राप्रपा एकता प्रक्रिया अघि नबढ्नु जुँगाको लडाइँ !

नारद गौतम 

काठमाडौँ, कात्तिक २८ गते । तीनवटा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बीचको एकता वार्ता तत्कालका लागि भाँडिनुमा शीर्ष नेताबीच जुँगाको लडाईं नै प्रमुख कारकका रुपमा रहेको औंल्याइएको छ ।  २०४७साल जेठ १५ गते जन्मँदै दुई चिरा भएर स्थापना भएको राप्रपा २०७३ फागुन ६ गते एकीकृत भए पनि पुनः तीन चिरामा विभाजित भयो ।
विशेष गरी २०७४सालमा सम्पन्न स्थानीय तह, प्रदेशसभा र संघीय संसद्को निर्वाचन नराम्ररी हार भोगेका राप्रपाकाका तीनवटै पार्टीका कार्यकर्ता एकताको पक्षमा देखिए पनि शीर्ष नेताबीच जुँगाको लडाईंले एकता वार्ता नै अघोषितरूपमा टुटेको हो ।
कमल थापा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी, पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) र डा. प्रकाशचन्द्र लोहनी अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राष्ट्रवादी) बीच केही समयदेखि एकताको राम्रै पहल भएको थियो । Raprapa-1
तीनवटा पार्टीबीच एकता हुँदा पार्टीको नाम, चुनाव चिह्न र झण्डा कसको रहने भन्ने अडान छँदैछ । राप्रपाका अध्यक्ष कमल थापासँग एकता वार्ता टुटेको हो भनी जिज्ञासा राख्दा उहाँले आफू एकताको पक्षमा रहेको र एकताको विषय संवेदनशील भएकाले थप टिप्पणी नगर्ने बताउनुभयो ।
उता राप्रपा (प्रजातान्त्रिक) का अध्यक्ष पशुपतिशमशेर राणाले कमल थापाकै कारण पार्टी एकता प्रक्रिया रोकिएको आरोप लगाउनुभयो । एकीकृत राप्रपा राष्ट्रवादीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी र आफूले केही समय गम्भीर छलफल गरेर एकता घोषणा गरौँ भन्दा थापाले नमानेको दाबी राणाको छ ।
पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष राणाले भन्नुभयो, ‘‘कमल थापाको तातै खाउँ जल्दै मरौँ भन्ने प्रवृत्तिका कारण एकता प्रक्रिया तत्कालका लागि रोकिएको छ, तीनवटै राप्रपा एकताका लागि अझै पनि म तयार छु, एकताका लागि भएको छलफलमा महत्वपूर्ण विषयमा सहमति जुटिसके पनि पार्टीको झण्डा, चुनाव चिह्न र नाम टुङ्गो लागेको छैन ।’’
एकताका लागि तीनवटा पार्टी मिल्दा नाम, झण्डा र चुनाव चिह्न सबै एउटै पार्टीको कायम राख्न नसकिने भनाइ राणाको छ । उहाँले स्पष्टरूपमा ‘गाईलाई चुनाव चिह्न मान्न म सक्दिनँ’ भन्नुभयो । तीनवटै राप्रपा हिन्दुराष्ट्रको पक्षमा रहेका छन् ।
राप्रपा (राष्ट्रवादी) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले वार्ता प्रक्रिया अहिले स्थगित भएको छ, निर्वाचन चिह्न हलो हुनुपर्छ, संवैधानिक राजसंस्थाका विषयमा विवाद छैन भन्नुभयो । यसअघि २०७३ फागुन ६ गते पार्टी एकीकरण हुँदा एकता महाधिवेशनबाट पारित प्रस्तावलाई सबैले मान्नुपर्ने भनाइ कमल थापा पक्षको रहेको छ ।
‘संवैधानिक राजसंस्था’ को सट्टा ‘परम्परागत शक्ति’ राख्ने विषयमा छलफल भएको थियो । त्यसमा परम्परागत शक्ति भनेको शाह, राणा, लिच्छवि वा मल्ल कुन शक्ति भन्ने अन्योल रहन्छ, त्यसकारण स्पष्ट हुनुपर्ने भनाइ थापा पक्षको अडान रहेपछि वार्ता प्रक्रियामा तगारो लागेको दाबी अन्य नेताको छ ।
राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले एकताका लागि डा. लोहनीसँग पदको भागबण्डा र राणासँग सैद्धान्तिक पक्षमै मिल्न बाँकी रहेको स्वीकार गर्नुभयो । अध्यक्ष राणाका पछिल्ला भनाइले एकतालाई बिगारेको र एकता चाहने कार्यकर्तालाई निरास बनाएको दाबी नेता श्रेष्ठको छ । उहाँले भन्नुभयो, ‘‘एकता वार्ता भाँडिएको वा टुटेको भनेर कसैले भनेको छैन तर संवाद पनि अगाडि बढेको छैन ।’’
विं.सं.२०४७ जेठ १५ गते राष्ट्रिय प्रजातन्त्र पार्टी स्थापना हुँदा नै गाई र हलो चिह्नका दुई पार्टी घोषणा भएका थिए । पञ्चायतका हस्तीद्वय सूर्यबहादुर थापाको अध्यक्षतामा राप्रपा (थापा) र लोकेन्द्रबहादुर चन्दको अध्यक्षतामा राप्रपा (चन्द) को घोषणा गरिएको थियो । थापाको गाई र चन्दको हलो निर्वाचन चिह्न थियो । उहाँहरू दुवै नेता पञ्चायत कालमा पनि प्रतिस्पर्धी हुनुहुन्थ्यो ।
अहिले राणा र लोहनी ‘हलो’ निर्वाचन चिह्नको पक्षमा एक ठाउँमा हुनुहुन्छ भने २०७४ को निर्वाचनमा गाई निर्वाचन चिह्न लिएका उम्मेदवार निर्वाचित भएकाले ‘गाई’ नै निर्वाचन चिह्न हुनैपर्ने अडान थापा पक्षको छ ।
निर्वाचन चिह्न, पार्टीको नाम र झण्डाजस्ता विषयमा सहमति नभएको कुरा सहतमा आए पनि भित्री चुरो भनेको नेतृत्वको होडबाजी नै मुख्य रहेकाले तीन राप्रपाबीचको एकता तत्कालै हुने सम्भावना न्यून छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना