• ६ चैत २०८०, मङ्गलबार

सिन्धुपाल्चोकमा ९३ प्रतिशत निजी आवास पुनर्निर्माण

आठ वर्षपछि पुनर्निर्माण सम्पन्न गरिँदै

blog

चित्र मिजार

सिन्धुपाल्चोक, वैशाख १२ गते । वि.सं. २०७२ वैशाख १२ को भूकम्प र त्यसपछिको परकम्पले ठूलो जनधनको क्षति पुर्‍याएको सिन्धुपाल्चोकमा आठ वर्षपछि पुनर्निर्माण सम्पन्न हुँदैछ। भूकम्पबाट पीडित भएका लाभग्राहीमध्ये ९५ प्रतिशतले सरकारी अनुदान लिएर घर बनाइसकेका छन्। 

भूकम्पबाट अति प्रभावित भएका १४ जिल्लामध्ये सबभन्दा धेरै भौतिक र मानवीय क्षति सिन्धुपाल्चोकमा भएको थियो । यहाँ तीन हजार ५७१ जनाले ज्यान गुमाएका थिए भने ८० हजार निजी आवास पूर्ण रूपमा क्षति भएको थियो। यहाँ ५४७ विद्यालय, ७५ वटा स्वास्थ्य चौकी भवनलगायत सरकारी तथा सामुदायिक भवन क्षति भएको थियो। 

भूकम्पपीडित ९० हजार ९२९ जना लाभग्राही सूचीमा समेटिएका थिए। तीमध्ये ९३ दशमलव २९ प्रतिशत पीडितले निजी आवास पुनर्निर्माण गरेका जिल्ला विपत् व्यवस्थापन समितिका सूचना व्यवस्थापन अधिकृत रविराज धितालले जानकारी दिनुभयो। 

स्थायी आवास पुनर्निर्माणका लाभग्राहीमध्ये ८९ हजार ४५१ पीडितले निजी आवास अनुदानको पहिलो किस्ता प्राप्त गरेका छन् भने तीमध्ये ८७ हजार ३९३ लाभग्राहीले दोस्रो किस्ता र ८४ हजार ८३१ पीडितले तेस्रो किस्ता प्राप्त गरेको जिल्ला विपत् व्यवस्थापन समितिले जनाएको छ। 

भूकम्पपछि सिन्धुपाल्चोकमा २८ वटा एकीकृत बस्ती पुनर्निर्माण भएका छन्। मेलम्ची नगरपालिकाको गिरानचौर, चौतारा, साँगाचोकगढी नगरपालिका–११, माझीबस्ती, इन्द्रावतीको भीमटार, हेलम्बुको तेम्बाथान, जुगल गाउँपालिका–२, सेलाङलगायतका ठाउँमा एकीकृत बस्ती निर्माण भएका छन्। यी एकीकृत बस्तीमा भूकम्पपीडित बसोबास गरिरहेका छन्। पुनर्निर्माण प्राधिकरण र विभिन्न सङ्घसंस्थाको सहकार्यमा एकीकृत बस्ती र खानेपानी, स्वास्थ्यका काम भएका छन्। 

छिटपुट रूपमा केही भूकम्पपीडितले पुनर्निर्माण गर्न भ्याएका छैनन्। उनीहरू छिटै स्थायी आवास पुनर्निर्माणमा जुट्ने भएका छन्। भूकम्पले विद्यालय, सामुदायिक भवन, स्वास्थ्य संस्था भवन, प्रहरी कार्यालय, मठमन्दिर, सम्पदालगायतका भौतिक संरचना पूर्ण रूपमा ध्वस्त भएका थिए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, राष्ट्रिय–अन्तर्राष्ट्रिय दातृ निकाय, गैरसरकारी सङ्घसंस्थालगायतका साझेदारीमा पुनर्निर्माण भएका छन्। 

वैशाख १२ गते गोरखाको बारपाकमा केन्द्रबिन्दु बनाएर आएको ७.८ म्याग्निच्युडको भूकम्प र त्यसपछिका परकम्पका कारण आठ हजार सात सय जनाको मृत्यु र २५ हजार घाइते भएका थिए। यसबाट सात अर्ब अमेरिकी डलर बराबरको क्षति भएको भूकम्पपछि गरिएको अध्ययनले जनाएको थियो।भूकम्पले चार लाख ९० हजार घर भत्काएको थियो भने दुई लाख ६५ हजार घर बस्न नमिल्ने गरी क्षति पुर्‍याएको थियो। आएको क्षति बेहोरेका कुल १० लाख ३७ हजार २९१ घरधुरीको सर्वेक्षण गरिएकोमा अतिप्रभावित १४ जिल्लामा आठ लाख ६६ हजार ६० र कम प्रभावित १८ जिल्लामा एक लाख ७१ हजार २३१ घरधुरी सर्वेक्षण गरिएको थियो। यीमध्ये आठ लाख ६६ हजार २०७ जना लाभग्राही सूचीमा परेका थिए।