नियात्राभित्रको यात्रा

niyatraसाहित्यकार तेजप्रकाश श्रेष्ठ (२००३) नेपाली साहित्य र संस्कृतिको क्षेत्रमा विशिष्टता हासिल गरिसकेका व्यक्ति हुन् । उनका व्यक्तित्वका विविध पाटाहरू छन् । कविता, कथा, उपन्यास, नियात्राजस्ता विविध विधाहरूसँगै बालसाहित्य र लोक–संस्कृतिको क्षेत्रमा यिनको अतुलनीय योगदान छ । उनको पछिल्लो कृति ‘बुर्र्कुसीमा रम्छ मन’ नामक नियात्रासङ्ग्रह (२०७५) मा उनका २०५६ सालदेखि २०७४ सालसम्मका विविध पत्रिकाहरूमा प्रकाशित ३० वटा नियात्राहरू सङ्ग्रहित छन् ।
यात्रासाहित्यमा आत्मपरक निजत्व झल्कने शैलीसहित रागात्मक अनुभूति उमार्न सके नियात्रा हुन्छ भन्ने भाषाशास्त्री बालकृष्ण पोखरेलको भनाइ छ । लेखकका निजी भावना, विचार र अनुभूतिहरू सलल्ल नदीको छालझैँ सरल र सरस ढङ्गले बगेका छन् । छोटा वाक्य, चोटिलो भनाइ, कतै वर्णनात्मक र कतै संवादात्मक शैलीको प्रस्तुतिले पाठकलाई डो¥याउँछ । लेखकको आस्था, विश्वास र धारणाहरू स्पष्ट छन् । व्यङ्ग्यचेतना प्रखर छ । कवितांश, गीतका गेडा, उखान टुक्काहरूको प्रयोगले भाषाशैली माझिएको छ । बुर्र्कुसीमा रमाउँदा मनभित्रको बुुर्कुसीमा झर्रोपन छ ।
पुस्तक तीन खण्डमा विभाजित छ । पहिलो खण्डमा लेखकको बुर्कुसी स्वदेशकै एघार ठाउँमा बाह्र फड्को मारिएको छ । लेखक लोकवार्ता तथा संस्कृति समाजसँग सम्बन्धित भएकाले लोकवार्ता संगोष्ठीका निमित्त विज्ञसहितको जम्बो टोली लिएर लोक–संस्कृतिको खानी कहलिएको पश्चिम नेपालको खलङ्गा, साँफेबगर (सल्यान) दुल्लु (दैलेख) वैद्यनाथ धाम (अछाम), अमरगढी (डडेलधुरा) सिलगढी (डोटी) लेखकको जन्मथलो (बैतडी), धनगढी (कैलाली), कञ्चनपुर (महाकाली) जस्ता ठाउँको नियात्रासँग गाँसिएका छन् । यस्तै साहित्यकार भीमनिधि तिवारीको शतवार्षिकी समारोह मनाउन तिवारीकै जन्मथलो चिति, (लमजुङ) र बालप्रतिभा पुरस्कार वितरणका निम्ति बन्दीपुर (तनहुँ) को यात्रा विवरण पनि यसमा समावेश छ । राष्ट्रिय बालसाहित्य सम्मेलनका निमित्त चिसापानी (रामेछाप) र अर्को वर्ष सोही सम्मेलनको तयारी र कार्यक्रमकै निमित्त दुईपटक दिक्तेल (खोटाङ) पुगेका लेखकको यात्रा विवरणले यो खण्ड पूर्ण भएको छ । सबै यात्राहरू साहित्य र संस्कृतिसँगै सम्बन्धित छन् । यो खण्डका प्राप्ति र विशेषताहरू निम्न देखिन्छन् ।
भ्रमणको सिलसिलामा देखिएको प्राकृतिक विवरण, यात्रा अनुभव, नाच (नृत्य), गीत सङ्गीत ऐतिहासिक तथा धार्मिक स्थल र त्यससम्बन्धित मन्दिर, मूर्ति, अभिलेख सम्बन्धित पौराणिक कथन, किंवदन्ती आदि लोकधारणालाई लेखकले राम्ररी चिरफार गरेका छन् ।
 कार्यक्रमको संक्षिप्त विवरण प्रस्तुत गर्दै कमी–कमजोरी समेतलाई केलाएका छन् ।
 कतै लेखक छमछमी नाचेका छन् भने कतै निराश भएर रोएका पनि छन् ।
 महाकालीमा उभिँदा भारतले त्यहाँको पानीमा खेलेको भूमिकाप्रति दुःखी छन् भने भाषिक तथा सांस्कृतिक अतिक्रमणले खिन्न ।
 तुइन र झोलुङ्गेपुलका कुरामा नेतृत्व वर्गप्रति आक्रोशित ।
 देशको ऐतिहासिक स्थल तथा मन्दिरहरूको जगेर्ना नभएको र जनयुद्धमा नष्ट गरिएकोमा लेखक खिन्न ।
 भीमदत्त र दशरथ चन्दको सालिकछेउ पुग्दा तिनीहरूको संरक्षण नभएको र अनगिन्ती बहुरूपी सहिदले देश भरिन थालकोमा चिन्तित ।
 जन्मभूमिप्रतिको उनको अनुराग देशप्रेमकै रूपमा छताछुल्ल छ ।
 विज्ञ व्यक्तिहरूको सङ्गत र सम्पर्कले लेखक मख्ख छन् । स्थान विशेषका प्रख्यात व्यक्तिहरूलाई उनले सम्झेका छन् ।
 प्राकृतिप्रेम, संस्कृतिप्रेम, भाषाप्रेम र धार्मिक आस्था यत्रतत्र पोखिएको छ ।
दोस्रो खण्ड भारतको यात्रासँग सम्बन्धित छ । यो खण्डमा मूलतः सात ठाउँको यात्रावृत्तान्तमा १० फड्का बुुर्कुसी मारिएको छ । प्रणामी सम्प्रदायका व्यक्तिहरूसँग दार्जिलिङ, कालिम्पोङको यात्रा र ओम शान्तिका व्यक्तिहरूको सम्पर्कले राजस्थान आवुपर्वतको धार्मिक यात्रा वृत्तान्तलाई यसमा अटाएका छन् । लेखक स्वयम् भने हाम्रो आफ्नो मौलिक सनातन धर्म संस्कृतिमाथिको अतिक्रमण ठान्छन्– कतिपय कुरा । तैपनि धार्मिक प्रवचन, ध्यान र योगमा लहसिएका पनि छन् । यात्राको झमेला, बेमारी, सकसले उनलाई पिरेको पनि छ । यात्रामा प्राप्त ऐतिहासिकता र यथार्थलाई उनले केलाउन छाडेका छैनन् । यस्तै मिरिक र नैनीतालको भ्रमण गर्दा नेपालका सम्भावित पर्यटक क्षेत्र सम्झन पुगेका छन् । धन्य रह्यो सतीको आँसु नैनीतालमा ।
बाल–साहित्यकै सिलसिलामा महाराष्ट्रको कोल्हापुरमा त्यहाँका साहित्यकारहरूको देखाएको आतिथ्य र सद्भावले लेखक पग्लिएका छन् । बालबालिकाको रुचि र कार्यबाट प्रभावित भएका छन् । गुजरात र महाराष्ट्रका धार्मिक स्थलमात्र होइनन्, गोवाजस्तो सामुद्रिक छालमा बुर्कुसी मार्न पुगेका छन् ।
दिल्लीको यात्रामा आफूू बिरामी भएर उपचारका लागि गएको वृत्तान्त हो । पूर्वदीप्ति शैलीमा संस्मरणात्मक प्रस्तुति दिएर लेखकले रोगीहरूलाई मात्र होइन, पाठकलाई समेत जानकारीमूलक प्रस्तुति पस्केका छन् । रोगी भए पनि त्यहाँको प्रमुख धार्मिक स्थलहरूको भ्रमणमा पुग्न सक्नु लर्तरो कुरो होइन । विदेशमा पनि देश र देशवासी खोज्नु लेखकको अर्को खुसी र विशेषता । विदेशीको हेपाहा प्रवृत्तिप्रति भने रुष्ट ।
अन्तिम खण्ड लेखकको अमेरिका भ्रमण हो । जम्मा आठ खण्डमा विभाजित यो खण्डमा टेक्सास राज्यको ‘डालस’ नगरमा नाति निभेदको पास्नीमा भाग लिन र दशैँ आफ्ना छोराबुहारीसँग मनाउन पुगेका बाजेबज्यैका अनुभूतिहरू लेखकले सँगालेका छन् । अमेरिकी नेपालीले बचाएको आफ्नो संस्कृति, आत्मीय प्रेम, आफन्तसँगको भेटको क्षेण र त्यहाँ नेपाली समयसँगै काममा जोतिएका प्रसङ्गहरू उल्लेख्य छन् । छोराबुहारी र नातिसँग गरिएको लामो सडक यात्राका रोमाञ्चक घटनाका साथै नासाको अन्तरीक्ष केन्द्रलगायत त्यहाँका महŒवपूर्ण क्षेत्रको रोमाञ्चकारी यात्रा–विवरण पस्केका छन् । जुन लेखकले पाठकलाई सँगसँगै यात्रामा डुलाउन सक्छन्, कौतूहल जगाउँछन््, त्यही नियात्रा सफल मानिन्छ । यात्रासँगै लेखकले आफ्नो देशको सम्झना र तुलनात्मक दृष्टि प्रशंसनीय छ ।

 


 गायत्रीकुुमार चापागाईं

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना