• १६ चैत २०८०, शुक्रबार

रास्वपा अध्यक्ष लामिछानेलाई स्पष्टीकरण सोधियो

blog

भरतपुर, वैशाख ११ गते । आइतबार सम्पन्न मतदानका क्रममा निर्वाचन आचार संहिता उल्लङ्घन गरेको सम्बन्धमा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवम् चितवन दुईका उम्मेदवार रवि लामिछानेलाई निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ । 

नेपाली कांग्रेस चितवनले लामिछाने सहित प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका विरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको भन्दै निर्वाचन कार्यालयमा उजुरी दिएपछि कार्यालयले लामिछानेलाई स्पष्टीकरण  सोधेको हो । 

निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले आइतबार अबेर स्पष्टीकरण सोधिएको र आज त्यसको जवाफ आउने बताउनुभयो । “निर्वाचन आचारसंहिता उल्लङ्घनको अवस्था के हो भनेर हामीले स्पष्टीकरण  सोधेका छौ”, आचार्यले भन्नुभयो । 

निर्वाचन भई राखेको समयमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उम्मेदवार रवि लामिछानेले फेसबुक लाइभमार्फत मत मागेको, मतदान स्थलमा हूल हुज्जत गरी प्रचार गरेको र प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले लामिछानेलाई नै सहयोग गरेको भन्दै कांग्रेसले उजुरी दिएको थियो । नेपाली कांग्रेसका निर्वाचन प्रतिनिधि ध्रुवराज पोखरेलले दिनुभएको उजुरीमा निर्वाचन ऐन, निर्देशिका, कार्यविधि र निर्देशन बमोजिम दोषी उपर कारबाहीको माग गरेको छ । चितवनका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल भने एउटा उम्मेदवारलाई मात्रै समर्थन गरेको भन्ने आरोप गलत भएको बताउनुभयो । 

यस अघि  भरतपुर ११ को नयाँ किरण माध्यमिक विद्यालयमा भएको विवाद रास्वपाले आचार संहिता विपरीत काम गरेको भन्दै गल्ती स्वीकारेपछि आइतबार मतदान भएको थियो । मतदान गर्नु पूर्व बसेको सर्वदलीय बैठकमा आचार संहिता विपरीत काम गरेको सम्बन्धमा आयोग कार्यालयमा जानकारी गराउने निर्णय गरिएको थियो । 

Author

वसन्त पराजुली