• १३ वैशाख २०८१, बिहिबार

तानसेन बाँसटारीमा निर्माण भयो ट्रायल सेन्टर

blog

तानसेनको बाँसटारीमा निर्माण सम्पन्न भएको ट्रायल सेन्टर । तस्बिर : रेखीराम राना

रेखीराम राना

पाल्पा, वैशाख १२ गते । तानसेनको बाँसटारीमा ‘ट्रायल सेन्टर’ निर्माण भएको छ । पाल्पासहित छिमेकी जिल्लाका नागरिकलाई साना सवारीसाधनको लाइसेन्स दिन ‘ट्रायल सेन्टर’ सुचारु गरिएको हो ।  गत वर्ष २०७८ चैतदेखि निर्माण सुरु भएको ट्रायल सेन्टरको काम तोकिएको समयभन्दा छ महिना ढिला सम्पन्न भएको हो ।

गत २०७९ कात्तिक मसान्तभित्र काम सक्नेगरी अभि कन्स्ट्रक्सन रामपुर पाल्पासँग सम्झौता भएको थियो । ठेकेदारका कारणले ६ महिना ढिला गरी ‘ट्रायल सेन्टर’ निर्माण सम्पन्न भएको यातायात व्यवस्था कार्यालय तानसेनका प्रमुख केशव सुनारले जानकारी दिनुभयो । 

लुम्बिनी प्रदेश सरकारको ३४ लाख ७७ हजार लागतमा ट्रायल सेन्टर निर्माण भएको सुनारले जानकारी दिनुभयो । “निर्माण व्यवसायीले ट्रायल सेन्टरको काम सकेको जनाएको छ, अब कार्यालयलाई हस्तान्तरण गर्न बाँकी छ” उहाँले भन्नुभयो ।  

ट्रायल सेन्टरको निर्माण सम्पन्न भएपछि आगामी २०८० वैशाख महिनाभित्रै लाइसेन्स दिने प्रक्रिया सुरु हुने कार्यालयले जनाएको छ । हालका लागि दुई पाङ्ग्रे सवारीसाधनको लाइसेन्स दिने तयार भइरहेको कार्यालय प्रमुख सुनारले बताउनुभयो ।  

हाल ट्रायल सेन्टर बनेको स्थानमा १९ रोपनी जग्गा यातायात कार्यालयको भवन तथा अन्य संरचना बनाउन जग्गाको समेत व्यवस्था गरिएको तानसेन –७ का वडाअध्यक्ष प्रदीप खनालले बताउनुभयो । ट्रायल सेन्टर सञ्चालनपछि प्रत्यक्ष रूपमा पहाडी जिल्ला पाल्पा, गुल्मी, स्याङ्जाको केही भाग र अर्घाखाँचीका सेवाग्राहीसहित देशभरका नागरिकले समेत लाइसेन्स लिनसक्ने उहाँले बताउनुभयो । 

यसअघि साना सवारीसाधनको लाइसेन्सको ट्रायल दिन दुई–तीन दिन लगाएर बुटवल, काठमाडौँ, नेपालगन्ज लगायतका स्थानमा धाउनुपर्ने बाध्यता थियो । ट्रायल सेन्टरको निर्माणले अन्त गएर खर्च गर्नुपर्ने समय र पैसाको बचत भएको स्थानीय बासिन्दाको भनाइ छ ।