• १६ चैत २०८०, शुक्रबार

विजयाको क्यान्सर उपचारका लागि सहयोगको अपिल

blog

काठमाडौं, वैशाख १० गते। झापा घर भई हाल काठमाडौंको पेप्सीकोलामा बस्दै आउनुभएकी विजया लोहनीले क्यान्सरको उपचारका लागि सहयोगको अपिल गर्नुभएको छ। पत्रकार स्व. इन्द्र लोहनीकी बहिनी विजयाले आर्थिक अभावका कारण उपचारमा समस्या भएपछि देश विदेशमा रहनुभएका नेपालीसँग आर्थिक सहयोगका लागि अनुरोध गर्नुभएको हो।

उहाँ तीन वर्षयता क्यान्सर रोगसँग लडिरहनु भएको छ। उहाँले भन्नुभयो, “उपचार प्रक्रिया महँगो छ। तर, उपचार गर्दा रोग निको हुनसक्छ भन्ने डाक्टरको सल्लाह छ। त्यसैले मैले सबैलाई आर्थिक सहायताका लागि आग्रह गरेकी हुँ।”

उहाँलाई तीन वर्ष अगाडि पाठेघरको क्यान्सर देखियो। त्यसको १० महिनापछि फोक्सोमा क्यान्सर देखिएको थियो। त्यस लगत्तै क्यान्सर ठूलो आन्द्रामा सर्‍यो। ललितपुरको हरिसिद्धि अस्पतालमा उपचार गरेपछि स्वास्थ्यमा सुधार नआएको उहाँले बताउनुभयो। 

क्यान्सरपीडित विजया एक वर्षयता भारतको दिल्लीस्थित राजीव गान्धी क्यान्सर अस्पतालमा उपचार गराइरहनुभएको छ। उहाँका अनुसार अढाई महिनाको अन्तरालमा एक पटक दिल्ली जानुपर्छ। उहाँले भन्नुभयो, “तीन वटा किमो गरेर ७५ दिनमा एक पटक दिल्ली जानुपर्छ। त्यहाँ स्वास्थ्य परीक्षण हुन्छ। औषधि दिल्लीबाटै ल्याएर बी एन्ड बी अस्पतालमा किमो लिने गरेकी छु।”

मध्यम वर्गीय किसान परिवारमा हुर्किनुभएकी लोहनी उपचारकै क्रममा एक करोड ५० लाख रुपियाँ ऋणमा हुनुहुन्छ। देश र विदेशमा बस्ने उहाँका साथीहरूले सहयोग गरिरहनुभएको उहाँले बताउनुभयो। उहाँले भन्नुभयो, “दुवै छोरा पढ्दैछन्। म बिरामी भएपछि ठूलो छोराको पढाइ छुट्यो। तर साथीहरूले निर्ब्याजी आर्थिक सहयोग गरिरहनुभएको छ।”

उहाँले एक पटक दिल्ली जाँदा सम्पूर्ण परीक्षणको तीन लाखदेखि पाँच लाख रुपियाँ लाग्ने बताउनुभयो। उहाँका अनुसार औषधिसहित अन्य मासिक खर्च एक लाख रुपैयाँ छ। उहाँले भन्नुभयो, “५३ वटा किमो लिइसकेकी छु। अब ठूलो आन्द्राको शल्यक्रिया गर्नुपर्ने छ, त्यसका लागि चार लाख रुपैयाँ लाग्छ। सबैमा मेरो अनुरोध छ, सकेको सहयोग गरिदिनुहोला।”

क्यान्सरपीडित विजया लोहनालाई सहयोग गर्नका लागि उहाँको प्रस्तुत बैङ्क खातामा रकम जम्मा गर्न सक्नुहुनेछ। 

विजया लोहनी 

सनराइज बैङ्क लिमिटेड

खाता नम्बर ०३२०६४८४७८२०२००१

फोनः ९८४२०६६२५४