मुक्तिको नक्सा कोर्ने पद्मरत्न

Ram-Narayan-Bidari-300x270रामनारायण बिडारी


पद्मरत्न तुलाधरलाई कसैले बहुदलवादी, कसैले भाषा आन्दोलनका सहकर्मी, कसैले शान्ति प्रक्रियाका मध्यस्थकर्ता, कसैले मानव अधिकारकर्मी, कसैले नागरिक अगुवा आदि भनेर श्रद्धाञ्जली दिएको र सम्बोधन गरेको देखियो । अझ कतिले त जनजाति आन्दोलनमा सीमित गरेर नेवाः नेता भन्न समेत पछि परेनन् । नेवाः भाषा खल, नेवाःपुच, नागरिक अगुवा नामका केही तस्वीरसँग गाँसेर, कोहीले पत्रकारिता र साहित्यमा सीमित राख्न खोजेको समेत पाइयो । वास्तवमा पद्मरत्न तुलाधर यिनै यिनै व्यक्ति समूहमा बाँधिएका व्यक्ति हुनुहुन्थ्यो त ?
मैले बुझे अनुसार उहाँ कसैलाई पनि चिढ्याउन नचाहने, इमान्दारीपूर्वक आफ्ना चेतनाको कुरा जनसमक्ष राख्ने व्यक्ति हुुनुहुन्थ्यो । यही कसैलाई चिढ्याउन नचाहने स्वभावका व्यक्ति भएको हुनाले उल्लिखित मान्छेहरूले उहाँलाई सीमित घेरामा राख्न कोसिस गरे । पद्मरत्न सामन्ती, शोषक व्यवस्थाका विरोधी हुनुहुन्थ्यो । निर्दलीयताका विरोधी हुनुहुन्थ्यो । जातीय साम्प्रदायिकताका विरोधी, समानताका पक्षपाती हुनुहुन्थ्यो । वास्तवमा जनमुखी हुनुहुन्थ्यो । यसको उदाहरण थियो उहाँले दिवंगत रूपचन्द्र विष्टलाई अभिभावक मान्ने कुरा । जब रूपचन्द्रलाई आदर्शको व्यक्ति मान्नुहुन्थ्यो भने उहाँ कुनै सीमित घेराको सीमित कुरामा बाँधिन सक्नु हुन्नथ्यो । रूपचन्द्र र उहाँको स्वभाव भने आकास जमिन फरक थियो । रूपचन्द्र सोझै बेठीक मान्छेसँग हाक्काहाक्की जुध्ने गर्नुहुन्थ्यो भने पद्मरत्न प्रायः कसैसँग सोझै जुध्ने कार्य नगरी पन्छिनु हुन्थ्यो । अनुभूतिकर्ता दुवैसँग सहकार्य गरेको व्यक्ति हो ।
राष्ट्रिय पञ्चायतमा २०३८ मा रूपचन्द्र विष्ट पुग्नुभयो भने २०४३ मा पद्मरत्न पुग्नु भयो । २०३८ मा पद्मरत्नलाई पनि चुनावमा उठ्न प्रस्ताव भयो तर उहाँले यही सीमित घेराका कारण २०४३ सम्म पर्खनुपर्ने भयो । ०४३ को चुनावमा जानु अघि पद्मरत्नले ‘लौह पुरुष’ भनेर पुकारिने गणेशमान सिंहसँग सल्लाह लिनु भएको थियो । गणेशमानले रूपचन्द्रको उदाहरण दिंदै उहीजस्तो हुने भए चुनावमा भाग लिंदा हुन्छ भन्ने जबाफ दिएको कुरा पद्मरत्नले त्यहीबेला सार्वजनिक गर्नु भएको थियो । जब राष्ट्रिय पञ्चायतमा दुवै जना रहनु भयो तब निर्दलीयताको विरुद्धमा, संविधान सभाको नारामा, ताबेदार पञ्चायती संविधानको विरुद्धमा गजबको परिपूरक भए दुई जना ।
दार्शनिक रूपचन्द्र र भावनात्मक वा भावुक जुझारु पद्मरत्नको विशेष जोडी बन्यो । कठोर वाक्य वाणले पारिवारिक सम्बन्धसम्म राख्न पुग्ने रूपचन्द्र पद्मरत्नको परिवारसम्म गहिरोसम्म पुग्नु भयो । काठमाडौंको परिवेशमा हुर्केर पनि श्रमिकको राजनीतिमा जोडिएका पद्मरत्न रूपचन्द्रको दर्शन र राजनीतिक गाइडमा अन्तर्घुलन हुनुभयो । रूपचन्द्रको त्यो थोत्रो रातो ‘थाहा’ लेखेको स्कुटरमा दुवै जना बारम्बार सयर गर्नुहुन्थ्यो । शारीरिक रूपमा कमजोर पद्मरत्न र बलिष्ठ शरीरका रूपचन्द्रको एक ऐतिहासिक जोडी थियो । राष्ट्रिय पञ्चायतमा जब दुई जनाको संखनाद हुन्थ्यो तब देशमा तरंग फैलन्थ्यो । निर्दलवादीको सातो जान्थ्यो । त्यसैले राष्ट्रिय पञ्चायतमा उहाँहरूले बोलेको कुरा सरकारले बद्नियत राखेर बङ्ग्याउने वा दम्पच पार्ने काम सुरु ग¥यो तब रूपचन्द्र र पद्मरत्नले राष्ट्रिय पञ्चायतमा हँुकार गर्नुभयो
–हाम्रा कुरा दबाइन्छ भने यो संसद्को नियमावली समेत मिचेर सार्वजनिक रूपमा पत्रकार सम्मेलन गरिन्छ । यस बापत जो जे भोग्नु पर्ने हो भोगिन्छ । यो विद्रोहको कुरा सुनाइयो र भनियो, त्यो भोगाइ हामीलाई त सस्तै पर्छ तर यो व्यवस्थालाई महँगो पर्छ ।
यो हँुकारपछि पनि तत्कालीन मण्डले (पञ्चायती) सरकारले संसद्भित्र बोलेको कुरामा बद्नियत राखेर प्रकाशन गर्न नै बन्द ग¥यो । परिणामतः पद्मरत्नको सभापतित्वमा रूपचन्द्रको सार्वजनिक पत्रकार सम्मेलन काठमाडौंको इटुंवहालमा बिहान आठ बजे गर्ने कुरा संसद्मा नै घोषित भयो । शहरका गल्ली गल्लीबाट मान्छेको ओइरो लाग्यो । सरकारले इटुंवहालमा चारैतिर ठूलो संख्यामा प्रहरी परिचालन ग¥यो । जनतालाई भित्र छिर्न दिइएन । पद्मरत्न र रूपचन्द्रलाई इटुंवहालभित्र जान दिइयो । जनताको प्रतिनिधि वहालभित्र, जनता बाहिर । नारा लाग्न थाल्यो । यस कार्यक्रमको संयोजनकर्ता यो पंक्तिकारलाई नै भित्र छिर्न दिइएन । करिब एक घण्टा घम्साघम्सी पछि दुवै जननेता उत्तरपट्टिबाट बाहिर निस्कनु हुँदा जनभेल दुई नेताको पछाडि लाग्यो । बाङ्गेमुढा, असन, इन्द्रचोक, मखन, झोंछे, लगन टोल आदि ठाउँमा पद्मरत्न ढुङ्गामा बसेर सभापतित्व गर्ने, रूपचन्द्र बोल्ने गरेर १२ ठाउँमा जनमुखी पत्रकार सम्मेलन गरियो । पत्रकारहरू हरेक ठाउँमा पुगे । शहरमा एक संखनाद भयो । एक ठाउँमा गर्ने भनिएको पत्रकार सम्मेलन १२ ठाउँमा भयो । यो देश बिग्रेको मुख्य दोष व्यवस्था र त्यसको अगुवा हो भनी जनतालाई चिनाइयो । यो जनमत बोलेको थियो । व्यवस्थाको विरुद्धमा थियो ।
सम्पन्न परिवारमा जन्मिएका पद्मरत्न र रूपचन्द्रको त्यो पत्रकार सम्मेलन कुनै होटल हल आदिमा थिएन । सडकको पेटीमा एउटा मेच समेत नराखी ढुङ्गा खोजेर त्यस ढुङ्गामाथि बसेर सभापतित्व गर्ने पद्मरत्नलाई सीमित घेरामा राख्नु अन्याय नै हुन जान्छ । रूपचन्द्रले त यस्तै जिन्दगी बिताउन घर परिवारसँग नै विद्रोह गर्नुभयो तर पद्मरत्नले घर परिवारसँग विद्रोह नगरे पनि रूपचन्द्रसँग त्यो अवस्थामा गरेको जनमुखी अभ्यास भने बिर्सन सक्ने अवस्था रहेन ।
प्रायः गाउँमा गएर गाउँले जगाउने रूपचन्द्र र शहरमा राजनीतिक नारा दिने पद्मरत्न । बेला बेलामा रूपचन्द्रसँग गाउँमा पनि जाने गर्नुहुन्थ्यो उहाँ । जिल्ला जिल्लामा त पद्मरत्न जाने नै हो तर गाउँका छाप्रामा जाने कम भए पनि रूपचन्द्रसँग जाने । पद्मरत्नलाई गाउँका छाप्राका मान्छेसँग कसरी छलफल गर्ने भन्ने कुराले सधंँ जिज्ञासा हुने, रूपचन्द्र सधैँ मान्छे जगाउने कार्यमा लाग्ने । बेला बेलामा यी दुई जना गाउँमा गएर सभा पनि गर्ने अनि घुम्दाको अनुभवले पद्मरत्नको मन तुरुन्त भावुक भइहाल्ने । यो प्रक्रियालाई रूपचन्द्रले गालीको भाषामा, सतर्कताको भाषामा भन्ने पद्मरत्न त्यसलाई सहजताका साथ अपनाउने । यो कस्तो मित्रता ! यसबाट देखिन्छ पद्मरत्न भाषाका, जातिका कुरा मात्र उठाउने व्यक्तित्व होइन । उहाँ जनमुखी, वर्गीय दृष्टिकोणको दर्शनमा आधारित व्यक्ति हो ।
मकवानपुरका केही गाउँमा जब पद्मरत्न रूपचन्द्रसँग छाप्रामा पुग्नुभयो तब पद्मरत्नको असली स्वभाव त्यहाँ झल्कियो । त्यहाँसम्म पुग्न नदिने र त्यस्तो वातावरण पनि हुन नदिने परिस्थितिलाई उहाँले छिचोल्नु भएको थियो । काठमाडौंका गल्ली गल्लीहरूमा पद्मरत्नसँग रूपचन्द्र हिँड्दा देखिने दृश्य एउटा कवि वा लेखक वा साहित्यकारले कोर्ने हो भने पद्मरत्नलाई यति सीमित बनाइँदैनथ्यो । रूपचन्द्रको साथमा पद्मरत्न ! यो विशेष खालको छायाङ्कन हुन सक्छ । तर साँघु¥याउने पो हुन् कि जस्तो लाग्न थाल्यो । पूरै आचरण कम्युनिस्टको जस्तो देखिने रूपचन्द्र र सम्पन्न शहरियाजस्तो देखिने पद्मरत्नबीचको सामीप्य अध्ययनको विषय छ । उहाँको परिवार, खासगरी पद्मरत्नकी श्रीमतीबाट पनि पद्मरत्न अनि यी दुईको सम्बन्ध बुझ्न सकिन्छ ।
पद्मरत्नको जन्म नेवार कुलमा, काठमाडौंमा भयो । यो उहाँको दोष होइन । उहाँ आम साधारण जनताको मान्छे । जनमुखी राजनीतिमा संलग्न पद्मरत्न, थाहा आन्दोलन र दर्शनमा खुलेर लागेको, रूपचन्द्रको दर्शनबाट प्रभावित भएकोले रूपचन्द्र स्मारक समितिको केन्द्रीय समितिमा समेत रहनु भएको थियो । हुन त राजनीतिक दलीय प्रतिस्पर्धामा जसरी रूपचन्द्रको चरित्र हत्या गर्न प्रयास गरियो, पछिल्लो समयमा पद्मरत्नलाई पनि मानव अधिकार र नागरिक समाजका नाममा सीमित गरिए पनि निर्दलीय व्यवस्था र राजतन्त्रको अन्त्य, समाज सुधार गर्न र संविधानसभाको चुनावमा जान पद्मरत्नको जुन भूमिका छ त्यसप्रति राज्यले रूपचन्द्रलाई जस्तो व्यवहार नगरोस् । उहाँको समर्थक वा सरकारले यही कुरा हेक्का राखेर उचित सम्मान गरेर दार्शनिक विष्ट र सहयोद्धा तुलाधरप्रतिको गुन राज्यले तिरोस् । निर्वाचन राजनीतिबाट मात्र हैन, अन्धकार कालरात्रिमा ज्यान हत्केलामा राखेर मुक्तिको नक्सा कोर्ने पद्मरत्न र उहाँका संरक्षकलाई जनतासँग मुक्तिको कबोल गर्दै यथोचित सम्मानको काम गरोस् ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना