• १४ वैशाख २०८१, शुक्रबार

गजेन्द्र नारायणसिंह अस्पतालमा भिडियो एक्सरे र अल्ट्रासाउण्ड सेवा डेढ महिनादेखि ठप्प

blog

देवराम प्रसाद यादव

सप्तरी, वैशाख १८ गते । सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्डलगायतका सेवा डेढ महिनादेखि ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन् । अस्पतालको भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा डेढ महिनादेखि सेवा बन्द हुँदा अस्पतालमा आएका बिरामीलाई अस्पतालबाहिर महँगोमा भिडियो एक्सरे, सिटिस्क्यान, अल्ट्रासाउण्ड लगायत सेवा लिनुपर्ने बाध्यता सिर्जना भएको हो । 

अस्पतालमा भिडियो एक्सरे र सिटिस्क्यान मेसिन छ, तर प्रयोगमा ल्याउने जनशक्ति अभावका कारण सेवा नै बन्द छ । भिडियो एक्सरे र सिटिस्क्यान सेवाका लागि अस्पतालमा एक जना रेडियोलोजिस्ट डाक्टरको दरबन्दी छ । दरबन्दीअनुसार डाक्टर नहुँदा यहाँका नागरिकले अस्पतालबाट सहज र सुलभ सेवा पाउन सकेका छैनन् ।

अस्पतालमा भिडियो एक्सरे सेवा बन्द हुँदा निजी क्लिनिकमा महँगो शुल्कमा भिडियो एक्सरे गर्न बाध्य रहेको स्थानीय विनोद यादवले बताउनुभयो । उहाँले अस्पतालबाट प्रवाह हुने सेवा बन्द भएपछि महँगोमा बाहिरै गराउनु पर्ने बाध्यता रहेको बताउनुभयो । 

भिडियो एक्सरे विभागका (कन्सल्टेन्ट रेडियोलोजिस्ट) डाक्टर आशिष् सिंहलाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि  भिडियो एक्सरे र सिटिस्क्यान नै पूर्ण रूपमा बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशप्रसाद साहले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । उहाँले अस्पतालमा सिंह एक मात्र रेडियोलोजिस्ट थिए त्यसलाई पनि मन्त्रालयले गत फागुन २१ गते सरुवा गरेपछि रेडियोलोजिस्टको अभावमा भिडियो एक्सरे र सिटिस्क्यान सेवा रोकिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. साहले बताउनुभयो । उहाँका अनुसार यसबारे मन्त्रालयलाई जानकारी दिँदा कुनै किसिमको सुनुवाइ नभएकोसमेत बाउनुभयो । मन्त्रालयबाट रेडियोलोजिस्ट पठाएपछि भिडियो एक्सरे र सिटिस्क्यान सेवा पुनः सञ्चालनमा आउने उहाँको भनाइ छ । 

मेडिकल सुपरिटेन्डेन्ट डा. साहका अनुसार अस्पतालमा ५० शैययाको क्षमता रहेकोमा एक सय ५० शैययाको सेवामा इमरजेन्सीमा २५, सीडीयुमा १२, एनआईसीमा ४, वार्डमा १ सयसहित एक सय ५० शैययाको सेवा विशेषज्ञ सहितको सेवा प्रवाह भइरहेको छ ।