छठले जोड्दै छ नेपाली

bhauch_1भउचप्रसाद यादव

 

खासगरी नेपालको तराईमा ठूलो पर्वका रूपमा कात्तिक महिनामा छठ धुमधामसाथ मनाइन्छ । विगतमा तराईमा मात्र मनाइने यो पर्व हिजोआज राजधानी काठमाडौँलगायत मुलुकको प्रायः सबै सहरमा विशेष आस्थाका साथ मनाइने गरिन्छ । हिन्दु धर्मावलम्बीहरूको पर्वका रूपमा मात्र चिनिएको यो पर्व हिजोआज मुस्लिमलगायत अन्य धर्मावलम्बीले समेत उत्तिकै हर्षोल्लाससाथ मनाउनु यस पर्वको आयातन विस्तारका रूपमा लिन सकिन्छ ।
पहाडी, मधेसी, हिन्दु, मुसलमान, धनी, गरिब सबैले मनाउने यस पर्वले नेपालीबीच जातीय, क्षेत्रीय सद्भाव र एकता, धार्मिक सहिष्णुतालाई अझ बलियो बनाउनमा मद्दत पु¥याइरहेको देखिन्छ । आर्थिक र भौतिक रूपले अनुत्पादक भइसकेपछि आफ्ना आमाबुवालाई समेत महŒव दिन छोडिएको वर्तमान समाजमा अस्ताउँदो सूर्यको पूजाले समस्त मानव समुदायलाई नैतिक शिक्षासमेत दिइरहेको हुन्छ ।
तराई क्षेत्रमा कात्तिक महिनाको सुरुवातसँगै जनमानसमा एउटा छुट्टैै उत्साह, आनन्द र धार्मिक निष्ठाको वातावरण सिर्जना हुन्छ । यसपालि छठ पर्व कसरी मनाउने, घर–आँगनको सरसफाइ कसरी गर्ने ? जस्ता विषयमा मानिसको ध्यान केन्द्रित हुन थाल्छ ।
मुख्यतः सूर्यको पूजाआजा र उपासना गरी मनाइने यो पर्वको पहिलो दिन उदाउँदो र दोसो दिन अस्ताउँदो सूर्यलाई अर्घ दिइन्छ । वैज्ञानिक दृष्टिकोणले पनि सूर्यको पूजा उपासना स्वस्थ शरीरका लागि लाभदायक मानिन्छ । सूर्यको किरणले छालासम्बन्धी रोग निको पार्दछ भन्ने वैज्ञानिक र धार्मिक विश्वाससमेत रहेको छ । हिन्दु पात्रोअनुसार छठको अर्थ सङ्ख्या छौ हो, जसले कात्तिक शुक्ल पक्षको छैटौँ दिन अर्थात् षष्ठि तिथिलाई जनाउँछ ।
संसारमा सबै सभ्यता, धर्म, समुदाय र युगमा सूर्यको पूजा भएको पाइन्छ । बेबिलोनका निवासीहरूले सूर्यलाई पूजा गर्थे भने युनानी परम्परामा आज पनि सूर्यलाई अपोलोका रूपमा पूजाआजा गर्ने गरिन्छ । जापानीहरू इजानागी र इजानामीलाई आदिपुरुष र आदिनारीका रूपमा मान्ने गर्दछन् र यी आदिपुरुष र आदिनारीबाट नै सूर्यको जन्म भएको विश्वास राख्दछन् । त्यसैगरी, मिश्र सभ्यतामा एटम अथवा ‘रे’ भनेर सूर्यको पूजाआजा गर्ने गरिन्छ ।
नेपालमा अस्ताउँदो सूर्यलाई पूजा गर्दा यसलाई छठी माताको पूजा भनिन्छ भने उदाउँदो सूर्यको पूजालाई दीनानाथ अर्थात् सूर्यको पूजा गरिएको मानिन्छ । वेद ग्रन्थमा पनि छठी पूजाको भोलिपल्ट अर्थात् सप्तमी तिथिको देवता सूर्यलाई नै मानिएको छ ।
छठ पर्वको सुरुवात कहिलेदेखि भयो भन्ने एकिन इतिहास छैन । वेद पुराणमा छठी पूजाको शुभारम्भबारे विभिन्न मिथक, किंवदन्ती भनिएको पाइन्छ । अत्रि मुनिकी अर्धाङ्गिनी सती अनुसुइयाले कुष्ठरोग (कोढ) बाट ग्रस्त आफ्ना पतिको स्वस्थ जीवनको कामना गर्दै पहिलोपटक छठी पूजा गरेकी थिइन् भन्ने सूर्य पुराणमा उल्लेख छ । साम्बपुराणमा आफ्नै पिता श्रीकृष्ण तथा महर्षि दुर्वासाको श्रापस्वरूप कुष्ठरोग (कोढ) बाट ग्रस्त श्रीकृष्ण पुत्र साम्ब सूर्यको आराधनाबाट रोगमुक्त भएको चर्चा गरिएको पाइन्छ । त्यसैगरी, श्रापबाटै पीडित कवि मयुर भट्टले पनि सूर्यकै उपासनाबाट स्वस्थ र सुन्दर शरीर पुनः प्राप्त गर्नुभएको कथासँग जोडिएर छठ पर्वको प्रारम्भ भएको धेरैको मान्यता छ ।
महाभारतको प्रसङ्गमा द्रौपदीसहित पाण्डवहरू अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी द्रौपदीले सूर्यको आराधना गरेकाले त्यस समयदेखि नै यस पर्वको सुरुवात भएको भन्ने मान्यता पनि रहेको छ । द्रौपदीले विराट राजाको दरबारमा सूर्यको आराधना गरेको र विराट राजाको दरबार अहिलेको विराटनगर भन्ने ठाउँमा नै रहेको धेरैको दाबी रहेको पाइन्छ । त्रेतायुगमा राम र सीता वनवासबाट फर्केपछि छठ व्रत गरी सूर्यपूजा गरेको र त्यसबेलादेखि नै छठ पर्वको शुभारम्भ भएको विश्वाससमेत गर्ने गरिन्छ । त्यसैगरी, अङ्ग देशको राजा सूर्यपुत्र कर्णले सूर्यपूजा गरेको किंवदन्तीसमेत पाइन्छ ।
तराईमा दीपावलीको दिनदेखि नै यो पर्व सुरुवात हुन्छ । तैपनि खासगरी चार दिनसम्म यो पर्व धुमधामसाथ मनाइन्छ । कात्तिक महिनाको सुरुवातसँगै छठी पूजा हुने समाजमा व्रत गर्ने वा नगर्ने कसैले पनि माछामासुलगायतको मांशहारी भोजन ग्रहण गर्दैनन् । छठी पूजाको पहिलोे दिन अर्थात् कात्तिक शुक्ल चौथीको दिनदेखि विशेष शुद्धाशुद्धि अपनाइन्छ । यस दिनदेखि नै व्रतालुले खानामा लसुन, प्याज, मसुरोको दाल र कोदोसमेत परित्याग गर्दछन् ।
खासगरी यो पर्व (व्रत) महिलाहरूले मनाउने गरिए पनि हिजोआज पुरुषहरूले समेत गर्ने गरेको पाइन्छ । यो पर्वको पहिलो दिन अर्थात् कात्तिक शुक्ल चौथीका दिनलाई ‘नहान–खान’ भनिन्छ । यो दिन व्रतालुहरूले स्नान ध्यान गरी खासगरी अरूवा चामलको भात, रहरको दाल र लौकाको तरकारी बनाई खाने गर्दछन् । दोस्रो दिन अर्थात् पञ्चमीका दिनलाई ‘खरना’ भनिन्छ । यो दिन व्रतालुहरू दिनभरि उपवास बसी बेलुका चन्द्र दर्शन गरिसकेपछि माटोको नयाँ चुल्हो र भाँडाबशमा सख्खर, दूध र चामलको खीर पकाई केराको पातमा राखेर छठी मातालाई चढाइन्छ र चढाइएको सो खीरलाई व्रतालु र परिवारका अन्य सदस्यहरूले प्रसादका रूपमा ग्रहण गर्दछन् । छठी पूजा नहुने टोल छिमेकको घरमा सो खीर प्रसादका रूपमा पठाइन्छ ।
यस पर्वको तेस्रो दिन अर्थात् षष्ठिका दिनलाई यस पर्वको प्रमुख अंशका रूपमा मानिन्छ । यस दिनलाई ‘सँझिया घाट’ भनिन्छ । यो दिन बिहानैदेखि चामल र पीठोको ठेकुवा कसारलगायतका परिकारहरू तेल÷घ्युमा पकाइन्छ । तयार पारिएका परिकारहरू, पाँच थरीका मिठाइ, उखु, अदुवा, नरिवल, मुला, सुथनी, सुपारी, ल्वाङ, सुकमेललगायतका प्रसादहरू बाँसको टोकरी, नाङ्लो र सिपुलीमा राखेर शुद्ध जल र गाईको दूधसहित व्रतालुहरू परिवारका सदस्यहरूसहित नजिकको जलाशयमा जान्छन्, जहाँ विभिन्न किसिमका मनोरञ्जनात्मक कार्यक्रम गरिन्छ । छठको पारम्पारिक गीत तथा मङ्गलमय धुनले त्यहाँको वातावरण झन् उल्लासमय बनेको हुन्छ ।
सूर्य अस्ताउन थालेपछि पहिलो अर्घ दिइन्छ । अर्घ दिएपछि व्रतालुहरू घर फर्कन्छन् । तर, हिजोआज व्रतालुहरू घर नफर्र्की त्यही घाटमै रातभरि जाग्रम बस्छन् । त्यहाँ कसैकसैले भाकल गरेअनुसार विभिन्न देवीदेवताको माटोको मूर्ति बनाई विशेष पूजाआजा गरिन्छ, जसलाई ‘कोसिया’ भनिन्छ ।
भोलिपल्ट अर्थात् कात्तिक सप्तमीका दिन व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ दिएपछि यो महापर्वको महान् यात्रा सम्पन्न भएको मानिन्छ । यो पर्वको समापनपछि पनि व्रतालुहरूले प्रसादसहित घरको देवता, इनार, कल (ट्युबेल) को पूजाआजा गरी छठी माताको प्रसादलाई माग्नेहरूबीच बाँडी व्रतालुहरू साबिकबमोजिमको अन्नजल ग्रहण गर्दछन् । राज्यले यस पर्वलाई राष्ट्रिय मान्यता दिई त्यस दिन सार्वजनिक बिदासमेत दिइने गर्दछ । ्

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds