• ५ वैशाख २०८१, बुधबार

मुख्यमन्त्री पाण्डेद्वारा विश्वासको मत लिने तयारी

blog

पोखरा समाचारदाता 

पोखरा, वैशाख १९ गते । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले वैशाख २१ गते बिहीबार विश्वासको मत लिने तयारी गर्नुभएको छ। वैशाख १४ गते पाण्डे गण्डकी प्रदेशको पाँचौँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो। नियुक्त भएको दोस्रो दिन मुख्यमन्त्री पाण्डेले बिनाविभागीय दुई मन्त्रीसहित शपथ लिनुभएको थियो। शपथ लिनेमा माओवादीबाट सुशीला सिम्खडा र नेपाली कांग्रेसबाट सरस्वती अर्याल तिवारी रहनुभएको छ। 

मुख्यमन्त्री पाण्डेले तीन सदस्यीय मन्त्रीमण्डल यसअघि गठन गरिसके पनि मन्त्रालय बाँडफाँट र सरकारले पूर्णता पाउन सकेको छैन। सरकारले विश्वासको मत प्राप्त गरेपछि मात्र सरकारलाई पूर्णता दिने गठबन्धनको सहमति भएको छ। माओवादी केन्द्र गण्डकी संसदीय दलका नेता हरिबहादुर चुमान र मुख्यमन्त्री पाण्डेबीचको छलफलपछि विश्वासको मत लिने सहमति भएको हो। सत्ता गठबन्धनमा भागबन्डा मिलाउन भएको छलफलमा कुरा नमिलेपछि सुरुमा विश्वासको मत लिने सहमति बनेको हो। त्यसपछि मात्र मन्त्रीमण्डल विस्तार गर्ने तयारीमा मुख्यमन्त्री पाण्डे रहनुभएको बताइएको छ। 

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले २१ वैशाखमा प्रदेश सभा अधिवेशन बोलाउन प्रदेशप्रमुख पृथ्वीमान गुरुङसमक्ष सिफारिस गरेअनुसार प्रदेशप्रमुख गुरुङले वैशाख २१ गते प्रदेश सभाको अधिवेशन आह्वान गर्नुभएको छ। प्रदेश सभामा कांग्रेसबाट २७, माओवादीका सात र एकीकृत समाजवादी (स्वतन्त्रबाट प्रवेश) एक सांसद छन्। प्रदेशमा सरकार बनाउन ३१ सांसदको समर्थन आवश्यक पर्छ। सत्ता गठबन्धनमा सामेल सांसदको सङ्ख्या ३५ छ। एमालेसँग २२ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग दुई सांसद छन्। 

‘श्रमको सम्मान नै लोकतन्त्र’ 

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले श्रमको सम्मान गर्ने शासन नै लोकतन्त्र रहेको बताउनुभएको छ। अन्तर्राष्ट्रिय मजदुर दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री पाण्डेले श्रमजीवीको हक, अधिकार र स्वतन्त्रता स्थापित गर्दै सबै वर्गका मजदुरलाई एकताको सूत्रमा बाँध्न यस दिवसले सहयोग गर्ने विश्वास व्यक्त गर्नुभएको छ। 

मुलुकमा भएका विभिन्न चरणका राजनीतिक आन्दोलनको अग्रपङ्क्तिमा जुट्ने श्रमिक वर्गको उच्च योगदानप्रति उहाँले सम्मान व्यक्त गर्नुभयो। मुलुकमा समाजवाद उन्मुख अर्थतन्त्र निर्माण गर्ने संवैधानिक प्रावधानले मूर्त रूप लिन सके मात्र यो वर्गको उचित सम्मान हुने मुख्यमन्त्री पाण्डेको धारणा छ। सन्देशमा ‘मजदुर वर्गको आर्थिक हैसियत माथि उकास्न सके मात्र राजनीतिक परिवर्तनले सार्थकता पाउन सक्छ’ भन्ने उल्लेख छ।