• १३ वैशाख २०८१, बिहिबार

पुल बनेपछि हट्यो जोखिम

blog

बागलुङ समाचारदाता 

बागलुङ, वैशाख १२ गते । बागलुङ नगरपालिका–९, तित्याङ र १० भकुन्डेको सीमा क्षेत्रमा रहेको रिट्ठे खोलामाथि झोलुङ्गे पुल निर्माण गरिएको छ। नेपाल सरकार र बागलुङ नगरपालिकाको ५३ लाख रुपियाँ लगानीमा पुल निर्माण गरिएको हो। बर्खामा खोला निकै बढेका बेला एक्लै वारपार गर्न कठिन हुन्थ्यो। 

बाध्यताले उक्त खोलाको बाटो प्रयोग गर्नुपर्ने अवस्थामा दुई/चार जनाको सहारा लिएर खोला पार गर्नुपर्ने बाध्यता थियो। पुल निर्माण भएसँगै बर्खाको समयमा हुने जोखिमपूर्ण यात्राको समस्या हटेको छ। खोल्सा–खोला हुँदै लामो बाटो पार गरेर हिँड्नुपर्ने बाध्यता पनि हटेको छ। “रिट्ठे खोला झोलुङ्गे पुल उपभोक्ता समितिले ५३ मिटर लामो पुल निर्माण गरेको हो,” पुल उपभोक्ता समितिका अध्यक्ष श्रीप्रसाद शर्माले भन्नुभयो, “पहिले पहिले मान्छे बगाउने समस्या थियो। अब स्थायी समाधान भएकामा खुसी छौँ।” पुल निर्माणपछि पैदल मार्ग हुँदै तित्याङको बाटो भकुन्डे जाने पर्यटकलाई सहज हुनेछ।

तित्याङ र भकुन्डेवासीलाई मेलापात गर्न, वारिपारिका गाउँमा हुने मेला महोत्सव, पर्वका बेला आउजाउ गर्न सहज हुने अध्यक्ष शर्माको भनाइ छ। स्थानीय टकिराम पौडेलले भन्नुभयो, “खोलावारि घर छ, पारि खेतीपाती, बर्खाको समयमा उर्लेर आउने खोलाले जोखिम थियो। अब एक्लै आउजाउ गर्न सक्छौँ।” पुल निर्माणको काम २०७७ साल मङ्सिरबाट सुरु भएको थियो। पुलको उद्घाटन पूर्वशिक्षामन्त्री तथा प्रतिनिधि सभा सदस्य देवेन्द्र पौडेलले गर्नुभएको छ। बागलुङमा चालु आर्थिक वर्षमा थप ३७ वटा पुल निर्माण हुने चरणमा छन्। 

देशमा देखिएको आर्थिक समस्याका कारण आगामी आर्थिक वर्षमा नयाँ ठूला योजनाको काम अघि बढ्ने सम्भावना नरहेको भन्दै पौडेलले विकासका लागि उपभोक्ता जागरुक हुनुपर्नेमा जोड दिनुभयो। शिक्षामन्त्री पौडेलले बागलुङ नगरपालिकाको सहयोगमा झप्री सामुदायिक भवन उपभोक्ता समितिले तयार गरेको भवन उद्घाटन गर्नुभएको थियो।