• १५ चैत २०८०, बिहिबार

नौ मूलको पानी नौ बस्तीमा

blog

मुसीकोट नगरपालिका–१० मा पानीको मुहान संरक्षण गरिँदै ।

राजु लामिछाने

रुकुमपश्चिम, वैशाख १९ गते । रुकुमपश्चिमको मुसीकोट नगरपालिका–१० मा रहेका विभिन्न पानीका मुहान संरक्षण गरेर खानेपानीको सुविधा थप व्यवस्थित गर्न थालिएको छ। यस वडामा रहेका नौवटा पानी मुहान (मूल)बाट वडाका नौवटा बस्तीमा पानी वितरण भएको वडा कार्यालयले जनाएको हो। 

वडाध्यक्ष धनबहादुर खड्काका अनुसार वडाका विभिन्न स्थानमा रहेका पानीका मुहानमा इन्टेक र रिजर्भ ट्याङ्की बनाएर घरघरमा धारा व्यवस्थापन गर्न थालिएको हो। वडाका चाँदनीगैरा, गलमपाटी औलीसेखोला, पँधेरीखोला, झ्याङ, झान्डारी, झारढुङ्गा भेरीखोला, होलटाकुरी, चच्चुडाँडा बुढाटोल र परियारटोलमा खानेपानी लाइन व्यवस्थापन गर्ने काम तीव्र भइरहेको छ। अहिले बगिरहेको पानीलाई आफू अनुकूल उपयोग गरिरहेकाले त्यसलाई व्यवस्थापनका लागि वडा कार्यालयले नौवटा योजना एकैसाथ सुरु गरेको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो। 

खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयको सहयोगमा नौवटा बस्तीको खानेपानी व्यवस्थापनको काम चलिरहेको हो। खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयले पाइप, फिटिङ र निर्माणका सामान दिनेछ भने उपभोक्ता समितिले बालुवा, सिमेन्ट, ढुवानी र निर्माणको काम गर्नेछ। 

नौवटा मूलमा इन्टेक निर्माण गरेर नौ बस्तीको छुट्टाछुट्टै पानी रिजर्भ ट्याङ्की निर्माण हुने खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालयका प्राविधिक पूर्ण ओलीले बताउनुभयो। त्यसपछि नौ टोलका १४७ घरमा व्यवस्थित रूपमा पानी पुग्ने उहाँले जानकारी दिनुभयो। असार मसान्तभित्र सबै काम सम्पन्न हुने बताइएको छ। 

वडा कार्यालयका अनुसार परियारटोलका १७ घर, चाँदनीगैरा गलमपाटीका १३ घर, औलीसेखोलाका १० घर, पँधेरीखोलाका १६ घर, झ्याङका २३ घर, झान्डारीका १९ घर, झारढुङ्गा भेरीखोलाका १३ घर, होलटाकुरीका १७ घर र चच्चुडाँडा बुढाटोलका १९ घरपरिवार उक्त योजनाबाट प्रत्यक्ष लाभान्वित हुनेछन्। 

घरघरमा खानेपानी सुविधा

वडा कार्यालयले वडाका सबै घरमा खानेपानी सुविधा पुगेको जनाएको छ। वडाध्यक्ष खड्काले वडाका ३५६ वटै घरमा खानेपानीको सुविधा पुगेको दाबी गर्नुभयो। धारा व्यवस्थापन हुन बाँकी केही घरमा वडा कार्यालयले धारासमेत बनाइदिएको उहाँको भनाइ रहेको छ। यसका साथै वडाका विभिन्न स्थानमा पानी रिजर्भ गर्न ट्याङ्की निर्माण भइरहेका छन्। 

वडाको खर्सुपानी मूल संरक्षण गरेर बगिरहेको पानी व्यवस्थापन गरेको वडा कार्यालयले जनाएको छ । उक्त मूल संरक्षण गरेर ४८ हजार लिटर क्षमताको पानी ट्याङ्की निर्माण गरिएको छ। त्यसैगरी होलटाकुरीटोलमा पनि ३० हजार लिटर क्षमताको अर्को ट्याङ्की निर्माण भइरहेको छ। आपत्कालीन अवस्थामा पानीको प्रयोग गर्न रिजर्भ ट्याङ्की बनाइएको वडाध्यक्ष खड्काले जनाउनुभयो। त्यसैगरी दुई लाख ६० हजार लिटर पानी अट्ने तीनवटा इन्टेक पनि निर्माणाधीन अवस्थामा रहेका छन्।