• १२ वैशाख २०८१, बुधबार

कांग्रेस संसदीय दलको बैठक

बजेटमा उत्पादन वृद्धि, रोजगार र कृषि प्राथमिकतामा

blog

फाइल तस्बिर

गोरखापत्र अनलाइन

काठमाडौं, वैशाख १२ गते । नेपाली कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले आगामी बजेटमा शिक्षा, स्वास्थ्य, रोजगारी, पिछडिएका वर्ग, समुदाय र स्थान केन्द्रित कार्यक्रमलाई प्राथमिकता दिनुपर्ने सुझाव दिएका छन् ।

मंगलबार बसेको संसदीय दलको बैठकमा सांसदहरूले सो सुझाव दिनुभएको हो । अर्थमन्त्री डा.प्रकाशशरण महतलाई जनतामुखी बजेट निर्माण गर्न सुझाव सांसदहरूले दिनुभयो । बैठकपछि पत्रकारसँग कुरा गर्दै प्रमुख सचेतक रमेश लेखकले बैठक आगामी वर्षको बजेट निर्माण प्रक्रियामा केन्द्रित भएको बताउनुभयो । 

सानो पुँजीबाट पनि जनतामुखी कार्यक्रम र योजना ल्याउने विषयमा छलफल भएको उहाँले बताउनुभयो । बजेटको सिद्धान्त, प्राथमिकता र आधारका बारेमा सांसदहरूले आफ्नो राय दिएको र पछिपरेका समुदाय, वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्ने अधिकांश सांसदहरूले माग राखेको बताउनुभयो । 

उहाँले महिला, आदिवासी, जनजाति दलित, पिछडिएको क्षेत्र, वर्ग, युवालगायतका क्षेत्रमा बजेट केन्द्रित हुनुपर्ने सांसदले सुझाव दिएका छन् । बैठकमा अर्थमन्त्री महतले जनमुखी बजेट ल्याउने र रोजगार, शिक्षा, स्वास्थ्य, पूर्वाधार, उत्पादन वृद्धि र बजार बिस्तारमा सहज हुनेगरी बजेट निर्माण गर्ने प्रतिबद्धता जनाउनुभएको पनि प्रमुख सचेतक लेखकले बताउनुभयो । 

त्यस्तै, कांग्रेस सांसद राजन केसीले बैठकमा आम नागरिकका आधारभूत अधिकार शिक्षा, स्वास्थ्य, पूर्वाधारमा विशेष ध्यान दिने गरी बजेट निर्माण गर्न सुझाव दिएको बताउनुभयो । उहाँले पूर्वाधारको क्षेत्रमा पनि नागरिकको चाहनाअनुसारको बजेट निर्माण गर्न सक्नुपर्ने सुझाव आएको बताउनुभयो । 

सांसद केसीले देशको आर्थिक अवस्था कमजोर भए पनि जनमुखी बजेट निर्माण गर्न सुझाव दिएको बताउनुभयो । उहाँले मुलुकमै रोजगारी सिर्जना गर्न, मुलुकको उत्पादन वृद्धि र उत्पादनलाई बजारसम्म लैजाने वातावरण हुने ग्यारेन्टीसहितको बजेट निर्माण हुनुपर्ने माग आएको बताउनुभयो ।