• ८ वैशाख २०८१, शनिबार

भूकम्प पीडितका घरहरु बने, मान्छे बसेनन्

blog

कालिन्चोक –४ हिलेपानी घिमिरेटोलमा बनेका भूकम्प पीडितका घरहरु । तस्बिर : सुजन काफ्ले

सुजन काफ्ले      

दोलखा, वैशाख ११ गते । बिनाशकारी भुकम्प गएको आठ वर्ष पूरा भएको छ । भुकम्पले क्षतिग्रस्त घर पुनरनिर्माण पछि गाउँमा घरहरु बढे पनि मान्छे गाउँ छाडेर सहर छिर्नेक्रम बढ्दै गएको छ । २०७२ साल बैशाख १२ र २९ गते गएको विनाशकारी भुकम्पले क्षति गरेका १४ जिल्लामध्ये दोलखा पनि एक हो ।

बैशाख १२ गते गएको भुकम्पको केन्द्रबिन्दु गोरखा भए तापनि २९ गते गएको भुकम्पको केन्द्रबिन्दु भने दोलखा थियो । बैखाख १२ गतेभन्दा २९ गतेको भुकम्पले दोलखामा बढी क्षति गरेको थियो । भुकम्पले क्षति पुगेका ७३ हजारमध्ये दोलखामा ६२ हजार ५ सय ९० घर निर्माण सम्पन्न भएको सघन सहारी तथा भवन निर्माण आयोजना एसिस्टेन्ट सबइन्जिनियर रामशरण न्यौपानेले बताउनुभयो । ७० देखि ८० जनाको किस्ता पठाइसकेको र बाँकी काम प्रक्रियामा रहेको उहाँले बताउनुभयो । 

जिल्लाको कालिन्चोक गाउँपालिका –४ हिलेपानीको घिमिरेटोलका ३६ घरपरिवारमध्ये १४ घरमा मात्र मान्छे बस्ने गरेको स्थानीय रिता सुबेदिले बताउनुभयो । बाँकी २२ घर परिवारले अनुदानको घर निर्माण गरेर काठमाडौं बस्दैआएको सुबेदीको भनाइ छ । बस्तीमा खानेपानीको समस्या र बिभिन्न सुविधाको खोजीमा बसाइ सरेर सहर पस्न थालेपछि यहाँका घरहरु मानिसविहीन बनेको उहाँले बताउनुभयो ।

मानिसबिनाका घरहरु बढ्दै गएपछि गाउँ बिरानो लाग्न थालेको अर्का स्थानीय राजकुमार कार्काीले बताउनुभयो । अहिले जिल्लाका बिभिन्न गाउँका मानिसहरु रोजगारीका सिलसिलामा, वैदेशिक रोजगार र नयाँ अवसरको खोजीमा जिल्ला बाहिर गएको भुकम्प लाभग्राहीले निर्माण गरेका अधिकांश घरमा ताला लागेको छ । 

यतिबेला अनुदानबाट बनेका घरहरुको उपयोगको अवस्था के कस्तो छ भनेर खोजी गर्नुपर्ने अवस्था आएको छ । कालिन्चोक गाउँपालिका –४ का वडा अध्यक्ष दिपक खुलालले गाउँमा तीब्र रुपमा बसाइसराइ बढ्दैगएको बताउनुभयो । आफ्नो वडामा मात्र नभइ पुरै गाउँपालिकाको अवस्था उस्तै रहेको खुलालले बताउनुभयो । गाउँमा कृषि, शिक्षा सडकमा लगानी गरिए तापनि गाउँमा मान्छे बस्न छाड्दैगएको उहाँले बताउनुभयो ।