बढी यात्रु बोक्ने १३ चालकमाथि सार्वजनिक मुद्दा पक्राउको विरोधमा यातायात वन्द

सुर्खेत, मंसिर २५ गते । सिट संख्या भन्दा बढी यात्रु बोकेको आरोपमा सुर्खेतमा १३ जना चालकमाथि सार्वजनिक मुद्दा लगाइएको छ । मंगलवार र बुधवार छड्के चेकको क्रममा सुर्खेतबाट संचालन हुने बस र जीपहरुले सिट संख्याभन्दा बढी यात्रु बोकेको भन्दै गाडी तथा चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएका मध्ये १३ जनालाई सार्वजनिक मुद्दा लगाइएपछि यातायात मजदुरहरुले विहीवारदेखि सुर्खेतमा अनिश्चितकालीन यातायात वन्द गराएका छन् । यातायात वन्दले 

सुर्खेतमा सावर्जनिक सवारी साधनहरु ठप्प भएको छ । नेपाल यातायात मजदुर संघले प्रहरीले नियन्त्रणमा लिएका सवै चालक तथा सहचालकलाई विना शर्त रिहा नगरे बन्दलाई निरन्तरता दिने चेतावनी दिएको छ । संघका राष्ट्रिय उपाध्यक्ष गोपालकृष्ण गिरीले सिट बरावर यात्रु वोकेर हिंडेको सवारी साधनलाई यात्रुहरुले बाटोमा रोकेर जवर्जस्ती बसेको भन्दै प्रहरीले यात्रुहरुलाई केही नगर्ने तर चालक र सहचालकलाई मात्रै कारबाही गर्ने भनी प्रश्न गर्नुभयो । आफूहरुले कानुनको पालना गर्ने भन्दै उहाँले सवैको गल्ती यातायात मजदुरलाई मात्र दिइएकोमा आपत्ति जनाउनुभयो । मजदुरहरुले सार्वजनिक अपराध नगरेको भन्दै
तत्काल रिहा नगरे आन्दोलनलाई कडा रुप दिने चेतावनी समेत उहाँले दिनुभयो । सुर्खेतमा सुरु भएको आन्दोलन देशभर बनाउने उहाँको भनाइ छ । संघका सुर्खेत अध्यक्ष गणेश थापाले प्रहरी प्रशासनको ज्यादति मजदुरहरुले नसहने चेतावनी दिनुभयो । १० जना अट्ने क्षमता भएको जिप्रकाको हिरासतमा मजदुरहरुलाई कोचेर राखिएकोमा आपत्ति जनाउँदै उहाँले सार्वजनिक मुद्दा लगाइएका मजदुरहरुको अबिलम्ब रिहा हुनुपर्ने जनाउनुभयो । दुर्घटनामा यातायात मजदुरसहित समिति, प्रहरी प्रशासन, यात्रुलगायत सवैको बराबर दोष हुनेभएपनि मजदुरहरुलाई मात्रै सजायको भागिदार बनाउन नहुने उहाँको भनाइ छ । यता सुर्खेतका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नियन्त्रणमा लिएका गाडी चालक तथा सहचालकलाई सात दिन म्याद थप थपेर जिल्ला प्रशासनमा मुद्दा दर्ता गरी कानुन अनुसार कारबाही प्रक्रिया थालिसकेको बताउनुभयो । उहाँले बसको क्षमता भन्दा वढी यात्रु वोकेका कारण सुर्खेत र जाजरकोटमा वस दुर्घटना भएपछि प्रहरीले चेकजाँचलाई कडाइ गरिएको बताउनुभयो । सुरुमा प्रहरीले ६१ जनालाई पक्राउ गरेपनि प्रहरीमाथि अपशव्द र गालीगलौज गर्ने १३ जनालाई मात्रै सार्वजनिक मुद्दा लगाइएको प्रहरीले जनाएको छ । दुर्घटना रोक्नका लागि प्रहरीले बसहरुमा छड्के जाँचसमेत गरेको छ । सुर्खेतमा
यातायात वन्द भएपछि यात्रुहरु समस्यामा परेका छन् । बाहिर जाने र आउने यात्रुहरु वसपार्कमा अलपत्र परेका छन् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना