• १६ चैत २०८०, शुक्रबार

चुरे अतिक्रमण हुँदा बर्सेनि नयाँ खहरे

blog

बाबुराम देवकोटा 

रानीबास (सिन्धुली), वैशाख १० गते । सिन्धुली जिल्लाको चुरे जङ्गल क्षेत्रमा भइरहेको अतिक्रमणले बर्सेनि नयाँ खहरे बन्ने क्रम बढेको छ। यस जिल्लाको कमलाखुँज र मरिण क्षेत्रमा सुकुम्बासीका नाममा चुरे जङ्गलको विनाश हुँदा बर्सेनि नयाँ खहरे जन्मने क्रम बढेको हो। चुरे जङ्गल क्षेत्र भएर  मदन भण्डारी लोकमार्ग निर्माण भएपछि त सडक छेउमा पक्की घर निर्माण गर्न पाइने लोभमा अतिक्रमण झन् बढेको छ।

कमलामाई नगरपालिका–१३, रानीबासका पुजन बख्रेलका अनुसार तराईसँग जोडिएको चुरे जङ्गलमा त व्यापकै क्षति छ। तराईतिरबाट आउने तस्करले रातारात रुख काटेर लैजाने गरेकाले धेरै क्षति सहनु परे पनि यसको नियन्त्रणको प्रयास कतैबाट भएको छैन। उहाँले भन्नुभयो, “केही वर्षअघि खहरेकै कारण रानीबासका २० घर विस्थापित भई डाँडामा आएर बसे। रेडक्रसले विस्थापितलाई तत्काल बस्नका लागि भन्दै त्रिपाल दियो। अहिले त्यो डाँडामा स्थायी बस्ती नै बनेको छ र त्यसको नाम नै पालडाँडा भएको छ।”

सुकुम्बासीका नाममा बर्सेनि बढ्दै गएको चुरे अतिक्रमण, काठ चोरी निकासी र ढुङ्गा, गिट्टी, बालुवा उत्खननले खहरेखोला बढ्न गई समस्या आएको स्थानीय बासिन्दाले बताएका छन्। 

डिभिजन वन कार्यालय सिन्धुलीका प्रमुख कृष्णराज न्यौपानेले प्रकृतिमाथिको अनियन्त्रित दोहनका कारण नै चुरे क्षेत्रमा नयाँ खहरे जन्मिएको बताउनुभयो। उहाँले भन्नुभयो, “चुरे क्षेत्रको माटो कमलो किसिमको छ। बेलाबेलामा लाग्ने डढेलोले बोटबिरुवा मासिन गई माटो झन् खुकुलो बन्छ। यस्तो माटोमा पानी प¥यो कि बग्न सुरु गर्छ र नयाँ खहरे बन्छ।” “वर्षात्को समयमा आउने खहरेको भेलले उर्वर जमिनसमेत बगर बनाउने गरेको छ। खहरे नियन्त्रण हुन नसके उर्वर जमिन केही वर्षमै बगर बन्नेछन्,” दुधौली नगरपालिका–१ का रेखराज दाहालले भन्नुभयो।

जङ्गल विनाश गर्नु हुँदैन भन्ने स्थानीय उपभोक्तामा चेतनाको अभाव रहेको र त्योभन्दा बढी त समयसमयमा तस्करले जङ्गल फँडानी गरी अवैद्य रूपमा काठ लैजाने गरेकोले समस्या बढ्दै गएको बताइएको छ। डिभिजन वन कार्यालयको एक तथ्याङ्कअनुसार कुल क्षेत्रफलको ६५ प्रतिशत वन क्षेत्र भएको र त्यसमध्ये आधाभन्दा बढी चुरे क्षेत्रमै रहेको छ। त्यसको ९० प्रतिशत साल जातका रुख भएकाले पनि तस्करको आँखा त्यसतर्फ लागेको हो।

सिन्धुली जिल्लाभरिमा करिब आठ हजार हेक्टर वन क्षेत्र अतिक्रमण भइसकेको छ। जङ्गलको तल्लो फाँटको तीन हजार ३८३ हेक्टर वन पूर्ण रूपमा नष्ट भइसकेको कार्यालयको तथ्याङ्क छ। अतिक्रमण गरेको वनमा पक्की घर र बस्ती नै छ। स्थानीयका अनुसार चुरे जङ्गलको विनाशले कमलाखुँज क्षेत्रका रानीबास, निपाने, हर्षाही, टाँडी, हत्पतेलगायत र मरिण क्षेत्रका कल्पवृक्ष, कपिलाकोट, क्यानेश्वर, डाँडीगुराँसे, महादेवस्थानलगायत एक दर्जनभन्दा बढी ठाउँका किसान सुकुम्बासी बन्ने क्रम बढ्दो छ।