• ८ वैशाख २०८१, शनिबार

उपनिर्वाचन अपडेट

बारा २ मा ५० प्रतिशत बढी मतदान

blog

महागढीमाई नगरपालिका –३ को सचेतना केन्द्रमा मतदान गर्दै मतदाता । तस्बिर : शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र 

बारा, वैशाख १० गते । बारा क्षेत्र २ मा आइतबार दिउँसो अढाई बजेसम्म ५० प्रतिशत बढी मतदान भएको छ । सबै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान भइरहेको छ । केहीबेर अघिसम्म ५० प्रतिशत बढी मतदान भइसकेको सहायक मुख्य निर्वाचन अधिकृत नवराज जोशीले जानकारी दिनुभयो । 

आठ सय मत भएको ठाउँमा चार सय र छ सय मत भएको ठाउँमा तीन सय मत खसेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीपरपाती मतदान केन्द्रबाट फर्जी मतपत्र लिएको एक जनालाई पक्राउसमेत गरिएको छ । पक्राउ परेकालाई आवश्यक सोधपुछ तथा अनुसन्धान सुरु गरिएको छ ।” 

जुन ठाउँमा आफ्नो पकड् कमजोर रहेको त्यो ठाउँमा आफ्नो पार्टीको वर्चस्व र धाँधली रहेको सामाजिक सञ्जालबाट राखेर प्रहरी, प्रशासनलाई बदनाम गराउने कार्य बिना काम भइरहेको जोशीले बताउनुभयो । प्रहरी, प्रशासनले सुरक्षामा कडाइ गरेका कारण सो ठाउँमा  गलत कार्य नभएको उहाँको भनाइ छ । 

बाराको निर्वाचन क्षेत्र –२ का लागि एक हजार छ सय ८८ नेपाल प्रहरी, छ सय पाँच सशस्त्र प्रहरी र तीन सय जना नेपाली सेनालाई निर्वाचनमा परिचालन गरिएको प्रशासन कार्यालयले जनाएको छ । बदनियतपूर्वक कसैले मतपेटिका चलाउन वा धाँधली गर्न खोजेको अवस्थामा त्यस्ता व्यक्तिलाई सिधै गोली हान्न सक्नेगरी सुरक्षाकर्मीलाई निर्देशन दिइसकेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिनुभयो ।

क्षेत्रको ८२ मतदानस्थलमा एक सय ३८ मतदान केन्द्र तोकिएकामा ६५ वटा मतदान स्थलबाट कूल एक लाख पाँच हजार दुई सय ४८ मतदाताले मत दिने जिल्ला निर्वाचन कार्यालयका प्रमुख सरोजकुमार चौधरीले जानकारी दिनुभयो । यस क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी ३४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।