• ७ वैशाख २०८१, शुक्रबार

सात लाखभन्दा बढी नक्कली नोटसहित महिला पक्राउ

blog

सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित पक्राउ पर्नुभएको धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साह । तस्बिर : न्यूज एजेन्सी

जनकपुरधाम, वैशाख १२ गते । धनुषा प्रहरीले सात लाखभन्दा बढीको नक्कली नोटसहित एक महिलालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

सात लाख ७१ हजार पाँच सय बराबरको नक्कली नोटसहित धनुषाको विदेह नगरपालिका–६ की अनुकुमारी साहलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको हो । अनुकुमारीको साथबाट एक हजारको नक्कली नोट ४९२ थान र पाँच सयको नक्कली नोट ५५९ थान बरामद गरिएको छ ।

जनकपुरधामस्थित जिरोमाइलबाट खटिएको गस्ती टोलीले २५ वर्षीया अनुकुमारीको झोला तलासी गर्दा नक्कली नोट बरामद गरेको हो ।

महिलाले कालो रङ्गको झोला बोकेर यताउति हिँड्दै गरेको देखेपछि प्रहरीले चेकजाँच गर्दा नक्कली नोट बरामद गरेको हो । प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले निज महिलाको खल्तीबाट नेपाली १० हजार पाँच सय, भारतीय १६० समेत बरामद गरेको बताउनु भयो ।

उहाँले उक्त नक्कली नोट एक लाख बराबर सात लाख सटही गरी ल्याएको निज महिलाले सोधपुछका क्रममा बोलेको पनि बताउनुभयो ।निज महिलासँगको सोधपुछपछि थप संलग्नता रहेकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ । अहिलेसम्म थप एक जनालाई पक्राउ गरिएको बताइएको छ ।