• ७ वैशाख २०८१, शुक्रबार

नरबहादुर कर्माचार्य स्मृति

राजनीतिक सिद्धान्त र आदर्शमा विचलन देखियो : प्रधानमन्त्री प्रचण्ड

blog

ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ । तस्बिर : प्रदीपराज वन्त

काठमाडौं, वैशाख ९ गते। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुनु जरुरी देखिएको बताउनुभएको छ। 

शनिबार ललितपुरमा आयोजित नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो। उहाँले पछिल्लो समय कम्युनिष्ट आन्दोलनमा मात्र नभई देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा नै विचार, सिद्धान्त, मूल्य, आदर्शमा विचलन देखिएको दाबी गर्नुभयो। 

उहाँले समाजमा देखिएका अराजकताका कारण खतरा पैदा हुने डर पलाएको बताउनुभयो। उहाँले गत निर्वाचनमा विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शलाई एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई प्रश्रय दिएकोप्रति दुःख व्यक्त गर्नुभयो। 

प्रधानमन्त्री प्रचण्डले  समाजमा गलत गतिविधि बढ्दै जाँदा बौद्धिक वर्गले हस्तक्षेपकारी भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले लामो सङ्घर्ष र बलिदानबाट आएका पार्टी र त्यसका नेताप्रति सजिलै नराम्रा अभिव्यक्ति दिन समाज लागिपरेको बताउनुभयो। उहाँले लेख, रचनामा भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा लागेर मानिस क्षणिक उत्तेजना, क्षणिक आवेग र अराजक गतिविधिलाई अङ्गाल्ने परिपाटी विकसित हुँदै गएको भन्दै चिन्ता व्यक्त गर्नुभयो। 


उहाँले भन्नुभयो, ‘‘विचारमा विचलन देखापरेको छ। अहिले कम्युनिष्ट आन्दोलन भित्र मात्रै पनि होइन, देशको समग्र राजनीतिमा र आर्थिक विकासको प्रक्रियामा पनि विचार, सिद्धान्त, मूल्य, आदर्शबाट विचलनतिर राजनीति जाला कि भन्ने खतरा पैदा भएको छ। भर्खरै गएको निर्वाचनमा पनि विचार, सिद्धान्त, मूल्य, मान्यता र आदर्शका एजेण्डालाई भन्दा मान्छे सेन्टिमेण्टलाई भावनालाई, आवेगलाई अराजकतालाई प्रश्रय दिने प्रवृत्ति बढ्दो देखिन्छ। यस्तो बेलामा बौद्धिक पक्षबाट हस्तक्षेप बढ्नु जरुरी छ। वैचारिक बहस चलाउन जरुरी छ। अहिले कतै न कतै लामो सङ्घर्ष र बलिदानबाट आएका पार्टी, त्यसका नेताप्रति जति सजिलै र धेरै तल उत्रिएर गाली गलौच भइरहेको छ। यस खालका लेख, रचनातिर भन्दा सोसल मिडिया, युट्युब, टिकटकमा मान्छे लागेका छन्। त्यसले मान्छेलाई क्षणिक उत्तेजना, क्षणिक आवेगमा ल्याउने र त्यसले समाजलाई अराजक बनाउने खतरा पैदा भएको छ।’’ 

प्रधानमन्त्री प्रचण्डलेले इतिहासको चक्कालाई धकेल्न खोज्ने प्रवृत्ति देखापरेको भन्दै रोक्ने चुनौती आफूसमक्ष रहेको बताउनुभयो।