• १२ वैशाख २०८१, बुधबार

तानसेन डबलीमा उम्रियो झार

blog

तानसेन डबलीमा उम्रिएकाे झार । तस्बिर – बिन्दु थापा

बिन्दु थापा 

तानसेन, बैशाख १२ गते । निर्माणाधीन पाल्पाको तानसेन डबलीमा झार उम्रिएको छ । पर्यटन वन तथा वातावरण मन्त्रालय लुम्बिनी प्रदेशको आयोजनामा पाल्पाको तानसेन नगरपालिका ५ कैलाशनगरमा तानसेन डबली निर्माणाधीन अवस्थामा नै झार उम्रिएको छ ।

प्रतीक्षा कन्स्ट्रक्सन कम्पनी काठमाडाैंले ७ करोडको लगानीमा निर्माण गर्न २०७८ असार ७ गते सम्पन गर्ने गरी जिम्मा पाएको थियो । कम्पनीले २०७६ साल असार ८ गते सम्झौता गरेको भए पनि सम्झौता गरेको एक वर्ष बितिसक्दा पनि काम सम्पन्न गर्न सकेको छैन ।

पाल्पाको पर्यटन प्रवर्द्धन गर्दै यहाँका धार्मिक सांस्कृतिक जर्गेना गर्ने उद्देश्यले निर्माण गरिएको तानसेन डबलीको तत्कालीन पर्यटन वन तथा वातावरण मन्त्री लीला गिरीले शिलान्यास गर्नुभएको थियो । निर्माण कम्पनीको लापरबाही र स्थानीय निकायको बेवास्ताका कारण तानसेन डबली अहिले गाई, भैँसी चराउने राम्रो ठाउँ बनेको छ । 

तानसेन नगरपालिकाका उपप्रमुख प्रतीक्षा गाहाका अनुसार तानसेन डबली स्थानीय सरकारले लिन खोजेको भए पनि केही प्राविधिक कारणले अझै लिन नसकिएको हो । “तानसेन डबलीको जिम्मा लिएर संरक्षण गर्ने तयारी रहेको छ, स्थानीय सरकारलाई स्वामित्व हस्तान्तरण गर्ने तयारीमा रहेको र नगरपालिकाले छिट्टै यसको जिम्मा लिनेछ ।” 

तानसेन नगरपालिकाका सूचना अधिकारी भरत आचार्यले तानसेन डबलीमा नगरपालिकाको केही प्राविधिक सहयोग रहेको बताउनुभयो ।