• ८ वैशाख २०८१, शनिबार

सुडान सङ्कट : युद्धरत पक्ष युद्धविरामका लागि सहमत

blog

खार्तुम,  वैशाख १२ गते । सुडानमा युद्धरत पक्षबीच युद्धविरामको सहमति भएको छ । संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा सुडानी सशस्त्र बल (एसएएफ) र र्‍यापिड सपोर्ट फोर्सेस (आएसएफ) ७२ घण्टा युद्धविराम गर्न सहमत भएका हुन् ।     

सोमबार मध्यरातदेखि युद्धविराम लागू भएको छ । सङ्घर्षरत दुवै पक्षले युद्धविराम पालना गर्ने प्रतिबद्धता जनाएका छन् । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केनले ४८ घण्टा लामो वार्तापछि सुडानी सेना र अर्धसैनिक र्‍यापिड सपोर्ट फोर्स आरएसएफबीच सम्झौता भएको बताउनुभएको छ ।     

यही वैशाख २ गतेदेखि प्रारम्भ भएको द्वन्द्वमा चार सयभन्दा बढीको मृत्यु भइसकेको छ । जारी युद्धका कारण हजारौँ घाइते भएका छन् भने ठूलो सङ्ख्यामा विदेशीहरू पलायन भएका छन् । यसअघिका युद्धविरामका प्रयास असफल भएका थिए ।     

राष्ट्रसङ्घीय निकायहरूले चार सय २७ जना मारिएका तथा तीन हजार सात सयभन्दा बढी घाइते भएका जनाएका छन् । युद्धमा खार्तुमस्थित इजिप्सेली दूतावासका प्रशासन सहायक एक कर्मचारीको मृत्यु भएको इजिप्टको विदेश मन्त्रालयले पुष्टि गरेको छ । उनी घरफिर्तीको प्रक्रियामा सहभागी हुन दूतावास आउँदै गरेका बेला आक्रमणमा परेका हुन् । खार्तुमका सडकमा लास यत्रतत्र छरिएका छन् ।     

आरएसएफले युद्धविरामको उद्देश्य मानवीय सङ्कट उत्पन्न हुन नदिन तथा देशवासीलार्य आवश्यक स्वास्थ्य सेवाका साथै सुरक्षित स्थानसम्मको पहुँच सुनिश्चित गर्न तथा कूटनीतिक नियोगहरूलाई खाली गर्नु हो भनेको छ । प्रतिद्वन्द्वी समूह एसएएफले पनि आरएसएफले युद्धविराम पालना गरेमा आफूले पनि त्यसलाई मान्ने बताएको छ ।     

हिंसा सुरु भएदेखि युद्धग्रस्त राजधानी खार्तुमका बासिन्दालाई घरभित्रै बस्न भनिएको छ । उनीहरू खाना र पानीको चरम अभाव झेलिरहेका छन् । बम विष्फोटले पानी आपूर्तिका पूर्वाधार क्षतविक्षत भएका छन् । सुडानीहरू नाइल नदीको पानी पिउन बाध्य भएका छन् । घोषित युद्धविरामले उनीहरूलाई सहरबाट सुरक्षित स्थानतर्फ जान सहज हुनेछ । विदेशी सरकारहरूलाई पनि आफ्ना आफ्ना कूटनीतिज्ञ र नागरिकको उद्धार गर्न सजिलो हुने बताएका छन् ।     

संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले सुडान हिंसाले देशको सम्पूर्ण क्षेत्र र छिमेकी भूभागमा निम्त्याउन विपत्तिको आगो फैलनसक्ने चेतावनी दिनुभएको छ ।     

आइतबार रातिदेखि सुडानमा इन्टरनेट सेवा अवरुद्ध भएको छ । देशबाट हजारौँ नागरिक छिमेकी देशमा पलायन भएका छन् भने करिब चार हजार विदेशीले सुडान छाडेका छन् । – (रासस /एएफपी)