• ८ वैशाख २०८१, शनिबार

प्रधानमन्त्रीसहित शीर्ष नेताको बैठक

संसदीय समिति नेतृत्वमा भागबण्डा मिल्यो : टिआरसीका लागि विशेष समिति बन्ने

blog

सिंहदरबारमा भएको छलफलमा सहभागी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ११ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सोमबार बसेको नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताको बैठकले संसदीय समिति नेतृत्वको टुंगो लगाएको छ। 

सोमबार सिंहदरबारमा बसेको तीन दलका शीर्ष नेताको बैठकले संयुक्त संसदीय समिति संसदका दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा (एमाले)ले नेतृत्व गर्नेगरी टुंग्याएका हुन्।

 बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा नेकपा (एमाले)का प्रमुख सचेतक पदम गिरीले संसदीय सुनुवाइ समितिमा सभापति नेपाली कांग्रेसले गर्ने र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति नेकपा (एमाले)ले गर्ने सहमति भएको बताउनुभयो।

उहाँले प्रतिनिधि सभामा भएका १० विषयगत समितिमध्ये नेकपा (एमाले)ले लेखा समिति र अर्को एक समितिको सभापति पाउने सहमति भएको उहाँको भनाइ छ। 

उहाँले संवैधानिक परिषद्सम्बन्धी विधेयक संसदबाट नै टुंगो लगाउने र संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयक १५ सदस्यीय विशेष समितिमा छलफल गरेर मात्रै टुंगो लगाउने सहमति भएको बताउनुभयो। 

उहाँले संसदीय सुनुवाइ समितिमा एमालेले चार जना सदस्य पाउने सहमति भएको बताउनुभयो। उहाँले चालु अधिवेशन यही वैशाख १५ गतेसम्म चल्ने पनि बताउनुभयो।

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले संक्रमणकालीन न्यायसँग सम्बन्धित विधेयकका लागि १५ सदस्यीय विशेष समिति बनाएर छलफल गर्ने र अर्को अधिवेशनबाट पास गर्ने सहमति भएको बताउनुभयो। उहाँले चालु संसद अधिवेशन अब एक, दुई दिनमात्रै चल्ने बताउनुभयो।

त्यस्तै नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद भित्र भएका सबै राजनीतिक दलसँग आपसमा सहमतिका आधारमा नै संसद सञ्चालन गरेर अघि बढ्ने सहमति अनुसार शीर्ष दलका नेताबीच सहमति भएको बताउनुभयो। उहाँले सबै दललाई समेटेर नै विषयगत समिति पनि टुंग्याइएको बताउनुभयो।

यो पनि पढ्नुहोस

प्रमुख तीन दलका शीर्ष नेताबीच सिंहदरबारमा छलफल