• ११ वैशाख २०८१, मङ्गलबार

हिल्सा नाका दुईतर्फी खुला

blog

राजन रावत

हुम्ला, वैशाख १९ गते । चीनसँग जोडिएको व्यापारिक हिल्सा नाका दुईतर्फी सञ्चालनमा आएको छ । सोमबारदेखि सो नाका औपचारिक रूपमा सञ्चालनमा आएको हो । 

सशस्त्र प्रहरी बल सीमा सुरक्षा चौकी हिल्साका (बीओपी) सशस्त्र प्रहरी निरीक्षक टङ्कप्रसाद सापकोटाले हिल्सा नाका पूर्वनिर्धारित कार्यक्रमअनुसार सोमबारबाट औपचारिक रूपमा सञ्चालनमा आएको जानकारी दिनुभयो ।

नाका सञ्चालन भएको पहिलो दिन अठार जना नेपाली व्यापारी चीनको पुराङतर्फ (ताक्लाकोट) गएका छन् । अब नियमित रूपमा ताक्लाकोटमा नेपाली व्यापारी र काम गर्न जाने मजदुर जान पाउने भएका छन् । चिनियाँ पक्षले चीनतर्फ मे ७ बाट मात्र मानिस आउन पाउने भए पनि सामान भने सोमबारबाट ल्याउन सकिने जनाएको छ । त्यस्तै ताक्लाकोटमा बर्सेनि दुई हजारभन्दा बढी मजदुर काम गर्न जाने बाटोसमेत खुलेको छ । हिल्साबाट ताक्लाकोट हुँदै मानसरोवर कैलाशको दर्शन गर्ने धार्मिक पर्यटकका लागि समेत बाटो खुलेको छ । नाका बन्द भएको चार वर्षपछि सञ्चालनमा आएको हो । कोरोनाका कारण २०७६ सालदेखि सो नाका बन्द हुँदै आएको थियो । बन्द रहेको नाका गत फागुनमा व्यापारिक सामान ल्याउनका लागि केही समय एकतर्फी रूपमा चिनियाँ पक्षले खुलाएको थियो ।