• १२ वैशाख २०८१, बुधबार

ट्याक्टर दुर्घटनामा तीनको मृत्यु, दुईजना घाइते

blog

राममणि दहाल

हेटौँडा, वैशाख ११ गते । मकवानपुरको मनहरी गाउँपालिका वडा नं. ३ कालिदमारस्थित भित्री सडक–खण्डमा ट्याक्टर दुर्घटना हुँदा तीनको मृत्यु र दुईजना घाइते भएका छन् ।

कालिदमारस्थित भित्री सडक–खण्डमा मिलडाँडाबाट हाँडिखोलातर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००१ त ७१८८ नं. को ट्याक्टर सोमबार ८ः५० बजेको समयमा आफैँ अनियन्त्रित भई सडकमा पल्टिएर दुर्घटना हुँदा तीनजनाको घटना स्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याक्टरमा पाँचजना सवार रहेकोमा दुर्घटनामा परी च्यापिएको अवस्था घाइतेहरुलाई एम्बुलेन्समार्फत उपचारका हेटौँडा पठाइएको घटनास्थमा पुग्नुभएका प्रहरी नायब निरीक्षक शिव शङ्कर शर्माले जानकारी दिनुभयो । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीका अनुसार मृत्यु हुनेमा मनहरी गाउँपालिका ३ हाँडिखोलाका ३० वर्षीय वीरमान रुम्बा, सोही वडाका २४ वर्षीय राजकुमार प्रजा र वडा नं.४ स्थित सालघारीका २० वर्षीय प्रविण प्रजा रहेका छन् ।

यस्तै, दुर्घटनामा परी घाइते भएका मनहरी गाउँपालिका ३ हाँडिखोलाका वर्ष २४ का अमृत प्रजा र ठेगाना नखुलेका वर्ष ४५ को जोखलाल प्रजाको हेटौँडा उपमहानगरपालिका ११ स्थित चुलेहिल अस्पतालमा उपचार भइरहेको छ ।