• ७ वैशाख २०८१, शुक्रबार

एसीसी प्रिमियर कप : साउदी अरबको पहिलो जित

blog

जित निकालेपछि साउदीका खेलाडी । तस्बिर : क्यान

काठमाडौं, वैशाख ९ गते । साउदी अरबले एसीसी प्रिमियर कप क्रिकेटमा पहिलो जित निकालेको छ । समूह ‘ए’ अन्तर्गत त्रिवि मैदानमा शनिबार भएको खेलमा साउदीले कतारलाई सात विकेटले हरायो । 

जितका लागि कतारले दिएको दुई सय १७ रनको लक्ष्य साउदीले ३४.२ ओभरमा तीन विकेटको क्षतिमा दुई सय २० रन जोड्दै पूरा गरेको थियो । साउदीको जितमा अब्दुल वाहिदले एक सय २४ रनको शतकीय इनिङ्स खेल्नुभयो ।

उहाँले एक सय आठ बलमा २१ चौका र एक छक्काको सहयोगमा उक्त रन बनाउनुभएको हो । यस्तै वाकर उल हसनले ५५ रनको अर्धशतकीय इनिङ्स खेल्नुभयो ।

कप्तान हिशाम शेखले अविजित २१ रन बनाउनुभयो । बलिङमा कतारका लागि इक्रमुल्लाह खानले दुई विकेट लिनुभयो । खुरम शाहजादले एक विकेट झार्नुभयो । 

यसअघि टस हारेर पहिला ब्याटिङ गरेको कतारले ४९.५ ओभरमा सबै विकेटको क्षतिमा दुई सय १६ रन बनाएको थियो ।कतारका लागि मोहम्मद तनविरले सर्वाधिक ४६ रन बनाउनुभयो । ओपनर कमरान खाने ३६, इमाल लियाङ्गेले ३१ कप्तान मोहम्मद रिजलानले २८ र इक्रामउल्लाह खान १४ बनाउनुभयो  

बलिङमा साउदीका इश्तिक अहमदले चार विकेट लिनुभयो । अतिफ उर रहमान, जैन उल अबिदीन र अहमद बलाडार्फले दुई दुई विकेट लिनुभयो । समूहमा पहिलो जितसँगै साउदीले दुई अंक बनाएको छ ।

लगातार दोस्रो हार खेपेको कतारले अंकको खाता खोल्न सकेको छैन । यस समूहमा नेपाल चार अंकसहित शीर्षस्थानमा छ । यसैगरी मूलपानी मैदानमा भएको समूह  ‘बी’ को खेलमा कुवेतले बहराइनलाई दुई विकेटले पराजित गरेको छ ।