• ८ वैशाख २०८१, शनिबार

आत्मीयताको उद्दाम पहार

blog

भेट भएको बखत एक दिन एक जना दिदीले भन्नुभएको थियो, “भाइ घर जाने बेलामा एक पटक जसरी भए पनि भेटेर जानु होला है !” उपत्यकाका निस्ता गल्ली चहारेर काँचा सपनामा उड्दै बाँकटे हानेको पनि निकै दिन भइसकेको थियो । धोबीको गधाजस्तै घरको न घाटको भएर हिँडिरहेको थिएँ ।

उठ् जोगी फड्कार छाला जहाँ जाला त्यहीँ खालाको नियति शिरोधार्य गर्दै हिँडेको थिएँ । घटनाको दारुण शृङ्खलाले हल्लाउनुभन्दा पनि भएका जाहान, केटाकेटीहरूलाई स्कुलको चिसो छिँडीमा थामथाम थुमथुम पार्दै अलपत्र छोडेर हिँडेको दंशले भने मन नराम्रोसँग दर्फ-याइरहेको थियो । 

भएको सिरीखुरी बाढीले चाटेर सफाचट बनाइसकेको संवेद्य अवस्थामा लट्पटिँदै हिँडेको थिएँ । 

खानको त्यति समस्या थिएन । पसले चिरपरिचित भएका र थोरै भए पनि मासिक बेतन आउने सानो जागिरको जोहो पनि थियो । रुखोसुखो उधारो, पैँचो चलेकै थियो । गृहस्थी भएको धङ्धङीले गर्दा यसो कतै ओत लाग्ने छहारी भेट्न पाए हुन्थ्यो भन्ने तिर्सना मात्र शेष थियो वासलातमा ।

खासमा कुनै आँटिलो कामको अपेक्षा लिएर राजधानी पसेको थिइनँ । गाउँमै बस्ता घरिघरि त्यही अलच्छिनी उल्कापातको अघोरी दृश्य आँखा अगाडि आइरहने र त्यसले मानसिकता हुँडलेर हत्तुहैरान पारिरहने हुनाले बाढीको सन्ताप मुसार्न सकिन्छ कि भन्ने झिनो आशा बोकेर उकालो लागेको थिएँ । 

जहाँ गए पनि मन सँगै जाने रहेछ । अनुभूति सँगै हिँड्ने रहेछ । एउटा कुरा बिर्सिन खोज्यो अर्कोले छिर्कनी लगाएर पछार्न खोजिहाल्दो रहेछ । अर्धतन्द्रामा दाह्रा किटेर दिन काट्नुभन्दा आफ्नो जे जस्तो हबिगत छ, त्यसैलाई गच्छेको टेको लगाएर तानतुन पार्न सके यसो तङ्ग्रिएर आँखा उघार्न सकिँदो हो भन्ने लागेपछि पोको पन्तुरो बाँधेर खुट्टा उचाल्न के खोजेको थिएँ झल्याँस्स दिदीलाई सम्झिएँ ।

दिदीले किन त्यसो भन्नुभएको मलाई केही थाहा थिएन । मैले किन भनेर सोध्दा पनि सोधिनँ । उहाँले केही भन्नु पनि भएन । मात्र हिँड्ने बेलामा एक पटक भेटेर जाऊ है भन्नुभएको थियो । वश त्यत्ति हो । 

गाढा आत्मीयता थियो । निष्कलङ्कित सुकिलो सम्बन्ध थियो । सङ्लो सदाशयता थियो । बेदाग अपनत्व थियो । विगतमा पनि आजन्म बिर्सन नसक्ने गुलियो गुन लगाउनु भएर द्रविभूत तुल्याउनु भएको थियो । 

राम्रो अङ्क ल्याएर स्नातकोत्तर गरे पनि माधव ढुङ्गेल सडकमा नै हुनुहुन्थ्यो । जनकपुरको सरकारी क्याम्पसमा स्नातकोत्तरकै विद्यार्थीहरूलाई पढाउनु त हुन्थ्यो तर मासिकक वेतन भने मुस्किलले हजार रुपियाँ मात्र हुन्थ्यो । पढाइ नभएको महिनामा भने त्यो पनि हुँदैनथ्यो । त्यति बेतन राशिले खान त हैन निधारम टीका लगाएर देखाउन मात्र सकिने स्थितिले घम्लङ्ग छोपेको थियो उहाँलाई । साह्रै हरिबिजोग अवस्थाबाट गुज्रिरहनुभएको थियो । त्यहाँबाट उहाँलाई टपक्क टिपेर राजधानीकै एक दुई कलेजमा काम मिलाई दिनुभयो । त्यसैको जगमा टेकेर त्यसको पाँच सात वर्षपछि उहँले गोठाटारमा तीनतले घर बनाउनुभयो ।

उहाँ मेरो ज्वाइँ हुनुहुन्थ्यो । 

त्यति ठूलो भौतिक सञ्चयनको कल्पना मैले सपनामा पनि गरेको थिइनँ । केही गर्न सक्ने मेरो सामथ्र्य पनि थिएन । ल्याकत पनि होइन । सोर्स, सिफारिसमा कतै जागिर लगाइदिनसक्ने कसैसँग परिचय पनि थिएन ।

उपकार भन्ने कुरा मान्छेले एक पटक गर्छ । 

त्यसको आल्हादकारी न्यानो पहारले थिच्तै गएको थियो मानसिक सञ्चेतना । 

 त्यसैले पनि उहाँको सुझाव हत्तपत्त उलङ्घन गर्ने आँटै गर्न सक्तिनथेँ ।

फिर्तीका लागि लिएको बसको टिकट पनि जाने हैन भनेझैँ गरी गोजीमा ठुसुक्क परेर बसेको थियो । दिदीलाई सम्झिनासाथ पहिले हानिएर गौशालाको टिकट काउन्टरमा पुगेँ र भोलिपल्टका लागि तिथि सारेँ ।

दिदीको घर चावहिलमा थियो । गौशालाबाट चावहिल त्यति टाढाको दूरी त होइन । पैदल हिँडेरै पनि आठ, दस मिनेटमा सजिलै पुग्न सक्थेँ । तर आकाश छन्द न बन्दले गड्गडाएर अहिले पोखिन्छु, तहिले पोखिन्छु भनेझैँ गरी अवधुत प्रतिद्वन्द्वीले जस्तै अवरोधको तघारो तेस्र्याएर भाँजी हाल्न कटिबद्ध भएर बाटो छेक्न लाग्दै गएझैँ गरिरहेको थियो । त्यसमा पनि दिदी व्यस्त मानिस । रुझ्दै भिज्दै घर पुगे पनि भेट हुने नहुने केही ठेगान थिएन । दुविधा लागेपछि त्यही काउन्टरबाट फोन गरेँ । 

घरमै हुनुहुँदोरहेछ । आधा घण्टाभित्र रातो पुलमा भेट्ने गरी बोलाउनुभयो ।

नभन्दै हावा हुरीको चँदुवा ओछ्याएर मुसलधारे पानी प¥यो । रुझ्दै भिज्दै रातो पुलमा त पुगेँ तर दिदीको चिनो चपेटोको गन्धसमेत कतै ठम्याउन सकिनँ । कहिले गौशालापट्टि घुच्चुक तान्दै तन्किन्थेँ । कहिले मैतीदेवीतर्फ यतै पो कतै ओत लागेर बस्नुभएको छ कि भन्दै निधारमा हातको पाली गाँसेर पसल, पसल चहार्दै, चियाउँदै अगाडि बढ्थेँ । कहिले कालोपुल ताकेर ओहोर दोहोर गर्थें । सोधखोज गर्न मसँग मोबाइल थिएन । दिदीसँग त थियो तर त्यसको नम्बर मलाई थाहा थिएन । 

ओहोर दोहोर गर्दागर्दै मुसोजस्तै चपाचुल्ल भिजी सकेको थिएँ । अब भिजिने पो हो कि भन्ने डर त भएन तर दिदीलाई नभेटिने पो हो कि भन्ने धुकचुकले भने बेजोडले गाँजेर अख्रक्क पारिरहेको थियो मानसिकता ।

केही सीप नलागेपछि घरको नम्बर याद थियो त्यहीँ फोन गरेँ । रमेश सरले फोन उठाउनुभयो । दिदी निकैअघि निक्ली सक्नुभएको हुनाले त्यतै हुने अनुमान गर्दै पुलमा नै उभिन आग्रह गर्नुभयो र यो सन्देश दिदी समक्ष पु¥याइदिने वचन दिनुभयो ।

नभन्दै फोन गरेको पाँच सात मिनटपछि दिदी पनि भिज्दै आउनुभयो । अब त दिदी भेटिनुभयो भनेर ढुक्क हुन खोज्दै थिएँ । होइन रहेछ । दिदी पनि एक जना महिलाको नाम उच्चारण गर्दै उनको घर सोद्धै हिँड्न थालेपछि म विलखबन्दमा परेँ । कतै पत्तो लगाउन नसकेपछि फोन गर्नुभयो । उताबाट जवाफी प्रतिउत्तरमा घरको लोकेसन आयो । त्यसैको काँचो धागोमा झुन्डिएर रुद्रमती मार्ग समाउँदै दक्षिणतिरको बत्तीसपुतलीको पाखो नियाल्दै उकालो लाग्यौँ ।

पानी बेजोडले दर्किरहेको थियो । दिदीसँग एउटा टिकुले छाता त थियो तर त्यो नाम मात्रको । ओढ्नलाई चाहिँ होइन कि देखाउनका लागि मात्र हुने खालको ।

छाताले ओगट्ने खालको पानी परेकै होइन । टाउको समेत जोगाउन सकिएको थिएन । भाइ निकै भिज्यो । चिसो लाग्छ होलाझैँ गरी यसो घरिघरि दिदी छाता मतर्फ पनि ढल्काउनुहुन्थ्यो । तर त्यसले कुनै भर भने दिइरहेको थिएन । हुरी र हावाको लोलीमा लोली खाप्तै पानी शिरदेखि पैतालासम्म बेलगाम बर्सिन थालेपछि दुवै निथ्रुक्क हुन पुगेका थियौँ ।

बत्तीसपुतलीको पश्चिमी सेपमा रहेछ हामीले खोजेको मान्छेको घर । घरको संरचना देख्ता लाग्थ्यो घरपटी महिला निकै सम्भ्रान्त परिवारकी हुन् अर्थात् छन् ।

तेस्रो तलामा रहेछ उनको बसोबास । उनले भित्रै बोलाइन् । भित्र छिर्न सक्ने हबिगत मेरो थिएन । चपाचुल्ल त भिजी नै सकेको थिएँ । भिजेको जिउ लिएर सोफामा बस्ने कुरो पनि भएन । उनले भित्र पस्न कर गरे पनि बाहिर ठिङ्ग उभिइरहेँ ।

उनी दिदीको विश्वासिली चेली रहिछिन् । जन्म घर दोलखातिर भएकी । आमुन्नेसामुन्ने हुनासाथ दिदीले भूमिका नबाँधी भन्नुभयो, “मैले अस्ति भनेको कुराका लागि भेट्न आएको । ऊ मेरो भाइ हो । एकै आँतको नभए पनि रगतको नाताभन्दा पनि नजिक र गाढा आत्मीय सम्बन्ध भएको ।”

दिदीको वाक्य भुइँमा खस्न नपाउँदै उनी भित्र गइन् र त्यही गतिमा पर्स हातमा लिएर बाहिर आइ पनि हालिन् । पर्स खोलिन् र त्यसबाट रु. एक हजारको एकथान नोट बढाइन् । 

पहिले त दिदीकै लेनदेनको कुरा होला भनेर निष्प्राण टुलुटुलु हेरिरहेँ । दिदीले मतर्फ इसारा गरेपछि भने छक्क परेँ । मलाई उनले आर्थिक सहयोग गर्न खोजेकी पो रहिछन् । यो कुराको सङ्केत पहिले नै पाएको भए म किमार्थ त्यहाँ जाने थिइनँ । नियतिले सुकुम्बासी बनाए पनि याचक भएर हिँड्ने कुनै नियत थिएन । दिदीप्रति आस्था थियो, श्रद्धा थियो, अपनत्व थियो, हार्दिकता थियो । यो बेग्लै कुरा हो । द्रव्य केन्द्रित भएर सम्बन्ध गाँसेको पनि थिइनँ । उहाँको मनोहारी सिर्जनादेखि प्रभावित भएर नजिकिन खोजेको थिएँ । 

मैले समाउन नमानेपछि दिदीले निकै कर गर्नुभयो र अन्त्यमा आफैँले लिएर गोजीमा घुसारिदिँदै भन्नुभयो, “लाटा ! यो कुनै दान बक्सिस होइन । तत्काल विपत्तिको भासबाट निस्कन गर्न थालिएको प्राथमिक प्रयास हो । दिदीले गर्न खोजेको सहयोगमा पनि शङ्का गर्ने ?”

किन चाउरिस् मरिच आफ्नै पीरले ! जस्तै हुन पुगेँ । 

त्यसपछि कुनै मैनाली थर भएका मान्छेलाई फोन गर्नुभयो । उनी फर्निचर व्यवसायी रहेछन् तीनकुनेका । वर्षाका कारणले गर्दा उनलाई तत्कालै भेट्न नसकेको लाचारी प्रकट गर्नुभएपछि प्रतिउत्तरमा उनले तपाईंलाई दिन मन लागेजति अहिले दिनू । भोलि बिहान कुनै कारिन्दामार्फत तपाईंको घरमा पठाइदिनेछु भन्ने शब्द मोबाइलमा आइरहेको मैले पनि सुनेँ । उनै चेलीलाई लक्षित गर्दै भन्नुभयो– “तिमीसँग दस हजार जति पैसा छ होला ? म भोलि हात पारिदिनेछु ।”

उनको पर्स हातैमा थियो । उनले केही नबोली गनेर दिइन् । त्यो रकम समाउँदै गोजीमा हालिदिनुभयो र आफ्नो ब्याग खोलेर एउटा खाम पनि थमाउनुभयो । आँखाले यो किन, के हो र के छ यसमा दिदी भन्ने भाकामा सङ्केत गरेपछि उहाँले “यो दिदीले बुहारीलाई पठाएको सामान्य कोसेली हो । के छ घर पुगेपछि खोलेर हेर्दा भइहाल्छ नि !” भन्नुभयो ।

यसो खाम समाएर हेरेँ । खाम छुँदा पनि मयल लाग्लाजस्तै कञ्चन थियो । प्रेषकपटिको महलमा त्रिभुवन विश्वविद्यालय रातो मसीले लेखिएको र त्यसमाथि विश्वविद्यालय अङ्कित लोगो थियो । प्रापकको ठाउँमा भने प्रा.डा. सुधा त्रिपाठी चावहिल प्रिन्ट थियो ।

घरसम्म पु-याएर खोल्ने धैर्य गर्न सकिनँ । दिदीसँग बिदावारी भएर तल सडकमा आउनासाथ यसो कोल्टे पर्दै खोलेर हेरेको त एक्काइस हजार चानचुन भर्खरै बैङ्कबाट निकालिएर ल्याएका कट्कटाउँदा नोटहरू रहेछन् ।

सायद दिदीको महिनाभरको कमाइ होला । 

आफन्तले आफन्तको दुःखमा छाती खोलेर यति ठूलो सहयोग गर्ने साहस देखाउँदैन । कसैले देखाएको भए पनि मैले भने कतै देख्न अथवा सुन्न सकेको छैन ।

यस्तो साहस गर्ने उदारमना हृदय भएको मानिस आत्मीय नै हुन्छ । आत्मीय संचेतना सङ्लो र निष्कलङ्कित नभएको मान्छेले चाहेर पनि हत्तपत्त यस्तो साहस गर्न सक्तैन । गर्न खोज्यो भने पनि ऊ धर्मरिन्छ, काँप्छ र आफ्नै अनुरागमा हुँडलिएर कक्रिन पुग्छ ।