• १२ वैशाख २०८१, बुधबार

विद्यालयको नाम र चिह्नमा एकरूपता ल्याउन निर्देशन

blog

काठमाडाैं महानगरपालिकाकाे कार्यालय

काठमाडौँ, वैशाख १८ गते । काठमाडौँ महानगरपालिकाले विद्यालयको चिह्न र नाममा एकरूपता नल्याए कारबाही गर्ने चेतावनी दिएको छ । महानगरपालिकाका प्रमुख बालेन्द्र शाह ‘बालेन’ले मौलिक र मापदण्डअनुरूप रहन सबै विद्यालयलाई आग्रह गर्दै नियमको पालना नभएको खण्डमा कानुनी कारबाही गर्न महानगर बाध्य हुने चेतावनी दिनुभएको हो । 

विद्यालय शिक्षा व्यवस्थापन नियमावलीमा भएको व्यवस्थाअनुसार विद्यालयको नाम र चिह्नबारे एकरूपता ल्याउन खोजेको उहाँको भनाइ छ । समाज तथा राष्ट्रकै लागि उल्लेखनीय योगदान पु-याएका वा ऐतिहासिक व्यक्ति, देवी देवता, तीर्थस्थल वा प्राकृतिक सम्पदा आदिको नामबाट नेपालीपन झल्कने गरी विद्यालयको नामकरण गर्नुपर्ने महानगरपालिकाले जनाएको छ ।

विद्यालय शिक्षा व्यवस्थापन नियमावलीअनुसार विद्यालयको चिह्न षट्कोणको हुनेछ । विद्यालय व्यवस्थापन समितिले निर्णय गरी सो षट्कोणको बीचमा आफ्नो विद्यालयको छुट्टै चिह्न राख्न सकिने पनि महानगरपालिकाले स्पष्ट पारेको छ । 

यो नियम प्रारम्भ हुनुभन्दाअगावै यस नियमविपरीत नामकरण भइसकेका विद्यालयको हकमा यो नियम जारी भएपछिको दोस्रो शैक्षिक सत्रको सुरुदेखि नै लागू हुने गरी पुनः नामकरण गर्न चाहेमा महानगरपालिकाबाट स्वीकृति लिनुपर्ने उल्लेख गरिएको छ । 

कुनै संस्थागत विद्यालयले आफ्नो नाममा पब्लिक शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ विद्यार्थी पूर्ण छात्रवृत्तिमा अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा राष्ट्रिय शब्द जोड्न चाहेमा नेपालको कम्तीमा २५ जिल्लाका विद्यार्थी अध्ययनरत रहेको हुनुपर्नेछ । कुनै संस्थागत विद्यालयले आफ्नो नाममा इन्टरनेसनल शब्द जोड्न चाहेमा कम्तीमा एक तिहाइ सङ्ख्यामा विदेशी विद्यार्थी हुनुपर्नेछ । विद्यालयको नामको अन्त्यमा विद्यालय स्कुल वा पाठशाला शब्द जोडिएको हुनुपर्ने नियमावलीले व्यवस्था गरेको छ ।