• ८ वैशाख २०८१, शनिबार

'महावीर पुनका माग सम्बोधन गर्न सरकार तयार छ'

blog

पत्रकार सम्मेलनमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

चितवन, वैशाख १८ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनका माग पूरा गर्न सरकार तयार रहेको बताउनुभएको छ। 

सोमबार प्रेस सेन्टर नेपाल चितवनले आयोजना गरेको पत्रकार सम्मेलनमा महावीर पुनले आफूसँग केही माग राखेको र ती माग पूरा गर्न सरकार तयार रहेको बताउनुभयो। उहाँले सरकारले महावीर पुनलाई वास्ता गरेन भन्नु गलत भएकोसमेत बताउनुभयो।

उहाँले भन्नुभयो, ‘‘महावीर पुन माइतीघर मण्डलामा बस्ने अघिल्लो दिन बालुवाटार आउनुभएको थियो। राम्रो कुराकानी भयो। केही माग गर्नुभएको छ। सरकारसँग कुरा भएपछि उहाँ आन्दोलनमा बस्नुभएको हो। सरकार उहाँका माग सम्बोधन गर्न तयार छ। म यसको पहल गर्छु।’’

प्रधानमन्त्री प्रचण्डले पूर्व लडाकुलाई रकम दिने विषय  २०७१ सालको सरकारले निर्णय गरेको बताउनुभयो। 

उहाँले तत्कालीन समयमा अर्थमन्त्री विष्णु पौडेल रहेको र कांग्रेस एवम् एमाले सरकार रहँदा छलफल भएर टुङ्गिएको विषय भएको बताउनुभयो। तत्कालीन समयमा सर्वोच्च अदालतमा मुद्दा परेका कारण रोकिएको र अहिले दिन मिल्नेगरी फैसला भएकाले रकम दिन लागिएको बताउनुभयो।

उहाँले आर्थिक समस्याका कारण लडाकुलाई किस्ताबन्दीमा रकम दिने विषयमा छलफल भइरहेको बताउनुभयो।

प्रधानमन्त्री दाहालले रास्वपा आफू नेतृत्वको सरकारमा आउनेसमेत बताउनुभएको छ।