• ८ वैशाख २०८१, शनिबार

हनुमानढोकामा बढे पर्यटक

blog

काठमाडौँ, वैशाख १९ गते । विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा घुम्न आउने पर्यटकको सङ्ख्या बढेको छ । युनेस्को विश्व सम्पदामा सूचीकृत रहेको यो क्षेत्रमा पछिल्लो समय घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या बढेको काठमाडौँ महानगरपालिका हनुमानढोका दरबार संरक्षण कार्यक्रमले जनाएको छ । धार्मिक स्थलका रूपमा समेत प्रसिद्ध मानिने वसन्तपुर दरबार क्षेत्रमा घुमघामसँगै धार्मिक आस्थासँग जोडिएका आन्तरिक पर्यटकको चहलपहल बढेको हो ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनामा बिम्स्टेक राष्ट्रहरूबाट २८ हजार २५३ र अन्य राष्ट्रबाट ६९ हजार २२६ जना विदेशी पर्यटकले हनुमानढोका दरबार क्षेत्रको भ्रमण गरेका छन् । तथ्याङ्कअनुसार गत वर्षको साउनमा सार्क राष्ट्रबाट एक हजार तीन सय र अन्य देशबाट दुई हजार ८६४ जनाले दरबार क्षेत्रको भ्रमण गरेका छन् । त्यसैगरी भदौमा सार्क राष्ट्रबाट एक हजार ८९३ र अन्य देशबाट तीन हजार ६१०, असोजमा सार्क राष्ट्रबाट सार्क राष्ट्रबाट तीन हजार १७८ र अन्य मुलुकबाट १० हजार ५९४, कात्तिकमा सार्क राष्ट्रबाट तीन हजार ८०२ र अन्य मुलुकबाट १५ हजार ११७, मङ्सिरमा सार्क राष्ट्रबाट तीन हजार ५३ र अन्य मुलुकबाट छ हजार २१६, पुसमा सार्क राष्ट्रबाट चार हजार ६०२ र अन्य मुलुकबाट चार हजार १६०, माघमा सार्क राष्ट्रबाट दुई हजार ६२ र अन्य मुलुकबाट चार हजार २७५, फागुनमा सार्क राष्ट्रबाट तीन हजार ८१८ र अन्य मुलुकबाट आठ हजार चार सय र चैतमा सार्क राष्ट्रबाट चार हजार ४४६ र अन्य मुलुकबाट १३ हजार ९९० विदेशी पर्यटकले दरबार क्षेत्रको भ्रमण गरेका छन् ।महानगरका अनुसार उक्त अवधिमा दरबार क्षेत्रमा प्रवेश गर्ने पर्यटक शुल्कबाट सरकारलाई सात करोड ३४ लाख ६३ हजार ९५० रुपियाँ राजस्व सङ्कलन भएको छ । त्यसैगरी नौ महिनाको सोही अवधिमा दरबार क्षेत्रमा चलचित्र छायाङ्कनको अनुमतिबाट दुई लाख ७५ हजार रुपियाँ आम्दानी भएको तथ्याङ्कमा उल्लेख छ । कार्यक्रमले सार्क देशका पर्यटकसँग १५० रुपियाँ र सार्क बाहिरी देशका पर्यटकसँग एक हजार रुपियाँ शुल्क लिने गरेको छ ।