• १२ वैशाख २०८१, बुधबार

पुस्तकालयको उचित व्यवस्थापनका लागि कानुन बनाउन माग

blog

प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै नेकपा (एमाले)का सांसद ठाकुरप्रसाद गैरे । तस्बिर : केशब गुरुङ

काठमाडौं, वैशाख १२ गते । नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले पुराना पुस्तकालयहरूको संरक्षण र नयाँ पुस्तकालय खोल्नका लागि आवश्यक कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा शून्य समयमा बोल्नुहुँदै सांसद गैरेले कानुनको अभावमा पुस्तकालयहरूले समस्या भोगिरहनु परेको उल्लेख गर्नुहुँदै त्यसको उचित व्यवस्थापनका लागि तत्काल आवश्यक कानुन बनाउन सरकारसँग माग गर्नु भएको हो ।

सांसद गैरेले पुस्तकालयको उचित व्यवस्थापनका लागि कानुन बनाउने गरी तत्काल संसदमा विधेयक पेस गर्न पनि सरकारलाई सचेत गराउनुभयो ।

‘‘यो सार्वजनिक पुस्तकालय सञ्चालन सम्बन्धी नियम, कानुन, ऐन नहुँदा पुस्तकालयहरूले भोग्नु परेको समस्या एकातिर छ भने पुस्तकालयको अभावले पढ्ने बानी पनि समाप्त हुँदैछ । र पुस्तकहरू पनि हराउँदै गइरहेका छन् । पुस्तक प्राप्त गर्न पनि छोडिएको छ ।,’’ सांसद गैरेले भन्नुभयो, भन्नुभयो, ‘‘त्यसकारण यो पुराना सार्वजनिक पुस्तकालयहरूलाई संरक्षण गर्न तत्काल कानुन बनाउन र नयाँ पुस्तकालयहरू खोल्नका लागि ती सबै पुस्तकालयहरूको सञ्चालनको, व्यवस्थापनको विषयमा अगाडि बढ्नका लागि तत्काल ऐन सदनमा प्रस्तुत गरेर व्यवस्थित गर्नेतर्फ म सरकारको ध्यानाकर्षण गर्न चाहन्छु ।’’

सांसद गैरेले पुस्तक पढ्ने संस्कृति नै हराउन लागि रहेका बेला सरकारले पुस्तकालयको व्यवस्थापनमा ध्यान दिनुपर्ने पनि बताउनुभयो ।