पीडै पीडामा भूकम्पपीडित

गोरखाबजार, वैशाख २० गते । बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७.८ रिक्टर स्केल क्षमताको भूकम्पले यहाँका ६० गाविस र दुई नगरपालिकामा ठूलो जनधनको क्षति भएको छ ।
अहिलेसम्म ७१० को मृत्यु भइसकेको छ । एक हजार १०० गम्भीर प्रकृतिका घाइते अस्पतालमा उपचार गराइरहेका छन् । अझै ३० भन्दा बढी मानिस सम्पर्कमा छैनन् । उनीहरुको खोजी भइरहेको छ ।

अहिलेसम्मको जानकारीलाई हेर्दा ‘गोरखा भूकम्प’को केन्द्रबिन्दु रहेको बारपाक गाउँका ६६ को मृत्यु भयो । त्यहाँका १२० गम्भीर प्रकृतिका घाइतेको पोखरास्थित विभिन्न अस्पतालमा उपचार भइरहेको छ । उनीहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको थियो । बारपाकमा रहेका एक हजार २७२ मध्ये एक हजार ६९ घरधुरी ध्वस्त भएका छन् । भूकम्पमा परी बढी वृद्धवृद्धा र बालबालिकाले ज्यान गुमाएका छन् ।

एक हजार ३६२ घरधुरी रहेको सौरपानी गाविसमा भूकम्पमा परी ४१ ले ज्यान गुमाए, ६० भन्दा बढी घाइते छन् र तिनको उपचार भइरहेको छ । त्यस्तै ५३५ घरधुरी रहेको गुम्दा गाविसमा ३९ ले ज्यान गुमाएका थिए । त्यहाँका ३० घाइतेलाई उपचारका लागि हेलिकोप्टरले सदरमुकामको अस्पतालमा ल्याएको छ । आठ सय ४१ घरधुरी रहेको सिम्जुङ गाविसका ३५ को ज्यान भूकम्पले लग्यो । त्यहाँका ६० घाइतेलाई हेलिकोप्टरले उद्धार गरी उपचारार्थ जिल्ला अस्पताल ल्याएको छ ।

त्यस्तै थुमीमा २६, लाप्राकमा २०, लापुमा २०, मान्बुमा २०, हंसपुर र खरिबोट गाविसमा ३२, मुच्चोकमा २४, स्वाँरामा १८, छोप्राकमा छ, बक्राङमा पाँच जनाको मृत्यु भएको छ । हजारौँ घाइते छन् । अधिकांश बालबालिका र वृद्धवृद्धा भूकम्पबाट प्रभावित भएको पाइएको छ । सुत्केरी व्यथाले छट्पटाइरहेकी सौरपानी–९ सिम्बुकी १८ वर्षीया सुनमाया गुरुङ भूकम्पले भत्काएको घरभित्रै पुरिनुभएको थियो । मध्याह्न १२ बजे घरभित्र पुरिनुभएकी गुरुङलाई परिवारका सदस्यले अपराह्न २ बजे सकुशल उद्धार गरेका थिए । उहाँको दुवै गोडामा गम्भीर प्रकृतिको चोट लागेको छ । भूकम्पले घर ध्वस्त बनाएपछि एक घन्टा टाढाको ओडारमा बस्नुभएकी उहाँले बेलुकी ९ बजे छोरी जन्माउनुभयो ।

भूकम्प गएको तेस्रो दिन उहाँलाई हेलिकोप्टरले उद्धार गरी सदरमुकाम ल्याएको थियो । उहाँको गोरखा जिल्ला अस्पतालमा उपचार गरियो तर छोरीलाई कमलपित्त रोग ग्रस्त बनायो । अर्थ अभावले गर्दा छोरीको उपचार गर्न नसकेर घर फर्किन लाग्नुभएकी उहाँलाई पर्यटन व्यवसायी राजेन्द्र बजगाईँले रु २० हजार सहयोग गर्नुभयो । अहिले चितवनस्थित अस्पतालमा उहाँकी छोरीको उपचार भइरहेको छ ।

सिम्जुङ गाविसकी २३ वर्षीया ज्ञानु गुरुङलाई छ महिनाको छोरा बचाउन धौ धौ प¥यो । भूकम्प आइरहेको बेला उहाँ घरभित्र पसेर सुतिरहेको छोरालाई बाहिर ल्याउन लाग्दा घर भत्किएर उछिट्टिएको ढुङ्गाले शरीरभरि चोट लागेको छ । उहाँलाई हेलिकोप्टरमार्फत उद्धार गरी अहिले जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

गोरखा नगरपालिका–२ मसारकी ६५ वर्षीया मनमाया रोका अपाङ्गता भएकी ३० वर्षीया छोरी तिलककुमारीलाई डोकामा बोकेर त्रिपाल माग्दै जिविसमा तीन दिनदेखि धाउनुभएको छ । घर भत्केर ध्वस्त भएपछि त्यस परिवारले राहतका नाउँमा अहिलेसम्म केही हात पारेका छैनन् । पानी मात्रै पिएर बाँच्नुपरेको मनमायाले गुनासो गर्नुभयो । नगरपालिका क्षेत्रमा राहत सामग्री पु¥याउन नसकेको जिल्ला दैवीप्रकोप उद्धार समितिले दुर्गमका गाविसमा पनि पहिलो चरणको राहत सामग्री पु¥याएको जिकिर गरेको छ ।

उत्तरी गोरखाको गुम्दा गाविसस्थित यामगाउँका धनसिङ गुरुङ गोठालो गएको अवस्थामा माथिबाट खसेको पहिराको ढिस्कोमा पार्नुभयो । पहिराले खोलाको तीरमा पु¥याएको उहाँको शरीरका विभिन्न भागमा गहिरो घाउ छ । भूकम्प गएको पाँचौँ दिन उहाँलाई उद्धार गरियो ।

सिम्जुङ–८ पोखराटारमा सुन्दर मगर समुदायको नमुना गाउँ थियो । भूकम्पले त्यो गाउँ सखाप बनायो, १३ जनाले ज्यान गुमाए । नौ घाइते छन् । तीमध्ये पाँच वर्षीया बिपिसा राना मगरको पनि ज्यान गयो । आफ्नै आँखाअघि आँगनमा खेलिरहेकी बहिनीको मृत्यु भएको देखेपछि १४ वर्षीया बिनिताको आँखामा आँसु थामिएको छैन । अनुहारमा पानी छम्केर परिवारका सदस्यले होसमा ल्याउँछन् । उहाँ मात्रै होइन, गाउँघरका बालबालिका हावाहुरी आएपछि सडकमा गाडी गुड्दाको थर्कनले पनि भूकम्प आएको मानेर अत्तालिन्छन् । बालबालिकाको दिमागमा नराम्रो असर परेको छ ।

अहिलेसम्म विभिन्न गाविसमा अहिले छ हजार ८९० गर्भवती भूकम्पबाट प्रभावित रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रवक्ता नवराज खड्काले जानकारी दिनुभयो । भूकम्पले जिल्लाका ६५ हजार ९३७ घरधुरीमध्ये ५८ हजार ध्वस्त बनाएको छ । पैंँतालिस हजार ६०८ भौतिक संरचना पूर्ण रुपमा, दुई हजार ७६७ संरचना आंशिक रुपमा र १८५ भौतिक संरचनामा सामान्य क्षति पुगेको जिल्ला दैवीप्रकोप उद्धार समितिका संयोजक गोरखाका प्रजिअ उद्धवप्रसाद तिमेल्सिनाले बताउनुभयो । गोरखाभित्र अझै ४५ हजार त्रिपाल आवश्यक छ । अहिलेसम्म तीन हजार १७९ त्रिपाल भूकम्पपीडितलाई वितरण गरिएको छ । पन्ध्र हजार ८५१ थान त्रिपाल प्राप्त भए पनि वितरणमा ढिलाइ भएको पाइएको छ ।

जिल्लाभर रहेका भूकम्पपीडितलाई पहिलो चरणमा राहत सामग्री वितरण गरिसकिएको जिल्ला दैवीप्रकोप उद्धार समितिले जनाएको छ । त्रिपाल, चाउचाउ, चिउरा, चिनी, पानीलगायत राहत सामग्रीका रुपमा वितरण गरिएको हो । सरकारी तथा निजी स्तरबाट राहत सामग्री भूकम्प पीडितकहाँ पु¥याइएको छ ।

जिल्लाभर संयुक्त उद्धार टोली पुगिसकेको अवस्था छ । उत्तरी भेगमा अझै घाइते रहेको आँकलन गरी आज बिहानैदेखि हेलिकोप्टर उडान सुरु गरिने भएको छ । राहत सामग्री वितरणमा दुरुपयोग भए÷नभएकोबारे यथार्थ बुझ्न अनुगमन समिति गठन गरी प्रत्येक गाउँ ठाउँमा पठाउने तयारी गरिएको छ ।

पालुङटारस्थित हवाई मैदान, मझुवा देउरालीस्थित गोरखकाली रबर उद्योगको मैदान र नेपाली सेनाको भैरवी दल गणबाट जिल्लाको उत्तरी भेगमा राहत, खाद्यान्न सामग्री ढुवानी गरिएको छ । साथै उत्तरी भेगमा रहेका भूकम्पपीडित घाइतेको उद्धार गरिएको छ । रासस

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना