• १६ चैत २०८०, शुक्रबार

चितवनको मतगणना १ बजेबाट सुरु हुने

blog

सर्वदलीय बैठकपछि चितवन – २ का एमालेका उम्मेदवार रामप्रसाद न्यौपाने, काँग्रेस उम्मेदवार जीतनारायण श्रेष्ठ र रास्वपा उम्मेदवार रवि लामिछाने ।

शालिग्राम नेपाल / वसन्त पराजुली

चितवन, वैशाख ११ गते । चितवन -२ को मतगणना दिउँसो १ बजेबाट हुने भएको छ । आज बिहान बसेको सर्वदलीय बैठकमा आचारसंहिता पालना नगरेकाको अभिलेख निर्वाचन आयोग केन्द्रीय कार्यालयमा पठाउने र आवश्यक सतर्कता अपनाएर अगाडि बढ्ने सहमति भएपछि दिउँसो १ बजेबाट मतगणना हुने भएको हो । 

''सर्वदलीय बैठक बसेर आवश्यक सहमति र तयारी गरेका छौँ अब १ बजेबाट गणना कार्य सुरु हुन्छ'', मुख्य निर्वाचन अधिकृत कार्यालयका सूचना अधिकारी ईश्वर आचार्यले जानकारी दिनुभयो । ''आवश्यक सहमति भएको छ अब गणना कार्यमा हामी जुट्ने छौँ,'' नेपाली कांग्रेस जिल्ला सभापति राजेश्वर खनालले बताउनुभयो । 

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं उम्मेदवार रवि लामिछानेले आचार संहिता विपरीत कार्य गरेको भन्ने सम्बन्धमा परेको उजुरीलाई सम्बन्धित निकाय (निर्वाचन आयोग) पठाउने निर्णयसहित दलहरु मतगणना गर्ने निष्कर्षमा पुगेका हुन् । 

सहायक निर्वाचन अधिकृत इश्वर आचार्यका अनुसार सर्वदलीय बैठकले काँग्रेसले दायर गरेको उजुरी सम्बन्धित निकायमा सिफारिस गर्ने निर्णय गरेको हो ।

लामिछानेले मतदान केन्द्रहरुमा हुलहुज्जत गर्दै नाराबाजी गरेको र मतदानकै दिन पनि फेसबुकवाट मत मागेको काँग्रेसको आरोप थियो । यस सम्बन्धमा निर्वाचन कार्यालयले उम्मेदवार लामिछानेलाई स्पष्टीकरण सोधेको थियो । 

यस्तै, चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले पनि निर्वाचनका बेला लामिछानेलाई निर्वाचन आचार संहिता विपरीत सहयोग गरेको आरोप काँग्रेसको थियो । यो उजुरी पनि माथिल्लो निकायलाई सिफारिस गर्ने बैठकले निर्णय गरेको छ । 

बैठकले सामाजिक सञ्जालमा गालिगलौज गर्नेका उपर कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा लेखि पठाउने र मतगणना स्थल मुख्य निर्वाचन अधिकृतको अधिनमा रहने पनि बैठकले निर्णय गरेको छ । 

आइतबार सम्पन्न चितवन – २ को उपनिर्वाचनमा ६३ प्रतिशत मत अर्थात ७८ हजार २७७ खसेको छ ।