• ८ वैशाख २०८१, शनिबार

कर्मचारीले पाएनन् तलब

blog

कालीकोट समाचारदाता

कालीकोट, वैशाख १९ गते ।  जिल्लाको रास्कोट नगरपालिकामा स्वास्थ्य क्षेत्रका १५ जना कर्मचारीले एक वर्षदेखि तलब पाएका छैनन्। कर्मचारी समायोजनका बेला रास्कोट नगरपालिका रोजेर आएका अहेव, अनमी र जनस्वास्थ्य निरीक्षक गरी १५ जना कर्मचारीले गत साउन यताको तलब पाएका छैनन्।

नगरपालिकाभित्रका तीन स्वास्थ्य चौकीको दरबन्दीभन्दा बढी समायोजन भएर आएका कारणले थप कर्मचारीले तलब पाएका छैनन्।

नगरपालिकाले फाजिलमा रहेका कर्मचारीलाई विभिन्न सामुदायिक स्वास्थ्य एकाइमा कामकाज गर्न खटाए पनि तलब दिने बेला विभिन्न बहाना बनाइएको बताइन्छ। अघिल्लो सरकारले तलब भत्ता दिँदै आए पनि आर्थिक वर्ष २०७९/८० को साउनयता भने तलब दिन नगरपालिकाले बजेट नभएको भन्दै रोकेको छ।

नेपाल सरकारको स्वास्थ्य सेवा समूहतर्फका स्थायी १५ जना कर्मचारी अहिले बिनातलब सेवामा निरन्तर खटिइरहेका छन् सिनियर अहेव शङ्करप्रसाद बरालले गत साउनयता तलबभत्ता केही पनि नपाउँदा पीडा भएको बताउनुभयो। 

एक वर्षयता तलब नपाएका अर्का सिनियर अहेव धीरेन्द्रबहादुर खड्काले स्थायी कर्मचारीको हालत त यस्तो छ भने अस्थायी कर्मचारीको कस्तो होला भन्दै प्रश्न गर्नुभयो। उहाँले नगरपालिकालाई पटक–पटक आफ्नो तलब भत्ताका बारेमा मन्त्रालयसँग समन्वय गरिदिन आग्रह गर्दा पनि सुनुवाइ नभएपछि ध्यानाकर्षणपत्रसमेत बुझाएको जानकारी दिनुभयो।  

रास्कोटका १५ जना कर्मचारीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तलब भत्ताबापतको रकम पठाउनुपर्ने हो तर मन्त्रालयले दरबन्दीअनुसार मात्र पठाएका कारण स्थायी १५ जना कर्मचारी तलब पाउनवाट वञ्चित छन्। 

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बमले मन्त्रालयले अब तलब पठाउने भनेकाले समस्या सुल्झिने बताउनुभयो। उहाँले भन्नुभयो, “दरबन्दीभन्दा बढी कर्मचारी आए तर तलब नआउँदा यस्तो समस्या भएको हो, अब समाधान होला।”