समृद्धिको सुरुवाती चित्र र चरित्र

atindra dahal_1डा. अतीन्द्र दाहाल


लामो राजनीतिक अस्थिरता र संक्रमणको अन्त्यपछि समृद्धि सबैको एउटै अपेक्षा हँुदैछ । सरकार समृद्ध नेपाल र सुखी नेपालीको लक्ष्यमा छ । आर्थिक राष्ट्रवाद र नागरिक जीवनमा अमनचैनको निरन्तर उन्नयन राज्यको अन्ततः उद्देश्य बन्नुपर्छ । सेवा, उत्पादन, वातावरण अनि रीतिरिवाजको सन्तुलित प्रतिविम्बनसहितको ‘सेउबारी’ नामक विकासको नयाँ स्वरूप प्रतिपादन हँुदै छ । विराट भूमण्डलीकरण, वातावरणीय विनाश, पर्यावरणीय परिवर्तनजस्ता अन्तर्राष्ट्रिय समस्यामाथि देशहरू सशक्त संयुक्त प्रयाससमेत गर्दै छन् । यद्यपि, पछिल्लो दशक राजनीतिमा आफैँ पहिलो भन्ने भाव संसारभरि सर्वाधिक बलियो देखियो ।
‘अमेरिका फस्र्ट’ अवधारणाको लोकप्रियताबाटै डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति बन्नुभयो । ‘आफैँ पहिलो’ लाई मुख्य मन्त्र बनाउँदै बेलायत ‘इयु’ बाट बाहिरियो । अस्ट्रेलियाका प्रधानमन्त्रीबाट हरेक सवालमा ‘अस्ट्रेलिया फस्र्ट’ को नीति आयो । चीनले ‘बीआरआई’ अनि भारत र जापानले संयुक्त पहलमा ‘एएजीसी’ नामक खर्बाैं डलर बजेटका उच्च महŒवाकांक्षी व्यापारिक परियोजना ल्याए । यस्ता सबै कदमको उद्देश्य आफ्नो देशको सशक्तीकरण र समृद्धि हो । वर्तमानमा समृिद्ध विश्वका हरेक देशको अद्वितीय अविच्छिन्न खोज बन्दै छ ।
समृद्धिको आयातन र मापक सूचकाङ्कहरू देशअनुसार फरक पर्न सक्छ । आर्थिक विकास, गरिबी निराकरण, बेरोजगारी नियन्त्रण, पूर्वाधारको विस्तार तथा विविधीकरण हाम्रा तत्कालीन अपेक्षाहरू हुन् । आमनागरिकको हित अनि सभ्य र भव्य समाजसहितको उच्च लोककल्याणकारी राज्य निर्माण समृद्धिका अभियन्ता र प्रतिक्षार्थी दुवैको मानसपटलमा निर्मित स्वर्णिम चित्र हो, यद्यपि समृद्धिको प्राप्तिका लागि रामो चित्रसँगै अनुपम राजनीतिक र नागरिक चरित्रसमेत निर्माण हुनुपर्छ । स्वनिर्मित आर्थिक उन्नयन र सभ्यतामुखी नागरिक संस्कार निर्माण समृद्धिका प्रधान आवश्यकता हुन् ।
स्वनिर्मित आर्थिक उन्नयन
आधुनिक प्रजातन्त्र भनेकै विकास प्रजातन्त्र भएकाले सामरिक समृद्धिको निम्ति सघन स्वनिर्मित आर्थिक उन्नयन हुनुपर्छ । सफल राजनीतिको प्रधान ध्येय नै आर्थिक राष्ट्रवाद बन्नुपर्छ । अरूको भरमा कुनै देशको आर्थिक विकास सम्भव हुँदैन । हाम्रो वर्तमानका दुवै मुख्य आर्थिक चरित्रहरू– वैदेशिक रोजगारी अनि सहयोग अधिक हानिकारक अभ्यासहरू हुन् । यसलाई हामीले व्यवस्थापन हैन, प्रतिस्थापन गर्नुपर्छ ।
‘लार्ज स्केल माइग्र्यान्ट्स एन्ड रेमिट्यान्स इन नेपाल’ शीर्षकमा प्रकाशित विश्व बैङ्कको शोधले संसारभरिका लगभग दुई सय ३२ मिलियन वैदेशिक कामदारमध्ये ठूलो सङ्ख्यामा नेपाली पनि रहेको बताउँछ । विप्रेषण पराधनिताको सूचीमा ताजकिस्थान र गणतन्त्र किरगिजपछि नेपाल तेस्रो स्थानमा छ । लगभग ५० लाख युवा अरूको देशको समृद्धिमा अहोरात्र श्रम खर्चदै छन् । उक्त उर्वरा पसिना यही भूमिमा सिञ्चित भए सुखद सौभाग्य बन्थ्यो । दुर्भाग्य, उनीहरूको अनुपस्थितिमा विभिन्नखालका सामाजिक, आर्थिक, नैतिक, यौनिक, चारित्रिक विचलनताले समाजलाई गाँज्दै छ ।
बिदेसिएकाहरूको आम्दानीसमेत उतैबाट उत्पादित विलासिताका आरामदायी सामानको क्रयमा सकिन्छ । उत्पदानसँगै आम्दानी पनि विदेशीकै बढ्दै छ, हामीचाहिँ वैदेशिक श्रम साधन खपत गर्दै छौँ । विभिन्न काम गर्दै रहेका झण्डै २० लाख नागरिकबाट भारतले विप्रेषणस्वरूप नेपालबाट सातौँ ठूलो रकम लैजान्छ । परिणाममा हाम्रो अर्थतन्त्र झन जीर्ण बन्दै छ, पछिल्लो २० वर्षमा असहज परनिर्भरता चुलिँदै छ ।
अर्कोतिर सन् १९५४ मा प्रतिव्यक्ति १५ दशमलव ६ अमेरिकी डलरको वैदेशिक सहायता गएको ७० वर्षमा दुई सय गुणाले बढ्दै आज झण्डै तीन सय डलर छ । वैदेशिक सहायताको ऋण प्र्रतिव्यक्ति १३ हजार २२६ रुपियाँ छ । वैदेशिक सहायताले स्वनिर्मित आर्थिक उन्नयन, स्वउत्पादनको सोच, आन्तरिक एकता, सामाजिक संस्कृति तथा सद्भाव अनि मानवीय ऐक्यबद्धतासँगै अधिकार स्थापनामा गम्भीर नकारात्मक असर पार्दै छ । दाताको स्वार्थ सर्वोपरि बन्दा सार्वभौमिकता कमजोर हुन्छ । जर्ज म्यासनको पुस्तक ‘डुइङ ब्याड बाई डुइङ गुड’ ले वैदेशिक सहायताका स्वदेशी असरहरूलाई राम्रैसँग पस्कन्छ । ड्यामसिया मोयोको पुस्तक ‘डेड एड’ ले वैदेशिक सहायतालाई देशको स्वाभाविक र मौलिक विकासको विरुद्धमा सुस्त विषको संज्ञा दिँदै प्रमाणस्वरूप अफ्रिकाका असङ्ख्य देशको उदाहरण राख्छ । अहिलेसम्म तीन सय खर्ब डलरभन्दा बढी त्यस्तो सहायता हुँदाहुँदै पनि अफ्रिकाका विभिन्न देशहरू झन् जर्जर बन्दै छन् ।
तसर्थ, यी दुवै चरित्रलाई त्याग्दै सरकारले स्वनिर्मित आर्थिक उन्नयन खोज्नुपर्छ । व्यावसायिक कर्जाको सुनिश्चितासाथ कृषिको व्यवसायीकरण र औद्योगिकीकरण गर्नुपर्छ । रोजगारी वितरणमा स्वदेशीलाई प्राथमिकता दिनुपर्छ । व्यावसायिक सोच र रोजगारीको व्यापक अभिमुखीकरण गर्नुपर्छ । पूर्वाधार विस्तार तथा विकास हुनुपर्छ । पर्यटनलगायत अन्य सम्भावित क्षेत्रको पहिचान गर्नुपर्छ । स्वदेशी वस्तुको उपभोगमा जोड दिँदै श्रमको सम्मान गर्नुपर्छ । तीव्र गतिमा विभिन्न कलकारखानाहरू खोल्दै निर्यातमुखी नाफामूलक व्यापारलाई आक्रामक बनाउनुपर्छ । बहुमूल्य खनिजको उत्खनन र उपभोगमा जोड दिनुपर्छ । हामीकहाँ पाइने युरेनियमको मात्र उत्खननले दशकौँसम्म आर्थिक प्रशस्ती हुने देखिन्छ । सबैमा उत्पादनको सोच जगाउनुपर्छ । सरकारले स्वनिर्मित आर्थिक उन्नयनलाई सशक्त बनाउनुपर्छ अनि समृद्धिका प्रतिक्षार्थी नागरिकले समेत सभ्यतामुखी संस्कार निर्माण गर्नुपर्छ ।
सभ्यतामुखी नागरिक संस्कार
अहिले नागरिकमा पनि जिम्मेवारी निर्वाह गर्नेभन्दा अरूको कमजोरी देखाउँदै गालीगलौजमार्पmत आत्मरती अनुभव गर्नेे होडबाजी चल्दै छ । सरकारविरोधी र नकारात्मक मनोविज्ञान हाबी छ । बिरामी प्रधानमन्त्रीमाथि समेत गलत प्रचारबाजी गर्ने र सामान्य मानवीयता प्रदर्शन गर्न पनि चुक्ने समाज यसैको उदाहरण हो ।
वैदेशिक रोजगारीमा मलेसिया जाँदा शुल्क तिर्नु नपर्ने भएकोमा म्यानपावर व्यवसायीको विरोध गुञ्जन्छ । बजार अनुगमनमा व्यापारीको अवरोध आउँछ । नयाँ र प्रगतिमूलक शिक्षा नीतिमा ‘प्याब्सन’ को रोदन देखिन्छ । प्रगतिशील चिकित्सा–शिक्षा विधेयकमा डाक्टरको अनि सवारी नियमनमा बस व्यवसायीकै विरोध हुन्छ । सकारात्मक सहयोग गर्दै समाजको परिवर्तनमा योगदान गर्न छाडेर सामाजिक सञ्जालमा कुण्ठा, क्रोध र कटाक्षहरूको अनियन्त्रित विस्फोटन हुन्छ । यहाँ सबैलाई नागरिक भलो र सामाजिक कल्याणभन्दा अनुचित हिसाबले आफ्नो फाइदा र स्वार्थ प्राप्ति (रेन्ट–सिकिङ एटिच्युड) प्यारो बन्दै छ । प्राचीन दार्शनिक अरस्तुको पुस्तक ‘पोलिटिक्स’ अनुसार नेता र समाजको बनावट नागरिक संस्कारमा आधारित रहन्छ । खराब नागरिकको बहुमतले खराब नेता जन्माउँछ । त्यसैले, अब समृद्धिको व्यग्र प्रतीक्षामा रहेको सबैले नयाँ सत्चरित्र निर्माणमा ध्यान दिनुपर्छ ।
सबैले कम्तीमा आ–आफ्नो ठाउँबाट राम्रो काम गराँै, सार्वजनिक र सामाजिक जिम्मेवारी राम्ररी निर्वाह गराँै । सेवाकर्मी, व्यवसायी, पेसाकर्मी, समाजसेवीलगायत सबै प्रकारका काममा संलग्नहरूले समाजको विकास र नागरिक हितलाई शिरोपर गरौँ । केवल अरूलाई सल्लाह÷सुझाव दिनेभन्दा आफ्नो कार्यशैली र कार्यक्षेत्रको सुधारमा समय खर्चौं, देशको बर्खिलापमा नरमाऔँ । घरमात्र ठूला र सफा हैन, बाटासमेत त्यस्तै बनाउन सहयोग गरौँ । राम्रो शिक्षा चाहनेले शिक्षणलाई मर्यादित र सम्मानित हिसाबले हेरौँ । सरकारी विद्यालयका शिक्षक र अस्पतालका कर्मचारीले नागरिकले त्यहाँको सेवालाई सम्मान दिनेगरी सुधार गरेर देखाऔँ । परिवर्तित समाज चाहनेले पहिले आपूm परिवर्तन होऔँ, देशको माया गरौँ, सन्ततिलाई त्यही सिकाऔँ । शक्ति हैन, सत्यता रोजौँ । अरूमात्र सही अनि कर्तव्यनिष्ठ भए÷नभएको खोज्नुसट्टा आफूसमेत सही र चरित्रवान बन्न थालौँ ।
सरकारी तथा सार्वजनिक पदमा रहेकाले सेवाग्राहीलाई विश्वसनीय, सहज तथा सुलभ सेवाप्रवाह गरौँ । निर्माण व्यवसायीले गुणस्तरीय संरचना बनाऔँ । राज्यका हरेक अङ्गमा कार्यरत प्रत्येक अधिकारीले नागरिकबाट अगाध आस्था र प्रशंसा आउनेगरी कार्यसम्पादन गरेर देखाऔँ । सञ्चार जगत्ले सकारात्मकता र सम्भावनाको सन्देश बाडौँ । सबैले आफ्ना कामलाई जीविकापालन मात्र नभई देश निर्माणको सुअभिलाषासँग जोडेर हेर्ने गरौँ । सत्कर्मीय श्रमकोे सम्मान गरौँ, भ्रष्टाचारीको बहिष्कार गरौँ । विविध शोधहरूले पछिल्ला केही दशकदेखि विशेषतः चीन र जापानमा यस्ता अलौकिक र अनुकरणीय नागरिक संस्कारको विकास उच्च रहेको देखाउँछन् । प्रसिद्ध शास्त्रीय दार्शनिक कन्फुसियस भन्नुहुन्थ्यो– अरूलाई पढ्ने ज्ञानी हुन्छन् तर आपूmलाई पढ््नेहरूचाहिँ अन्तर्यामी हुन्छन् । स्वयम् वृद्धि र सुधारले मात्र समृद्धिकोे गन्तव्यमा पुगिन्छ । नागरिकले समेत अरूमात्र सु्ध्रिएको हेर्न चाहनुभन्दा आफ्नै संस्कार तथा आचरण सुधार्दै सचेतना र सत्कर्म अभिवृद्धिमा लागौँ ।
सबैको साझा र प्रमुख आशा बनेको समृद्धि सरकारले दिने र नागरिकले निःसर्त लिने अमूक वस्तु होइन । समृद्धिमा सबै नागरिक सरकारका सहयात्री र सारथि बन्नुपर्छ । अब सरकारलाई स्वनिर्मित अविच्छिन्न आर्थिक उन्नयनको प्रयासमा उत्पे्ररित गराउँदै नागरिकबाट सभ्यतामुखी आमसंस्कार निर्माणको प्रयासका समिश्रणबाट समृद्धिको सुरुवाती प्रधान चरित्रहरू प्रदर्शन गर्नुपर्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds