• १६ चैत २०८०, शुक्रबार

रास्वपा वाग्लेको अग्रता कायमै, मतान्तर घटाउँदै भट्टराई

blog

अमरराज नहर्की

तनहुँ, वैशाख ११ गते । आइतबार सम्पन्न तनहुँ क्षेत्र नं. १ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अग्रता कायम भए पनि मन्तान्तरण घट्दै गएको छ ।

सुरुवातीमा दोब्बर बढी मतान्तर भए पनि घट्दै गएको छ । आइतबार बिहान ११ बजेसम्ममा दोब्बर बढी मतले अग्रता लिए पनि हाल घटेको हो । 

दिनको १२ः४५ बजेसम्म १९ वडाको मतपरिणाम सम्पन्न हुँदा रास्वपाका वाग्ले पाँच हजार ५८ ले अगाडि हुनुहुन्छ । २५ हजार ३६८ मत गणना हुँदा वाग्लेले १२ हजार ७०५, नेपाली कांग्रेसका गोविन्द भट्टराईले सात हजार ६४७  प्राप्त गर्नुभएको छ भने नेकपा (एमाले) का सर्वेन्द्र खनालले चार हजार २१९ मत प्राप्त गर्नुभएको छ । 

आँबुखैरेनीको ६ वटै वडाको मत गणना पूरा भएको छ भने हाल भानु नगरपालिका र देवघाट गाउँपालिकाको मतगणना भइरहेको छ । ४२ वडामध्ये १९ वडाको मत गणना पूरा भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो । तनहुँ–१ को उपनिर्वाचनमा एक लाख २३ हजार ३ सय ५ जना मतदाता भए पनि ६३ हजार ७५७ मत खसेको थियो ।

 यस निर्वाचन क्षेत्रमा व्यास नगरपालिकाको १४ वडामध्ये  ५ र ६ बाहेक १२ वडा, भानु नगरपालिका र गाउँपालिकाहरू बन्दीपुर, आँबुखैरेनी, देवघाट गाउँपालिकाका गरी पाँच पालिकाका ४२ वडा रहेका छन् ।

सदरमुकाम दमौलीस्थित जिल्ला समन्वय समितिको सभा हलमा दुई स्थानमा मतगणना भइरहेको छ । काँग्रेसको किल्लाको रूपमा रहँदै आएको तनहुँमा रास्वपाले अग्रता लिएपछि देशैभरि चर्चा भएको छ । 

यही निर्वाचन क्षेत्रबाट २०४८ सालदेखि तत्कालीन नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले ६ पटक विजयी हुनुभएको थियो । २०७४ को निर्वाचनमा भने कांग्रेस पराजित भएको छ । २०७४ को  बाहेक सबै निर्वाचन कांग्रेसले जितेको थियो । 

२०७९ को मङ्सिर ४ मा भएको निर्वाचनमा तनहुँ क्षेत्र नं. १ मा नेपाली कांग्रेसका तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेलले २५ हजार ३ सय ७१ मत ल्याइ विजयी हुनुभएको थियो । उहाँका निकटतम प्रतिद्वन्द्वी एमालेका एकबहादुर रानाले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो । 

सोही निर्वाचनमा स्वतन्त्रबाट उम्मेदवार भएका गोविन्दराज जोशीले ६ हजार ८ सय ८६ र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देलले ६ हजार ४४ मत पाउनु भएको थियो । रास्वपाका वाग्ले कांग्रेस छोडेर उम्मेदवार बन्नु भएको हो  ।