• १६ चैत २०८०, शुक्रबार

लाइसेन्सका लागि सात कम्पनीको आवेदन

blog

काठमाडौँ, वैशाख १२ गते ।  नयाँ स्टक एक्सचेन्ज र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन सातवटा इच्छुक कम्पनीले आवेदन दिएका छन् ।

नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि तीन र वस्तु विनिमय बजार (कमोडिटी मार्केट) सञ्चालनका लागि इजाजत लिन चारवटा कम्पनीले आवेदन दिएको नेपाल धितोपत्र बोर्डले जनाएको छ ।

आवदेन दिने अन्तिम दिन आइतबार बेलुकासम्म नयाँ स्टक एक्सचेन्ज र कमोडिटी मार्केटको इजाजतपत्र लिनका लागि सातवटा कम्पनीको आवेदन दर्ता भएको बोर्डले जनाएको छ ।

नयाँ स्टक एक्सचेन्जको अनुमतिका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेन्ज लिमिटेडले आवेदन दिएको बोर्डले जनाएको छ । कमोडिटी मार्केटका लागि मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेस्ट्स एन्ड डेरिभेटिभ एक्सचेन्ज स्टक लिमिटेड, हिमालयन कमोडिटिज एन्ड डेरिभेटिभ एक्सचेन्ज र नेपाल मल्टी कमोडिटिज एक्सचेन्ज लिमिटेडको आवेदन परेको बोर्डले जनाएको छ ।

सर्वोच्च अदालतको गत चैत २६ गतेको फैसलाले नयाँ स्टक एक्सचेन्ज कम्पनी, कमोडिटी मार्केट र धितोपत्र कारोबारका लागि नयाँ दलाल व्यवसायी (ब्रोकर) लाइसेन्स जारी गर्न बोर्डलाई बाटो खुलेको थियो ।

धितोपत्र बोर्डले गत असोज २ गते नयाँ स्टक र धितोपत्र दलाल व्यापारीको अनुमतिपत्रका लागि निवदेन मागेको थियो । बोर्डको उक्त निर्णयविरुद्ध प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जसमेतलाई विपक्षी बनाई अधिवक्ता दीपकविक्रम मिश्रले गत असोज ३१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गर्नुभएको थियो तर उक्त मुद्दा सर्वोच्चको चैत २६ गतेको फैसलाले खारेज गरेपछि धितोपत्र बोर्डले चैत ३० गते सूचना जारी गर्दै वैशाख १० गतेसम्म आवेदन दिइसक्न भनेको थियो ।

धितोपत्र बजारको विकास तथा विस्तारका लागि नयाँ स्टक एक्सचेन्ज तथा कमोडिटी मार्केट खोल्न र थप ब्रोकर लाइसेन्स खुलाउन आवश्यक रहेको बोर्डले बताउँदै आएको छ । धितोपत्र बजारलाई थप प्रतिस्पर्धी, प्रभावकारी, लगानीकर्तामैत्री एवं अन्तर्राष्ट्रियस्तरको प्रविधिसहितको बनाउन पनि बजारमा नयाँ स्टक चाहिने बोर्डको भनाइ छ ।