• ८ वैशाख २०८१, शनिबार

वर्षाले फाइनल खेल रद्द भए नेपाल च्याम्पियन

blog

फाइल तस्बिर ।

काठमाडौं, वैशाख १७ गते । एसीसी प्रिमियर कपको फाइनल खेल पनि वर्षाका कारण रद्द भए आयोजक नेपाल सोझै च्याम्पियन बन्नेछ । 

नेपाल र कुवेतबीचको सेमिफाइनल खेल वर्षाका कारण रद्द भएपछि नेपालले समूह चरणमा गरेको प्रदर्शनका आधारमा फाइनलमा स्थान बनाएको हो । 

फाइनमा नेपालले सोमबार त्रिवि मैदान कीर्तिपुर मैदानमा संयुक्त अरब इमिरेट्स (युएई) सँग प्रतिस्पर्धा गर्दैछ । शनिबार कुवेतसँगको सेमिफाइनल खेल भारी वर्षाको कारण रद्द भएपछि नेपाल समूह ‘ए’ मा गरेको उत्कृष्ट प्रदर्शनको आधारमा फाइनलमा पुगेको थियो । 

युएईले दोस्रो सेमिफाइनल खेलमा ओमानलाई डीएलएस मेथडको आधारमा दुई रनले हराउँदै नेपालसँगको फाइनल भिडन्त पक्का गरेको हो । फाइनल खेल तय भएको सोमबार पनि काठमाडौंमा वर्षा हुने सम्भावना रहेको छ । 

यदि सोमबार फाइनल खेल हुन नसके मंगलबार ‘रिजर्भ डे’ को व्यवस्था गरिएको छ । सोमबार र मंगलबार समेत वर्षाको कारण खेल हुन नसके दुई सुपर ओभरबाट नजिता निकाल्ने प्रयास गरिने छ ।

पहिलो सुपर ओभर बराबरी भएका दोस्रो सुपर ओभर हुनेछ । यदि सुपर ओभर समेत हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय वरीयतामा अगाडि रहने टोली विजेता बन्नेछ ।

यस्तो अवस्थामा नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छ । त्यसैले वरीयताको आधारमा नेपाल च्याम्पियन बन्नेछ । च्याम्पियन टोलीले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्ने मौका पाउनेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

शीर्ष तीनमा पर्ने टोलीले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कप खेल्न पाउनेछ । फाइनलमा पुगेको नेपालले एसीसी इमर्जिङ टिम्स एसिया कप को यात्रा तय गरिसकेको छ ।