• १२ वैशाख २०८१, बुधबार

काम नगर्ने निर्माण कम्पनीको ठेक्का रद्ध गर्ने मन्त्री ज्वालाको चेतावनी

blog

मंगलबार प्रतिनिधिसभा बैठकमा बाेल्नुहुँदै भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला ।

काठमाडौं, वैशाख १२ गते । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले समयमै गुणस्तरीय काम नगर्ने निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्ध गर्ने चेतावनी दिनुभएको छ ।

मंगलबार प्रतिनिधि सभा बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा उहाँले सो कुरा बताउनुभएको हो । उहाँले विकास परियोजनाको कामलाई बेवारिसे बनाउने, समयमै गुणस्तरीय काम सम्पन्न नगर्ने निर्माण कम्पनीसँग ठेक्का सम्झौता तोडेर नयाँ विकल्पमा जान सरकार तयार रहेको बताउनुभयो । 

मन्त्री ज्वालाले विकास आयोजनाको कामलाई अस्तव्यस्त बनाउने अवस्थाबाट मुक्त गराउन आफूले सम्बन्धित पक्षलाई सचेत गराएको पनि संसद्लाई जानकारी गराउनुभयो । 

उहाँले भन्नुभयो, ‘‘समयमा काम गर्नुपर्ने र त्यो पनि गुणस्तरीय काम गर्न निम्ति हामीले जुन खालको निर्देशन दिएका छौँ । जुन किसिमले प्रयास गरेका छौँ । समयमा काम सम्पन्न नगर्ने, ठेक्का लिने र ती ठेक्का अस्तव्यस्त बनाउने, बेवारिसे बनाउने खालको अवस्थाबाट ती योजनालाई मुक्त गराउनका निम्ति ती ठेक्का तोड्नका निम्ति पनि हामी तयार छौँ । ती ठेक्का तोडिएपछि नयाँ विकल्पमा जानुपर्ने अवस्था पनि सिर्जन हुनसक्छ । त्यसका निम्ति पनि मन्त्रालय तयार रहेको कुरा म यहाँहरूको बीचमा अनुरोध गर्न चाहन्छु ।’’

मन्त्री ज्वालाले राष्ट्रिय गौरवका आयोजना निर्माणको काममा तीव्रता दिन पनि सम्बन्धित सबै पक्षलाई निर्देशन दिइएको जानकारी गराउनुभएको छ ।