कृषक र प्रविधि

अच्युत आचार्य

 

नेपालमा हाल ‘कृषिनिर्भर’ जनसङ्ख्या लगभग ६५ प्रतिशत छ । इजरायलमा कृषिनिहित जनसङ्ख्या एक दशमलव सात प्रतिशत छ । तुलनामा गर्दा लगभग ६५ गुणा बढी कृषक भएको देशमा इजरायलभन्दा ६५ गुणा कम उत्पादन किन भयो ? उत्तर आउँछ– प्रविधि । नेपालमा प्रविधिको विकास हुन सकेको छैन । सरकारी एवम् गैरसरकारी अनुदान हुनेहरूका लागि मात्र जस्तो देखिन्छ । अधिकांश निम्नवर्गीय किसान भएको देशमा सरकार एवम् गैरसरकारी संस्थाहरूले ठूला किसानका लागि मात्रै उपयुक्त कार्यक्रमहरू ल्याउने गरेका छन् ।
साना अनुदानका लागि पनि अयोग्य ठहरिने नेपाली कृषकले प्रविधिका बारेमा सोच्न भ्याउलान् र ? बेला–मौकामा आउने अनुदानका कार्यक्रमले नेपालका साना तथा मझौला किसानहरूको उन्नति हुन सकेको छैन, न त देशको उन्नति नै । थोरै मात्रामा रहेका ठूला व्यापारीहरूलाई सुहाउने कार्यक्रम ल्याएर देशको कृषिको उन्नति होला ? देशको कृषि विकास गर्ने हो भने साना किसानलाई सुहाउने, सुविधा लिन सजिलो हुने कार्यक्रमहरू ल्याउनुपर्छ । वैदेशिक प्रविधिको प्रयोग साना किसानले पनि सिक्नुपर्छ । साना किसानलाई उपयुक्त प्रविधि भिœयाउन सकिन्न र ?
देशमा कृषि कलेज खुलेको धेरै भयो । हजारौँ कृषि प्राविधिकहरू उत्पादन भए तर दुर्भाग्य अझ पनि हामीलाई दक्ष प्राविधिकको खाँचो छ । दूध दुहुने मेसिन, रबरम्याट, ह्याचरी मेसिन तथा अरू अत्याधुनिक मेसिन भित्रिएको जुग भयो तैपनि बहुसङ्ख्यक किसानहरू अनभिज्ञ नै छन् । तैपनि हामी भाषण र लेखमा भने कृषि र प्रविधिको नारालाई नै अगाडि राख्छौँ । नेपाल कृषिप्रधान देश भन्दै बजेट विनियोजन हुने गरेको यति लामो समयसम्म पनि कृषिले उन्नति हासिल गर्न सकेको छैन । बजेटको अधिक अंश चुहावट भइरहेको छ । ‘कृषि शिक्षा, कृषि अनुसन्धान र कृषि विस्तार’ कृषि विकासका परिसूचक हुन् । नेपालमा गरिएको कृषि क्षेत्रको लगानी केवल कृषि शिक्षामा भएको पाइन्छ । कृषि अनुसन्धान संस्था, अनुसन्धानकर्मी, कृषि विस्तार सम्बन्धित दक्ष जनशक्तिले कृषिमा विनियोजित बजेट पाउन सकेका छैनन् । किताबी कोरा ज्ञानमा मात्र सीमित शिक्षा प्रणालीमा बजेटको अधिक खर्च भएको छ । जिल्ला कृषि कार्यालय, विश्वविद्यालय, अनुसन्धान केन्द्रहरूबीच समन्वय पाइन्न । १० वर्षे प्रधानमन्त्री आधुनिकीकरण परियोजना, २० वर्षे कृषि विकास रणनीति २०१५–२०३५, कृषि तथा पशु पक्षी विकास मन्त्रालयका प्रतिबद्धताहरू
(२०७२) ले आशा भने पक्कै जगाएको छ ।
पछिल्ला वर्षहरूमा कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थी सम्मिलित प्रधानमन्त्री आधुनिकीकरण परियोजनाले देशको कृषि क्षेत्रको लक्ष्य पूर्तिमा थप टेवा पु¥याएको छ । केही गैरसरकारी संस्थाले प्रविधि भिœयाए पनि किन्ने क्षमता नहुँदा किसान प्रविधिबाट लाभान्वित हुन पाएका छैनन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण योजनाको दस्तावेजमा कृषि उत्पादन सामग्री, उत्पादन प्रविधि र प्रशोधन प्रविधिहरूमा जोड दिइएको छ ।
सार्वजनिक वा बजारमुखी निजी प्रविधिहरूलाई समान रूपमा प्रोत्साहन गर्दै कृषि प्रविधि र पूर्वाधारहरूको आधुनिकीकरणमार्फत आवश्यक प्रविधिहरू विकास गरी उन्नत आधुनिक कृषि प्रविधिहरूमा कृषकको पहुँच वृद्धि गरिने लक्ष्य साह्रै नै स्वागतयोग्य छ ।
निर्वाहमुखी जीवनका लागि गरिने कृषिले देशको आर्थिक विकासमा टेवा पु¥याएको छैन तसर्थ प्राविधिक विकास अहिलेको नेपालको कृषि विकासका लागि अपरिहार्य छ । नेपाली किसानका लागि उचित, विकसित एवम् नाफामुखी कृषि प्रणाली अँगालेमा देश र किसानको आर्थिक स्थिति बलियो हुने देखिन्छ । श्रमशक्तिलाई प्रविधिले पछ्याउने हो भने उत्पादन बढी हुन गई देश विकासमा टेवा पुग्छ ।
कृषि नीति नियम बनाउँदा ओहदामा बसेर भत्ता खानेहरू, ठूला भाषण गर्नेहरू हैन, पढ्दै गरेको विद्यार्थी, खन्दै गरेको किसान, लड्दै गरेको मजदुर र खोज अनुसन्धान गर्दै गरेको वैज्ञानिकलाई समेट्ने हो भने हाम्रो देशले उन्नति गर्नेछ र ‘कृषक र प्रविधि’ शब्द प्रयोग गर्न सुहाउनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds