• १३ वैशाख २०८१, बिहिबार

पार्टी सङ्गठन बलियो बनाउनुपर्छ : नेत्री थापा

blog

स्थापना दिवसमा आयोजित कार्यक्रममा सहभागीहरु । तस्बिर : अमृतप्रसाद पौडेल

अमृतप्रसाद पौडेल

म्याग्दी, बैशाख १० गते । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य थममाया थापाले पार्टी सङ्गठनलाई बलियो बनाउन सकेमा संस्थापकहरूको सपना पूरा हुने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसमा आयोजित एमाले म्याग्दीले आयोजना गरेको कार्यक्रममा स्थायी कमिटी सदस्य थापाले सो कुरा बताउनुभएको हो । 

पछिल्लो आम चुनावको जनमतका आधारमा पहिलो पार्टी एमाले रहेकाले कसैको घेराबन्दीमा पनि नडगमगाइ मुलुक र जनताको हितमा एमाले केन्द्रित भएको उहाँको भनाइ छ । एमाले जिल्ला कमिटी म्याग्दीले नेपालमा २००६ मा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको ७४ वर्ष पूरा गरी ७५ वर्षमा प्रवेश गरेको अवसरमा स्थापना दिवस मनाउँदै आएको छ । 

थापाले प्रचारभन्दा पनि काममा ध्यान केन्द्रित गरेर अगाडि बढ्नु पर्ने बताउनुभयो । दिवसको अवसरमा एमाले म्याग्दीले शहीद स्मृति भवनमा औपचारिक कार्यक्रमको आयोजना गरी नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस मनाएको एमाले म्याग्दीले जनाएको छ ।

पूर्व मन्त्री समेत रहनु भएकी स्थायी कमिटी सदस्य थापाले पार्टीको निर्देशनअनुसार काम गर्नुपर्ने र नेपाली जनताको चाहना पूरा गर्न सकेमा शहीद तथा कम्युनिष्ट पार्टीका संस्थापकले गरेको  योगदानको कदरका साथै उहाँहरूको सपना पनि साकार हुनेमा जोड दिनुभयो । 

नेपालमा स्थापना भएका कम्युनिष्ट पार्टीले नेतृत्व गरेका सरकारले अन्य पार्टीको तुलनामा जनपक्षीय र देश विकासका लागि कामहरू गरेको बताउँदै उहाँले त्यसमा पनि एमालेको नेतृत्वमा बनेका सरकारले धेरै राम्रा कामहरू गरेको दाबी गर्नुभयो । 

एमाले म्याग्दीका अध्यक्ष देवेन्द्रबहादुर केसीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्य एवं म्याग्दी जिल्ला सह-इन्चार्ज नरदेवी पुन, गण्डकी प्रदेश कमिटी सचिवालय सदस्यहरू हरिकृष्ण श्रेष्ठ, खुमबहादुर बानियाँ र देवबहादुर घलेको उपस्थिति थियो ।