• ८ वैशाख २०८१, शनिबार

गत वर्ष १० हजार बढीमा औलो पुष्टि

blog

काठमाडौं, वैशाख १२ गते । नेपालमा आर्थिक वर्ष २०७८/७९ मा ४५३ जना आयातीत औलोका बिरामी पुष्टि भएका छन् । औलो दिवसको अवसरमा स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले एक कार्यक्रम गर्दै सो तथ्याङ्क सार्वजनिक गरेको हो । 

महाशाखाअन्तर्गतको किटजन्य रोग नियन्त्रण शाखाका प्रमुख डा.गोर्कण दाहालले आर्थिक वर्ष २०७८/७९ मा नेपालमा १० हजार १४० जनामा औलो सङ्क्रमण पुष्टि भएको जानकारी  दिनुभयो । जसमध्ये ४५३ जना आयातीत औलोका बिरामी रहेका थिए ।

डा.दाहालका अनुसार आयातीतमध्ये ८५ प्रतिशत बिरामी छिमेकी देश भारतबाट आएको रहेका छन् । बाँकी १५ प्रतिशत अफ्रिकी देशबाट फर्किका रहेको डा. दाहालले जानकारी दिनुभयो ।

सन् २०२२ को औलोको सुक्ष्म स्तरीकरणको आधारमा उच्च जोखिममा आठ जिल्लाका नौ पालिकाअन्तर्गतका १४ वटा वडा रहेका छन् ।

यसैगरी, मध्यम जोखिममा १० जिल्लाका २४ पालिकाअन्तर्गतका ३९ वटा वडा रहेका छन् । त्यस्तै, कम जोखिम ६७ जिल्लाका ४१४ पालिकाअन्तर्गतका दुई हजार ३१८ वटा वडामा बसोबास गर्ने एक करोड एक लाख ४० हजार ४५० जनसङ्ख्या औलोको जोखिममा रहेका छन् ।

सरकारले सन् २०२५ सम्म औलोलाई शून्यमा झार्ने लक्ष्य लिएको छ । औलोलाई शून्यमा झार्न विभिन्न नवीनतम तथा प्रभावकारी कार्यक्रमहरुमा लगानी बढाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।  “शून्य औलो अबको थालनी, नवीनतम कार्य, कार्यान्ययनमा लगानी” भन्ने नाराका साथ देशभरी विभिन्न कार्यक्रम गर्दै दिवस औलो दिवस मनाइँदै छ ।

डा. दाहालका अनुसार औलो रोग सङ्क्रमित एनोफिलिज जातको पोथी लामखुट्टेको टोकाईबाट सर्दछ ।  नेपालमा मुख्यतय औलोका दुई किसिमका परजीविहरु प्लाज्मोडियम फल्सिपारम र प्लाज्मोडियम भाइभेक्स पाइने गरेको छ । यीमध्ये प्लाज्मोडियम फल्सिपारमले गराउने औलो रोग बढी जटिल र जोखिमयुक्त हुन्छ ।

चिकित्सकका अनुसार थकाई लाग्नु, वाकवाकी लाग्नु, जिउ दुख्नु, वान्ता हुनु, ज्वरो आउनु, अत्याधिक जाडो हुनु, टाउको दुख्नु थकाई लाग्नु औलोका मुख्य लक्षण हुन् ।  

यसबाट बच्न सधैँ झुल टाँगेर सुत्ने, खेतवारीका काम गर्दा लामो बाहुला भएक लुगा लगाउने, घरको झ्याल ढोकामा जाली हाल्ने, सम्भव भएसम्म लामखुट्टे भगाउने धूप वा मलमको प्रयोग गर्ने चिकित्सकको सुझाव छ ।

औलोबाट विशेषगरी गर्भवती महिला तथा पाँच वर्ष मुनिका बालबालिकाहरु बढी जोखिममा रहने गर्दछन् । लामखुट्टेको टोकाईबाट बच्नुनै औलाबाट रोकथामको उत्तम उपाय हो ।

Author
सिर्जना खत्री

उहाँ स्वास्थ्य विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।