लघुकथा: ऐतिहासिक

 

रत्न प्रजापति


सम्पदा संरक्षण आयोजनाका पदाधिकारीहरू आएका थिए । भूकम्पले अलि–अलि भत्काएका पुराना घर, पुराना मन्दिर, पुराना सत्तल, पुराना पाटी, पुराना पौवा, पुराना ढुङ्गेधारा र पुराना पहिरन लगाएका पुराना मान्छेका फोटा खिच्दै थिए । विदेशी पर्यटकले जस्तै मिलाई–मिलाई विभिन्न कोणबाट फोटो खिचेको एउटा पुरानो दौरासुरुवाल र इस्टकोट लगाएको वृद्ध मान्छेले हेरिरहेको थियो ।
‘यी सबै हाम्रा अमूल्य सम्पदा हुन् । यी सबैले हाम्रो इतिहास बोकेका छन् । यस्तो ऐतिहासिक सम्पदाको हामीले संरक्षण गर्नुपर्छ,’ कोही यसो भन्दै थिए ।
वृद्ध मान्छेलाई यो कुरा सह्य भएन । जबरजस्ती मान्छेको बीचमा घुसेर उसले खबरदारी ग¥यो, ‘प¥या छैन कसैले हाम्रो संरक्षण गर्न । संरक्षणको नाउँमा तिमीहरू हामीलाई सधैँ पुरानो बनाइराख्छौ र आफूचाहिँ सधैँ नयाँ बन्छौ । अनि आफूलाई आधुनिक ठान्छौ र हामीलाई चाहिँ ऐतिहासिक भन्छौ । हामी ऐतिहासिक बन्न चाहन्नौँ । हामी पनि आधुनिक बन्न चाहन्छौँ । त्यसैले अब हामी पुरानो घर, पुराना मन्दिर, पुरानो सत्तल, पुराना पाटी, पुराना पौवा, पुराना ढुङ्गेधारा, पुराना पहिरन सबै बदल्छौँ । हामी पनि तिमीहरूजस्तै आधुनिक बन्छौँ । ’
सम्पदा संरक्षण आयोजनाका पदाधिकारीसामु एउटा चुनौती तेर्सियो । सबैजना मुखामुख गर्न थाले । हो त, इतिहास जोगाउने नाउँमा सम्पदालाई सधैँ पुरानै बनाइराख्नुपर्छ भन्ने छ र ?
अब त्यहाँ नयाँ बहस सुरु भयो– अहिलेको २१औँ शताब्दीको आधुनिक युगमा पनि सम्पदा संरक्षणको नाउँमा पुराना वस्तु र पुराना मान्छेलाई इतिहास बनाइराख्न मिल्छ र ? पुराना वस्तु र पुराना मान्छेलाई पर्यटक लोभ्याउने साधन बनाउन मिल्छ र ? इतिहास त विकासको बाधक पो हो । आधुनिकता अँगाल्नेहरूले विकास र निर्माणमा नयाँ इतिहास रचिसके । हामीचाहिँ इतिहास जोगाउने प्रयासमा झन्झन् ऐतिहासिक बन्दै गइरहेछौँ र म्युजियममा कैद हुँदै छौँ ।
बहस लम्बिन थाल्यो । बहस सुनिरहेको वृद्ध मान्छेको मुहार चम्किलो देखिन थाल्यो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds