अस्ट्रेलियामा वैदिक आश्रम

वैदिक सनातन हिन्दु धर्मको मर्मलाई विदेशीहरूले पनि आत्मसात् गर्ने क्रम बढ्दै गएको छ । बरु स्वदेशमा यससम्बन्धमा त्यति चासो नदेखिन सक्छ । अस्टे«लियामा हिजोआज वैदिक मठमन्दिरहरूका साथै आश्रमहरूको निर्माण हुन थालेका छन् र यस्ता धार्मिक स्थलहरूको हर्ताकर्ता स्वयम् अस्ट्रेलियावासी गोराहरू छन् । उनीहरूको मुखारबिन्दबाट धाराप्रवाह संस्कृत श्लोकहरू निस्कनु कुनै अनौठो होइन । यस्तै अस्ट्रेलियाको मेलवर्नस्थित एक क्षेत्रमा रहेको वैदिक आश्रम भ्रमण गरेर फर्किनुभएका वरिष्ठ पत्रकार गोकुल पोख्रेलको यात्रा संस्मरण ।

यसै वर्ष २०१८ मार्च ३१ तारिख । अस्ट्रेलियाको दक्षिण पूर्वी तटमा रहेको मेलवर्न महानगरमा शरद ऋतुको आगमनसँगै पारिलो घाम लागेको थियो । स्थानीयनिवासी अनुप पोख्रेलले मेलवर्नमै रहेका हामीलाई उक्त दिन खाली राख्नुहोला भनेका थिए ।
म मेरी श्रीमती रन्जना र अनुप पोख्रेलका छोरीहरू निभा, आलिया र रोशनकी छोरी तेजलसहित मेलवर्नको दक्षिण–पूर्वी इलाकाबाट महानगरलाई छिचोलेर मोटरबाट उत्तर–पश्चिम भेगतर्फ लाग्यौँ । नगर इलाका छोडेर अघि बढ्दै जाँदा स–साना बस्तीहरू र जङ्गलको दृश्य देखिन थाल्यो । अपराह्नको २ बजेपछि मूल सडकलाई छोडेर जङ्गलतिरको कच्ची बाटो समात्यौँ । कच्ची सडक भए पनि खाल्डाखुल्डी, हिलो इत्यादि थिएन । जङ्गलभित्र निकै अगाडि बढेपछि हामी डेलेसफेर्ड गाउँमा पुग्यौँ ।
गाउँ करिब ४००० जनसङ्ख्याको बस्ती होला । रेल्वे स्टेसनबाट टाढै रहेको तर जङ्गलबीच प्रकृतिको काखमा रहेको डेलेसफोर्ड निकै मनोरम देखिन्थ्यो । नगरी क्षेत्रमा ठूला सहरमा अनुभव गरिनेजस्ता वायु प्रदूषणको नाम निशान थिएन । विद्युत्को लाइन केन्द्रीय प्रणालीसित जोडिए पनि सबैका छानामा सौर्य ऊर्जाका प्यानेलहरू जडित थिए । एक/दुई ठाउँमा वैकल्पिक ऊर्जाको अर्काे स्रोत हवाई चक्की अर्थात् विन्ड टर्बाइन पनि लगाएको देखिन्थ्यो । गाउँको बजार क्षेत्र सानो तर निकै रमाइलो लाग्थ्यो । आवश्यक उपभोग्य वस्तुहरू सबै पाइने पसलहरू र मनोरञ्जनका स्थलहरू रहेको, त्यसमाथि सहरी प्रदूषणका असरहरूबाट मुक्त भएकाले गाउँवासीहरूलाई नगरीय क्षेत्रबाट टाढा रहे पनि स्वास्थ्य, सुरक्षा र स्वच्छन्दताको दृष्टिले रमाएकै प्रतीत हुन्थ्यो । मलाई लाग्यो– नेपालमा गाउँ र थातथलो छाडेर सहरतिर बसाइँ–सराइ सर्ने प्रवृत्तिमा परिवर्तन ल्याउने हो भने अस्ट्रेलियाको नगरबाट टाढा रहेको डेलेसफोर्ड राम्रो दृष्टान्त हुन सक्छ । बजारमा छोटो समयको चिया, जलपानपछि हामी फेरि जङ्गलको बाटो समातेर केहीबेरपछि मूलबाटोबाट जङ्गलतर्फ लाग्यौँ । gokul_1
करिब आधा घण्टापछि बीचजङ्गलमा केही झुप्राहरू रहेको चउर देखाप¥यो । चउरमा शान्त वातावरणमा झुप्राहरू र मानिसको आवतजावत देखेपछि हामी गाडीबाट ओर्लेर झुप्राहरूतर्फ लाग्यौँ । वास्तवमा ती झुप्रा त वैदिक आश्रम पो रहेछन् । पाँच÷सात झुप्राहरूमा अतिथिहरू बस्ने आवास, भोजनालय, पुस्तकालय र प्रार्थना कक्ष पनि रहेछ ।
मुख्य प्रार्थना कक्षको बीचमा शिवलिङ्ग प्रस्टै देखिन्छ भने त्यसकै उत्तरतर्फ एक हवनकुण्ड पनि छ । दिनको अढाई बजेको हुनुपर्छ । हलमा सबै आगन्तुक र आश्रमवासीहरू जम्मा हुन लागे । हामी छजना नेपाली पनि बडो उत्सुकतापूर्वक भुइँमा बिछ्याएको बिस्तारामाथि बस्यौँ ।
टेरेसा मुख्य गुरुमाको निधारमा तीन धर्साका विभुति प्रस्ट देखिएकाले उनीहरू शैव भएको प्रस्ट आभास मिल्थ्यो । गुरुमाका दायाँ–बायाँ तीच÷चारजना पुरुष अस्ट्रेलियाली गोराहरू गेरुवा वस्त्रमा देखिन्थे । त्यत्तिकैमा हवन हुने र सबैले मन्त्र पाठ गर्ने सूचना भयो । गुरुमाले ‘‘त्रवकं यजामहे सुगन्धिम पुष्टि वर्धनम्......को मन्त्रपाठ गर्दै घ्युको आहुति दिने र नजिकका भक्तहरूले मन्त्रमात्र उच्चारण गर्ने क्रम चल्यो । १०८ मन्त्रको जप र यज्ञ समाप्तिपछि गुरुमाले सबैलाई विभूति लगाइदिनुभयो ।
आश्रमको वातावरण सबै वैदिक वाण प्रस्थाश्रमको ढाँचामा निर्मित छ । सामाजिक सञ्जाल युट्युबमा समेत वर्णित यो आश्रममा साŒिवक भोजनमात्र चल्छ । माँश, मदिरा तथा अन्य तामसी कुराको सङ्सर्ग हुँदैहुँदैन । यसबाट उत्सुकता जाग्यो, आश्रमको प्रयोजन के, कसरी चल्छ, कुन सामाजिक लक्ष्य पूरा हुन्छ ? मेरा प्रश्नहरूको केही समाधान अनुपले नै गरिदिए । उनी स्वयम् केही महिना पहिले आश्रममा एक हप्तासम्म त्यहाँकै भेषभूषा लगाएर स्वलपाहार गरेर बसेका रहेछन् । भौतिकवादी सुख सुविधा सबै सुलभ अस्ट्रेलियाजस्तो पश्चिमेली सभ्यता अँगालेको समाजमा युवा वर्गमा अत्यधिक मदिरा सेवन, गलत खानपान र जीवनशैलीको नकारात्मक प्रभाव परेका व्यक्तिहरू धेरै कुलतबाट मुक्त भई सुधारिएको जीवन अँगाल्ने अठोटसाथ यस्तो वानप्रस्थ आश्रममा सहभागी हुँदारहेछन् । यस्तो आश्रमले तोकेको रकम तिरेरमात्र त्यहाँ प्रवेश पाइन्छ । आश्रममा प्रवेश गर्ने व्यक्तिले त्यहाँ रहँदा सादा र स्वच्छ निरामिसी खानपान, ध्यान योग साधना तथा भजन कीर्तनमा भाग लिनुपर्ने नियम रहेछ ।
ध्यान र योगका साथै अहङ्कारबाट छुट्कारा पाउन दिनको केही समय आश्रमवासीहरूले शारीरिक श्रम गर्नुपर्ने नियम रहेछ । जस्तो कङ्गारु तथा जङ्गली जनावरले चउरमा छाडेको बिस्टा सोहोर्ने, सरसफाइ गर्ने, भाडा सफा गर्ने आदि सेवाका काम नित्य गर्नुपर्दछ । एउटा योगीले वानप्रस्थ आश्रममा गर्नुपर्ने आध्यामिकका साथै शारीरिक शुद्धिका श्रमदान पनि गरेपछि आश्रमबाट बिदा हुँदा धेरै सहभागीहरूको दिनचर्या, खानपान र व्यवहारमा आमूल परिवर्तन आउने गरेको सुन्न पाइयो । गलत सामाजिक दुव्र्यसनबाट युवावर्गमा पाइने दुष्परिणामहरूलाई निरुत्साहन गर्न यस्ता वैदिक आश्रमहरूको राम्रो भूमिका हुने यथार्थलाई स्थानीय सरकारले पनि आत्मसात् गरेको हुनुपर्दछ । यस्ता आश्रमको स्थानीय समुदायमा पनि अनुकूल प्रभाव परेको प्रतीत हुन्छ ।
अस्ट्रेलिया संवैधानिक राजतन्त्र मान्ने लोकतन्त्र हो । यसको संविधानले नागरिकलाई पूर्ण धार्मिक स्वतन्त्रताको प्रत्याभूति गरेको छ । इसाई बाहुल्य मुलुक भए पनि अरू धर्म मान्ने सम्प्रदाय पनि प्रशस्तै छन् । प्रमुख नगरहरूमा हिन्दु, बौद्ध, इस्लाम, यहुदी, शैव, वैष्णव, शिख समुदायबीच चन्दा उठाएर मन्दिरहरू बनाएका छन् । यस्ता काममा राज्यले पक्ष वा विपक्षको काम गर्दैन । सन् २०१६ को तथ्याङ्कअनुसार अघिको ७६ प्रतिशतबाट इसाई धर्म मान्नेहरूको सङ्ख्या ५२ प्रतिशतमा झरेको छ । तथ्याङ्कअनुसार कुनै धर्ममा आस्था नराख्नेहरूको सङ्ख्या बढेर कुल जनसङ्ख्याको एकतिहाइ पुगेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना