• १६ चैत २०८०, शुक्रबार

कम्युनिष्ट एकताबद्ध नभएसम्म समाजवाद आउँदैन : नेता खनाल

blog

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनाल ।

धर्बेन्द्र झा 

धनुषा, वैशाख ९ गते । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले देशमा भएका कम्युनिष्टहरु एकताबद्ध नभएसम्म देश समाजवादको लक्ष्यतर्फ अघि बढ्न नसक्ने बताउनुभएको छ । पार्टी स्थापना दिवसको अवसरमा जनकपुरधाम आउनुभएका नेता खनालले शनिबार पत्रकारसँग कुरा गर्दै सो कुरा बताउनुभएको हो । 

समाजवादको स्थापना नगरेसम्म मान्छेले मान्छेमाथि गरिरहेको शोषण, दमन र अन्यायलाई समाप्त गर्न नसक्ने भन्दै यी सबै समस्याको समाधान समाजवाद रहेको उहाँले बताउनुभयो । संविधानले समाजवादमा पुग्ने लक्ष्य लिए पनि त्यो देखाउने कुरा मात्र भएको उहाँको भनाइ छ । 

दलहरू अहिले समाजवादलाई देखाउने काम मात्रै गरेको तर त्यो नभएर समाजवादलाई व्यवहारमा कसरी ल्याउन सकिन्छ त्यही सन्देश आफ्नो पार्टीले देश व्यापीरुपमा

फैलाइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “देशले स्थिरता चाहेको हो ।

संवैधानिक रूपले स्थिरता आए पनि देशमा राजनीतिक रूपले स्थिरता दिन सकेको छैन ।” देशको आर्थिक, सामाजिक, सांस्कृतिक र राष्ट्रियतामाथि देखिएको सङ्कट समाधानका लागि पनि सबै वामपन्थी एकताबद्ध हुनुपर्ने उहाँले बताउनुभयो । 

नेपालमा पुष्पलालले ७५ वर्ष अघि सुरुवात गरेको कम्युनिष्ट आन्दोलनले धेरै ठूला ऐतिहासिक उपलब्धि प्राप्त गरेको भन्दै अबका दिनमा देशलाई समाजवादको दिशातर्फ अगाडि बढाउन नीति, सिद्धान्त र लक्ष्यको आधारमा सबै कम्युनिष्ट एकताबद्ध हुन जरुरी रहेको उहाँको भनाइ छ । 

सरकारले गलत नीति लिएर अघि बढ्यो र जनताको समस्या समाधान गर्न सकेन भने सरकार आफै ढल्छ उहाँले भन्नुभयो । सरकारको सफलता र असफलता उसको काममा निर्भर पर्ने उहाँले बताउनुभयो । एकीकृत समाजवादी, जसपा र माओवादी केन्द्रबीचमा एकीकरण हुने कुरा हल्ला मात्रै भएको उहाँले बताउनुभयो ।