• १३ वैशाख २०८१, बिहिबार

राप्ती नदीमा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीसँग गुहार

blog

राप्तीनदीको नौ स्थानमा तटबन्ध निर्माणका लागि प्रधानमन्त्रीलाई भेटेर माग गर्दै सांसद केसी । तस्बिर : गोरखापत्र

सिराज खान 

नेपालगञ्ज, बैशाख ११ गते । बाँकेको दुर्गम मानिने राप्तीसोनारी र नरैनापुर गाउँपालिकालाई डुबानबाट जोगाउन वर्षा सुरु हुनुभन्दा पहिले नै राप्ती नदीमा अति जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण आवश्यक देखिएको छ । 

लामो समयदेखि वर्षातको समयमा राप्तीनदीमा आउने बाढीले गर्दा राप्तीसोनारी र नरैनापुरका धेरै गाउँ डुबान र कटानमा पर्दै आएको हुँदा पटक पटक प्रयास गरिए पनि तटबन्ध नबन्दा सो क्षेत्रका सयौँ बासिन्दाले डुबान र कटान झेल्दै आएका छन् । 

यस पटक वर्षा सुरु हुनुभन्दा पहिले नै राप्तीनदीमा अति नै जोखिममा रहेका नौ स्थानमा तटबन्ध निर्माण र केही भत्किएका तटबन्धको मर्मत सम्भारका लागि सो क्षेत्रका प्रदेश सांसद कृष्ण केसी नमुनाले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गुहार्नु भएको छ । 

आफ्नो क्षेत्रका जनतालाई डुबान र कटानबाट हुने क्षतिबाट जोगाउन राजधानी पुगेर प्रधानमन्त्री प्रचण्डलगायत सम्बन्धित मन्त्रालयका मन्त्री र सचिवलाई भेटेर विशेष आग्रह गरिएको बाँके क्षेत्र नम्बर १ ‘क’ का प्रदेश सांसद केसीले बताउनुभयो । 

उहाँले प्रधानमन्त्री प्रचण्डले अबको दुई महिनाभित्र तटबन्ध मर्मत सम्भार र निर्माणको कार्य पुरा गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिनुभएकाले आशा पलाएको बताउनुभयो । 

सांसद केसीले राप्ती सोनारी ७ फत्तेपुर र नरैनापुर ६ मा गत वर्ष भत्केको राप्तीको तटबन्ध मर्मत नहुँदा वर्षाको समय नजिकिँदै गर्दा स्थानीय बासिन्दा त्रसित र आक्रोशित भएको बताउनुभयो । 

उहाँले सो बारेमा जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार र गृहमन्त्रीलाई समेत भेटेर छलफल गरेको जनाउँदै प्रधानमन्त्रीको निर्देशन पुरा हुने आश्वासन दिएको बताउनुभयो । 

राप्ती नदीको विभिन्न ठाउँमा निर्माण गरिएको तटबन्धमा २०७९ असोज महिनामा आएको बाढीले ठुलो क्षति पुर्‍याएको थियो । राप्तीसोनारी गाउँपालिकाका अनुसार राप्तीसोनारी ७ मा मात्रै करिब ११ सय मिटर लामो तटबन्ध मर्मत गर्नु पर्ने देखिएको छ । 

यस्तै नरैनापुर गाउँपालिकाका अनुसार सो पालिकाको वडा नम्बर ६ मा करिब डेढ सय मिटर क्षेत्र तटबन्ध मर्मत गर्नुपर्नेछ भने दुवै पालिकामा नौ स्थानमा नयाँ तटबन्ध निर्माण गर्नु पर्ने अति आवश्यक रहेको छ । 

नरैनापुर गाउँपालिका–६, गङ्गापुर गाउँका स्थानीय अगुवा रामचन्द्र यादवले तटबन्ध भत्किएको एक वर्ष हुन लाग्दा पनि अहिलेसम्म मर्मत नगरिएकोले यस पटक वर्षामा क्षति हुने चेतावनी दिनुभयो । 

उहाँले उक्त तटबन्ध पूर्ण रूपमा भत्किएमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर –७ फत्तेपुर र नरैनापुर गाउँपालिका –६ गंगापुरका करिब १० हजार मानिसको ज्यान जोखिममा पर्ने सयौँ बिघा खेतीयोग्य जमिन नष्ट हुने बताउनुभयो ।