• ८ वैशाख २०८१, शनिबार

विद्यार्थी कम भएका विद्यालय समायोजन

blog

रेखीराम राना

पाल्पा, वैशाख १२ गते । तानसेन नगरपालिकाले नगरभित्रका विद्यालय समायोजन तथा कक्षा कटौतीको काम सुरु गरेको छ।  यो शैक्षिक सत्रदेखि लागू हुने गरी नगरपालिकाले विद्यार्थीको सङ्ख्या न्युन भएका विद्यालयहरूको समायोजन तथा कक्षा कटौतीको काम गर्न थालेको हो। 

नगरपालिकाले निश्चित मापदण्ड तयार गरेर नगरभित्रका तीनवटा विद्यालयलाई अर्को विद्यालयमा समायोजन गरेको छ। नगरपालिकाको शिक्षा शाखाका अनुसार तानसेन–१४ मा रहेको अमर प्राथमिक विद्यालय र रुरुक्षेत्र प्राविमा समायोजन गरिएको छ। यस्तै तानसेन–८ को कलङ्की प्राविलाई शारदा मावि मदनपोखरामा समायोजन गरिएको शिक्षा शाखा प्रमुख कोपिला न्यौपानेले जानकारी दिनुभयो। यस्तै तानसेन–११, को भैरव प्राथमिक विद्यालयलाई समायोजन तानसेन–५, को लक्ष्मी माविमा समायोजन गर्ने निर्णय भएको उहाँले बताउनुभयो। विद्यार्थी सङ्ख्या र भौगोलिक अवस्था हेरेर विद्यालयहरूको समायोजन गरिएको अधिकृत न्यौपानेले बताउनुभयो। तानसेन नगरपालिकाले प्रतिकक्षा पाँच जना विद्यार्थी सङ्ख्या नभएका विद्यालयलाई समायोजन गरेको उहाँले बताउनुभयो। यस्तै कक्षा कटौतीमा भने कक्षा ५ सम्म प्रतिकक्षा पाँच जना, कक्षा ६, ७ र ८ मा प्रतिकक्षा ८ र कक्षा ९, १०, ११, १२ मा प्रतिकक्षा १०–१२ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयको कक्षा कटौती गरेको नगरपालिकाले जनाएको छ। 

केही विद्यालयलाई भने भौगोलिक अवस्था हेरेर पनि समायोजन तथा कक्षा कटौती नगरिएको नगरपालिकाले जनाएको छ। यस्तै नगरपालिकाले ११ वटा विद्यालयको कक्षा कटौती गरेको छ। तानसेनभित्रका नामिकुँवा आधारभूत विद्यालयको कक्षा ६ र ७ कटौती गरिएको छ। जनहित प्राथमिक विद्यालयको कक्षा ४ र ५, बालकल्याण प्राथमिक विद्यालयको कक्षा २ र ३ जनआधारभूत विद्यालयको कक्षा ७ र ८ कटौती गरिएको छ। 

तानसेनकै चण्डिका प्राथमिक विद्यालयको कक्षा २, ३, ४ र ५, सरस्वतीनाथ प्राथमिक विद्यालयको कक्षा २ र ३, अमर भगवती आधारभूत विद्यालयको कक्षा ६, ७ र ८, बालकृष्ण प्राथमिक विद्यालयको कक्षा ४ र ५ कटौती गरिएको प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले जानकारी दिनुभयो। यस्तै कृष्ण प्राथमिक विद्यालयको कक्षा ४ र ५, अमर प्राथमिक विद्यालयको कक्षा ४ र ५, ज्ञानोदय प्राथमिक विद्यालयको कक्षा २, ३, ४ र ५ कटौतीमा परेको ज्ञवालीले बताउनुभयो। 

नगरपालिकाले विद्यालय समायोजन र कक्षा कटौती गर्दा असर पर्ने विद्यार्थीका लागि आवश्यक यातायात सुविधा तथा अन्य सुविधाका विषयमा निर्णय गर्ने जनाएको छ। विद्यालय समायोजन र कक्षा कटौतीले राज्यको अनावश्यक खर्च बचत हुने र शिक्षा क्षेत्रलाई सुधार गर्न सहयोग पुग्ने तानसेन नगरपालिकाका प्रवक्ता यादवसिंह कार्कीले बताउनुभयो। नगरपालिकाले मुख्य बजार क्षेत्रभित्रका मावि विद्यालयसमेत समायोजन गर्न आवश्यक तयारी थालेको छ।