आफ्नो लगानीमा निर्माण गर्नेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds