• ८ वैशाख २०८१, शनिबार

फेरिँदै जनजीवन

blog

रघुगङ्गा गाउँपालिका–१ स्थित बेगखोलामाथि निर्माण भएको बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल । तस्बिर : साधन घर्ती

साधन घर्ती  

म्याग्दी (दरबाङ), वैशाख १९ गते । म्याग्दीको रघुगङ्गा गाउँपालिका–१ स्थित विकट बाँदुक गाउँबाट सोही वडाको बेग जान र आउन स्थानीयवासीलाई तीन घण्टा समयको घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता थियो। स्वास्थ्य, शिक्षालगायत सरकारी सेवा सुविधा प्राप्त गर्नका लागि घुमाउरो बाटो हिँडेर बेग–बाँदुक आवतजावत गर्दा स्थानीयले सधैँ सास्ती बेहोर्नु पथ्र्यो। अहिले भने बेग र बाँदुकवासीले घुमाउरो बाटो हिँड्नुपर्ने बाध्यता हटिसकेको छ। बेगखोलामाथि ३६५ मिटर लामो झोलुङ्गे पुल निर्माण भएपछि बाँदुकका कृष्ण गर्बुजा दङ्ग हुनुहुन्छ। वारिपारि बस्ती। स्थानीय दैनिक वारपार गर्न निकै कठिन थियो। केही समयअगाडि पुल निर्माण भएपछि बेग–बाँदुक जोड्ने झोलुङ्गे पुल बनेपछि दुवै गाउँको दैनिकी नै बदलिएको छ। 

“पहिले बेगखोला तरेर बाँसबोट हुँदै बेग पुग्नुपथ्र्यो, केही समयअघि लामो झोलुङ्गे पुल बनेपछि हामीलाई सहज भएको छ र समयको पनि बचत भएको छ,” उहाँले भन्नुभयो। भौगोलिक हिसाबले भीर पहराले घेरिएको बेग र बाँदुक गाउँमा स्थानीय पुल नबन्दा अप्ठ्यारो बाटोबाट घुमाउरो यात्रा गर्न बाध्य थिए।

त्यस्तै बेगका खुमबहादुर पुर्जा बेगखोलामाथि पुल बनेपछि स्थानीयवासीको जनजीवनसमेत बदलिएको बताउनुहुन्छ। यही पुलमार्फत स्थानीयवासीले गाउँमा उत्पादित खाद्यान्नसमेत ढुवानी गरी अन्य गाउँ तथा बजारमा बेच्न लैजाने गरेका छन्। 

“यहाँबाट पारि बाँदुक पुग्न तीन घण्टा लाग्थ्यो, यही ४०–४५ मिनेट नहुँदै पारि पुगिन्छ। यसरी पुल बन्ला, वारपार गर्न यति छोटो समय लाग्ला भन्ने सोचेका थिएनौँ,” उहाँले थप्नुभयो। पहिले एक गाउँदेखि अर्को गाउँसम्म पुग्न तीन घण्टा लाग्ने गरेको भन्दै अहिले केही छिनमै वारपार गर्न सकिने उहाँको भनाइ छ। 

यो पुल निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकसमेत आकर्षित भएको स्थानीयको भनाइ छ। तत्कालीन जिल्ला विकास समितिले विनियोजन गरेको दुई करोड ७९ लाख ९० हजार रुपियाँ लागतमा २०७३ साल साउनदेखि निर्माण सुरु भएको पुल २०७४ वैशाखमा सम्पन्न भएको हो। 

पुल निर्माणको जिम्मा मुक्तिनाथ/श्री गीता जेभीले पाएको थियो। पुल निर्माणका लागि जिल्ला समन्वय समिति र स्थानीयको ३६ लाख रुपियाँ बराबरको लगानीमा दुवै तर्फबाट सडकको पहुँच मार्ग विस्तार गरिएको छ। प्रतिनिधि सभा सदस्य सांसद खमबहादुर गर्बुजा ‘खम्बिर’ले पुल निर्माण भएपछि स्थानीयवासीलाई आवतजावत गर्न सहज भएको बताउनुभयो। 

रघुगङ्गा गाउँपालिका–१ का वडाध्यक्ष बिलबहादुर फगामीले बेग र बाँदुकतर्फको बाटोमा पदमार्ग, पर्यटन पार्क र समुदायस्तरबाट चौतारी, विश्रामस्थललगायतका पूर्वाधार निर्माण भएको बताउनुभयो। पुल निर्माण भएपछि स्थानीयको जनजीवन र दैनिकी फेरिएको अध्यक्ष फगामीले बताउनुभयो। बेग र बाँदुक गाउँको बीचमा रहेको बेगखोलाको खोचमाथि निर्माण भएको यस झोलुङ्गे पुलको १४८ मिटरभन्दा बढी लम्बाइ रहेको छ। यस पुलबाट करिब दुई हजार घरधुरी लाभान्वित भएका छन्।