कोही दौडिने, कोही व्यसनी कसैलाई रङ्गीचङ्गी मन पर्ने !

भनिन्छ– महाकवि देवकोटा हातमा चुरोट नसमाती केही पनि लेख्न बस्दैनथे रे । चुरोटको ठुटोले औँला पोलुन्जेलसम्म पनि लेखनमै रम्थे । यस्तै एक शताब्दी उमेर पार गरेका राष्ट्रकवि माधवप्रसाद घिमिरे अरू बेला लेख्दैनन्, दिउँसोमात्र उनको लेखनकार्य सुरु हुन्छ । अर्का प्रसिद्ध साहित्यकार हरिभक्त कटुवालका लागि मदिरा निकै प्रिय थियो, मदिराविना उनका सिर्जना साहित्य विरलै हुन्थ्यो । साहित्यकारहरू यसै पनि आफ्नै स्वभावका हुन्छन्, उनीहरूका स्वभाव तथा व्यवहार आममानिसको भन्दा अलिक बेग्लै हुन्छ, त्यसैले उनीहरूबाट कालजयी साहित्यिक कृतिको सिर्जना सम्भव हुन्छ । यस्ता धेरै साहित्यकार छन्, जसका विभिन्न अनौठा व्यवहार तथा स्वभावहरू विश्वमै चर्चित छन् । केही अनौठा व्यवहार तथा स्वभाव भएका केही प्रसिद्ध साहित्यकारहरूबारे यहाँ चर्चा गरिएको छ :

प्रसिद्ध साहित्यकार टीएस इलियट साहित्यिक रचनापूर्व आफ्नो अनुहारमा हरियो पाउडर तथा लिपिस्टिक लगाउने गर्दथे, यसबाट आफूमा ऊर्जाको सञ्चार हुने उनको भनाइ थियो । यस्तै उनका सहकर्मी साहित्यकार फ्रेड्रिक स्किलर कुहिएका स्याउ सुँघेर साहित्य सिर्जना गर्दथे ।
६६ वटा जासुसी उपन्यास तथा १४ वटा लघुकथा सङ्ग्रहकी रचयिता अगाथा कृष्टीले कहिल्यै पनि डेस्कमा लेखिनन्, उनको आफ्नै अफिस पनि थिएन । उनी होटलमा कोठा भाडा लिएर लेख्ने गर्थिन् । उनी आफैँले टाइपराइटरमा लेख्थिन् । उनको लेखन तौरतरिका प्रायःजसो अव्यवस्थित नै हुन्थ्यो, उनलाई जहाँ लेख्ने जाँगर चल्थ्यो, त्यहीँ नै लेख्न सुरु गर्थिन््, चाहे भान्छाको टेबलमा होस् वा शयनकक्षमा । कहिलेकाहीँ कृष्टी प्लटविनै पनि पहिल्यै कथा लेख्न सुरु गर्थिन् ।
सिग्मन्ड फ्रायडका प्रिय वस्तु थिए– निकोटिन र कोकिनसहितको सिगार । उनी यी दुई चीजका अम्मली नै थिए । यी दुई वस्तुको अभावमा उनको लेखन नै अघि बढ्दैनथ्यो । यौन मनोविज्ञान साहित्यका विख्यात हस्ती फ्रायडलाई निकोटिन र कोकिनको लत युवावस्थादेखि नै थियो । यसैका कारण उनको मुख र बङ्गरामा ३३ पटक शल्यक्रिया गर्नुपरे पनि यी दुई नशाजन्य वस्तु उनका लागि सधैँ प्रिय रहिरह्यो । फ्रायडले आफ्नो लतबाट मुक्ति पाउन प्रयास गरे पनि कहिल्यै सफल भने भएनन् ।
प्रसिद्ध ब्ोलायती लेखक चाल्र्स डिकेन्सलाई लेख्दा दिनको सयौँपटक काइँयोले कपाल कोर्नुपर्दथ्यो । यस्तै डिकेन्स आफूसँग सधैँ दिशा देखाउने कम्पास लिएर हिँड्थे र सधै उत्तर दिशातर्फ सिरानी गरेर सुत्थे ।
सन् १९८२ मा साहित्यका लागि नोबेल पुरस्कार पाएका ग्राबियल गार्सिया मार्केजको परिचय उपन्यासकारपूर्व पत्रकारका रूपमा थियो । एक कोलम्बियन समाचारपत्रका लागि पत्रकारका रूपमा काम गर्नेक्रममा अर्थोपार्जनका लागि उनले कथा लेख्न तथा बिक्री गर्न सुरु गरेका थिए । यिनी बिहानै सूर्योदयअघि नै उठ्थे र पत्रिका नपढी लेख्न नै सुरु गर्र्दैनथे ।
७२ वर्षीय जापानी लेखक हारुकी मुराकामी लेखकका साथै राम्रा खेलाडी अर्थात् एथ्लेट पनि हुन् । दौड्नु तथा व्यायाम गर्नु उनको नित्यकर्म नै हो, बिहानै चार बजे उठ्ने तथा बेलुका नौ बजेसम्म सुतिसक्ने उनको बानी छ । दौडले दिमागलाई लेखनमा केन्द्रित गर्न सघाउ पुग्ने उनको विश्वास छ । यसैकारण साहित्य सिर्जना गर्नुअघि उनी मज्जाले दौडने गर्छन् ।
२०औँ शताब्दीकी महान् लेखिकामध्येकी एक मानिएकी भर्जिनिया उल्फ अग्लो डेस्कमा लेख्ने गर्थिन् । चित्रकारले झैँ उनी पनि आफूले लेखेका पृष्ठहरूलाई डेस्कका विभिन्न कुनाबाट हेर्ने गर्थिन् । यसबाहेक हरियो, नीलो तथा वैजनीजस्ता विभिन्न रङका मसी प्रयोग गरेर लेख्ने बानी भर्जिनियाको थियो ।
वैजनी उनको प्रिय रङ थियो र चिट्ठीपत्र लेख्न तथा विशेषगरेर आफ्ना प्रेमीलाई प्रेमपत्र लेख्न प्रयोग गर्थिन् ।
बेलायती लेखिका जेन अस्टिन लेखनका लागि तयार हुनुअघि आधा घण्टासम्म कलम समातेर दिमागमा आएका सबै कुरा कागजमा लेख्ने गर्थिन् । यसक्रममा कहिलेकाहीँ एकै वाक्यलाई पटक–पटक दोहो¥याएर लेख्ने उनको बानी थियो ।
यस्तै फ्रेन्च लेखक अलेक्जेन्डर डुमा विभिन्न विधाका साहित्य सिर्जनाका लागि विभिन्न रङका कागजहरू प्रयोग गर्दथे । आफ्ना आख्यान कथा नीलो रङको कागजमा, कविता पहेँलो कागजमा तथा लेखहरू गुलाबी कागजमा लेख्ने उनको अनौठो बानी थियो । एकपटक युरोप भ्रमणमा जाँदा आख्यान कथा लेख्दा डुमाका नीलो रङका कागज सिद्धिएछन् । उनले बाध्य भएर खैरो रङको कागजमा लेख्नुपरेछ, यो कथा खासै लोकप्रिय भएन र यसको दोष उनले यही क्रिम रङको कागजमा लेख्नुलाई दिए ।
आइरिस लेखक जेम्स जोयस हातमा लामो नीलो सिसाकलमसहित सेतो कोट लगाएर ओछ्यानमा घोप्टो परेर कार्डबोर्डमा रङ्गीचङ्गी चकहरूले लेख्ने गर्दथे । यसो गर्नुमा पनि कारण थियो, जेम्समा आँखाको समस्या थियो । यसका लागि उनले २५ पटकसम्म शल्यक्रिया पनि गराए । तर, उनको दृष्टिमा खासै सुधार आएन । यसैकारण उनले कार्डबोर्डमा विभिन्न रङ्गीचङ्गी चकको प्रयोग गर्न थालेपछि उनले स्पष्टसाथ लेखिएका अक्षर देख्न थाले र पछि यो उनको बानी नै बन्यो । त्यस्तै सेतो कोटका कारण विशेषगरेर रातका समयमा कागजमा लेखिएका कुरा पढ्न उनलाई सहज हुन्थ्यो ।
प्रसिद्ध अफ्रिकी अमेरिकी अश्वेत साहित्यकार जोरा निल हस्र्टनलाई आफ्नो लेखनमा केन्द्रित हुन निकै शान्त वातावरण चाहिन्थ्यो । त्यसैले उनले आफ्नो कान बन्द गराउन नै एक मानिसलाई काममा लगाउन्थिन्, जसको मुख्य काम लेख्नु वा टाइप गर्नुअघि जोराका कानमा कपास वा अन्य कुरा हालेर बन्द गर्नु हुन्थ्यो ।
प्रसिद्ध साहित्यकार अर्नेस्ट हेमिङवे अरूको खाना छुने पात्रका कथा लेख्ने कथाकारका रूपमा बढी चिनिन्छन् । उनका प्रायः सबैजसो कथामा अरूको खाना छुने प्रसङ्ग भएकै हुन्छ । यसबाट वाक्क भएर प्रकाशकहरू उनको विरोध हुँदाहुँदै पनि यस्ता पंक्ति हटाउने प्रयास गर्दथे ।

प्रस्तुति : सौम्या अधिकारी

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds